‘राजनीतिक एजेण्डा नरहेको’ प्रष्ट्याउँदै प्रचण्ड भारत प्रस्थान

‘राजनीतिक एजेण्डा नरहेको’ प्रष्ट्याउँदै प्रचण्ड भारत प्रस्थान


पूर्वनिर्धारित कार्यक्रमअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारत प्रस्थान गर्दैगर्दा प्रचण्डले आफ्नो भ्रमणको उद्देश्य प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको सुदृढ कार्यान्वयनको वातावरण निर्माण गर्नु रहेको बताएका छन् ।

भ्रमणको कुनै राजनीतिक एजेण्डा नभएको दाबी गर्दै उनले विकासको एजेण्डा तथा नेपाल र भारतबीच द्विपक्षीय सहमति, समझदारी र विगतमा भारत सरकारले गरेका थुप्रै प्रतिबद्धताको स्मरण गराउनु आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए ।

नेपालको संसदमा सम्बोधन गर्दा भारतीय प्रधानमन्त्री मोदीद्वारा गरिएको सहयोगको प्रतिबद्धता एवं भूकम्पपछिको पुनःनिर्माणका लागि नेपाललाई गर्ने सहयोगसम्बन्धी विषय पनि भ्रमणका क्रममा छलफल गरिने प्रचण्डको भनाई छ ।

पछिल्लो चरणमा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमति कार्यान्वयनका लागि सकारात्मक वातावरण बनाउन भ्रमणले योगदान गर्ने तर्क गर्दै प्रचण्डले ‘समृद्ध नेपाल र सुखी नेपाल’को राष्ट्रिय नारालाई सार्थक बनाउन भारत सरकार एवं भारतीय बुद्धिजीविसँग छलफल गरेर दुई देशको सम्बन्धलाई अझ सुदृढ गर्न भ्रमण केन्द्रित हुने बताए ।

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायत राजनीतिक नेतृत्वसँग आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा छलफल हुने प्रचण्डको सचिवालयले यसअघि नै जनाएको छ । यही भदौ २४ गते स्वदेश फर्कनुअघि भारतका बुद्धिजीवी, उद्योगी, व्यवसायी तथा पत्रकारसँग पनि प्रचण्डले छलफल गर्ने बताइएको छ ।