देशको एकता जोगाउन यतिसम्म गर्थे पृथ्वीनारायण

देशको एकता जोगाउन यतिसम्म गर्थे पृथ्वीनारायण


 

भक्तपुरमा अधिकार भएपछि श्री ५ पृथ्वीनारायण शाहले नुवाकोटमा रहेका आफ्ना तीनै भाइलाई पनि काठमाडौंमा बोलाएर परस्परमा हर्ष प्रकट गरे । भक्तपुरमा आक्रमण गर्न जाने सैनिक दलका दुई टोलीमा एक टोलीका सेनानायक काजी शूरप्रताप शाह र अर्का टोलीका सेनानायक काजी वंशराज पाँडे थिए । यिनमा जितबाजीको मुख्य शिरोपाउ कुन काजीलाई मिल्ने भन्ने विषयमा काठमाडौंमा डेढ महिनासम्म चर्चा हुँदै रह्यो ।

लडाइँमा शत्रुसैनिकको हत्या पनि सकेसम्म कम गर्ने, निहत्था नागरिकको हत्या बिल्कुलै नगर्ने र लडाइँ जितिएपछि पनि नागरिकको धनसम्पत्तिको कत्ति पनि हानिनोक्सानी नगराउने श्री ५ पृथ्वीनारायण शाहका लडाइँका नियम थिए । भक्तपुरको विजयमा आखिरी नियमको त पालना भएको थियो, तर अरू नियमको पालना नभएर शूरप्रताप शाहको अर्घेल्याइँले निहत्था नरनारीको अकारण हत्या हुँदा श्री ५ पृथ्वीनारायण शाह साह्रै खिन्न थिए र उनीसँग साह्रै कुपित पनि थिए । भक्तपुरको आक्रमणमा श्री ५ पृथ्वीनारायण शाहका लडाइँका नियमअनुसार वंशराज पाँडे भरसक कम हत्या हुने गरी तीनै मल्लराजाहरूलाई पक्रन चाहन्थे । यसैले छानाबाट गोली चलाउने काममा यिनका मातहतमा रहेका टोली लागेका थिएनन् र राजदरबारलाई घेरेर मैदानमा भिडिन आएका शत्रुसैनिकउपर हमला गर्ने काममा मात्र सीमित रहेका थिए ।

शूरप्रताप शाह अधिक हत्या भए तापनि भरसक चाँडो काम पूरा गर्न चाहन्थे । यसैकारण यिनका मातहतमा रहेको टोलीले हिटीचोकका छानाबाट गोली चलाउँदा मूलचोकमा रणजित मल्लका शरण पर्न आएका निहत्था नरनारी मारिन गएका थिए । तर, शूरप्रताप शाह भने भक्तपुर विजयको मुख्य शिरोपाउ मात्र होइन यो विजय मेरो पराक्रमले भएको हो भनेर त्यहाँको हाकिम बनेर त्यस इलाकाको प्रशासन पनि गर्न चाहन्थे । परन्तु, भक्तपुरका राजा राय मल्लका भाइ रत्न मल्ल काठमाडौंका हाकिम हुँदा मल्लराज्य टुक्रिएको पल्पाली राजा मुकुन्द सेन (प्रथम) ले आफ्ना छोराहरूलाई भिन्नभिन्न प्रदेशका हाकिम गराउँदा मुकुन्द सेनको राज्य पनि टुक्रिएको कुरा श्री ५ पृथ्वीनारायण शाहले राम्ररी जाने–बुझेका थिए । यसकारण उनी आफ्ना भाइहरूलाई आफ्ना सहायकका रूपमा त लिन्थे, तर कुनै प्रदेशका हाकिममा भाइलाई नियुक्त गरेमा हुन सक्ने राष्ट्रिय हानिको विचार राखेर भाइहरूलाई कुनै प्रदेशको हाकिमको पदमा नियुक्त गर्दैनथे ।

भक्तपुरमा भएको लडाइँको लेखाजोखा हुँदा जित चाँडो गराए तापनि लडाइँमा आवश्यकभन्दा ज्यादा रक्तपात गराउनु, निहत्था, शरण पर्न आएका नरनारीको हत्या गर्नु र राजा रणजित मल्लउपर गोली चलाउनु आदि शूरप्रताप शाहको अर्घेलो काम ठहरियो । यसकारण श्री ५ पृथ्वीनारायण शाहले भक्तपुर विजयको मुख्य शिरोपाउ काजी वंशराज पाँडेलाई दिए (१ जनवरी, १७७० आ.) । यसप्रकार भक्तपुर इलाकाको हाकिम कताकता विजयको मुख्य शिरोपाउसम्म पनि नपाउँदा शूरप्रताप शाह घुर्की लगाएर गोर्खामा बस्न जान्छु भनेर हिँडे ।

उनको काजीको पद थामिएकै हुनाले यिनी गोर्खामा रहलान् भन्ने सम्झेर श्री ५ पृथ्वीनारायण शाहले उनलाई जान दिएका थिए । परन्तु, यिनी गोर्खामा नअडिएर मस्र्याङ्दी पार भई तनहुँका ठकुराइभित्र पसे (६ जनवरी) । यो समाचार सुनेपछि श्री ५ पृथ्वीनारायण शाहले कुपित भएर गोर्खाका राजदरबारबाट शूरप्रताप शाहलाई बोकी लैजाने डोले, भरियातकलाई कडा दण्ड दिए । यसपछि शूरप्रताप शाहका गतिविधिको निगरानी गर्न उनी जीवित रहेसम्म श्री ५ पृथ्वीनारायण शाहले आफ्ना गुप्तचरहरू पठाई उनको पछेटा लगाउँदै रहेका थिए ।

(‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’बाट)