पूर्वसांसद मञ्च नेपालले ७० वर्ष उमेर पुगेका २३ पूर्व सांसदलाई सम्मान गरेको छ । मञ्चको १९ औँ स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अतिथिका रुपमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पूर्वसांसदहरुलाई सम्मान गरेका हुन् ।
सो अवसरमा मन्त्री ढकालले मुलुकको समृद्धिमा पूर्वसांसदको अनुभव सरकारका लागि निकै उपयोगी हुने बताउँदै पूर्वसांसदको मागप्रति सरकार सकारात्मक रहेको धारणा व्यक्त गरे । पूर्वसांसदलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, मर्यादाक्रमलगायतका बारेमा छलफल भइरहेको र सुविधाका बारेमा मञ्चसँगै छलफल गरेर अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाए ।
पूर्वसभामुख तारानाथ रानाभाटले राष्ट्रको विकास र समृद्धिका लागि पूर्वसांसदको अनुभवले महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे भने मञ्चका उपाध्यक्ष विष्णुबहादुर राउतले आर्थिक रुपमा कमजोर भएका पूर्वसांसदलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
मञ्चका संस्थापक महासचिव होमराज दाहालले पूर्वसांसद मञ्च संसद्कै एउटा अङ्ग भएको हुँदा उनीहरुलाई पनि सम्मानजनक स्थान दिनुपर्ने बताए । यस्तै, मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले मञ्च स्थापना भएको दिनको अवसर पारेर यो दिवस मनाउन शुरु गरिएको जानकारी दिँदै मञ्चको स्थापनामा योगदान पुर्याएका पात्रहरु पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल र पूर्वसभामुख तारानाथ रानाभाटको स्मरण गरे ।
पूर्वसांसद मञ्चको स्थापना २०५७ सालमा भएको थियो । विश्वमा पनि पूर्वसांसद मञ्चको अभ्यास छ । भारतमा सन् १९४७, अमेरिकामा सन् १९८० र बेलायतमा सन् २००१ मा पूर्वसांसद मञ्चको स्थापना भएको थियो ।
तस्बिर रासस
प्रतिक्रिया