बंलादेशकी पूर्वप्रधानमन्त्री जिया केन्द्रीय जेलकी बन्दी

बंलादेशकी पूर्वप्रधानमन्त्री जिया केन्द्रीय जेलकी बन्दी


बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेतृ खालिदा जियालाई बुधबार राजधानी ढाकाको अर्को जेलमा स्थानान्तरण गरिएको छ ।

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेकी जियालाई सरकारले ढाका केन्द्रीय जेलमा स्थानान्तरण गरेको हो । ७३ वर्षकी उनले पाँचवर्षे जेल सजाय भोगिसकेकी छिन् ।

उनलाई जेल सार्ने बेलामा ह्विलचियरबाट लगिएको थियो । राम्रोसँग सुन्नसमेत नसक्ने नेतृ जियाले आफू अत्यन्त बिरामी भएको अदालतसमक्ष बताएकी थिइन् ।

उनले भनिन्, ‘मैले न्याय पाउँदिनँ भन्ने मलाई थाहा छ, मेरो हातखुट्टामा पक्षघात भएको छ, मलाई जहाँ राखेर शासन गर्ने हो गर ।’

बंगलादेशको एनटीभीबीडीडटकमले सम्प्रेषण गरेको समाचारमा बंगलादेश नेसनलिस्ट पार्टीका प्रमुख जियाले थपिन्, ‘तिमीहरूले जस्तो चाहन्छौ, त्यस्तैगरी मलाई कारबाही गर्न सक्छौ, तर राम्रोसँग बस्न र उपचार गर्न देऊ ।’

आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको उनले बताउँदै आएकी छिन् । बच्चाहरूका लागि विश्वभरबाट संकलन गरिएको बाल विकाससम्बन्धी एक कोषको एक करोड ६१ लाख रकम दुरुपयोगको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो ।

अदालतले नेतृ जियाका चारजना सहयोगीलाई भने १० वर्षको जेल सजाय सुनाएको थियो ।