चीनद्वारा अफ्रिकालाई ६० अर्ब डलर सहयोगको घोषणा

चीनद्वारा अफ्रिकालाई ६० अर्ब डलर सहयोगको घोषणा


अफ्रिकामा अत्यासलाग्दो ऋणबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेका समय चीनका राष्ट्रपति सी चिन फिङले यसबाट अफ्रिकालाई उद्धार गर्ने प्याकेजका रूपमा ६० अर्ब अमेरिकी डलरबराबरको आर्थिक सहयोग दिने घोषणा गरेका छन् ।

राष्ट्रपति सीले उक्त आर्थिक प्याकेजको घोषणा चीन–अफ्रिका सहकार्य (एफओसीएसी) शिखर सम्मेलनको मञ्चबाट घोषणा गरेको र सम्मेलनमा विभिन्न ५३ अफ्रिकी राष्ट्रको सहभागिता रहेको सीएनएनले जनाएको छ ।

यसलाई चीनले आफ्नो प्रभाव अफ्रिकी मुलुकमा विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ ।

राष्ट्रपति सीले अफ्रिकामा उक्त प्याकेजबाहेक अन्य क्षेत्रमा पनि सहयोग गर्ने घोषणा गरेको अमेरिकी टेलिभिजन न्यूज च्यानल सीएनएनले जनाएको छ ।

सीले उक्त प्याकेजबाहेक चीन–अफ्रिका व्यापार प्रदर्शनी स्थापना गर्ने, खाद्यान्न सहयोगका लागि एक अर्ब ४६ करोड अमेरिकी डलर सहयोग, अफ्रिकी सामानको चीनमा आयात गर्ने तथा अफ्रिकामा हरित विकास कार्यक्रमका लागि सहयोगको आश्वासनसमेत दिएका छन् ।

चिनियाँ राष्ट्रपतिले चीनले अघि सारेको ‘बेल्ट एन्ट रोड इनिसियटिभ’ (बीआरआई)का लागि पनि अफ्रिकी राष्ट्रहरूलाई आह्वान गरेका छन् । उनले अफ्रिकी व्यापारीहरूलाई दशौँ खर्ब अमेरिकी डलर भौतिक निर्माणका लागि लगानी गरिने बीआरआईमा लगानी गर्नसमेत आग्रह गरेका छन् ।

सन् २००० पछि अफ्रिकी मुलुकहरूले एक खर्ब ३० अर्ब ऋण तथा अन्य सहायता चीनबाट लिएका छन् । उनीहरूले उक्त रकम भौतिक निर्माणसम्बन्धी आयोजनाहरूमा लगाएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले केही समय पहिले अफ्रिका कर्जा संकटको सामना गरिरहेको भनी चेतावनी दिएको थियो । अहिले चीन अफ्रिकासँगको सबैभन्दा ठूलो व्यापारिक साझेदार राष्ट्र हो । अफ्रिकामा चीनपछि क्रमशः फ्रान्स, भारत र अमेरिकाले ठूलो लगानी गरेका छन् ।

चिनियाँ राष्ट्रपति सीले सेनेगल, मौरिसस, रुवाण्डा र दक्षिण अफ्रिकाको भ्रमण गरी उक्त क्षेत्रमा बेइजिङको सहयोगको महत्वपूर्ण उपस्थितिको औचित्य प्रस्ट पार्ने प्रयास गरेका छन् ।