एक्काइसौं शताब्दीको मिडिया-विष्णु शर्मा

एक्काइसौं शताब्दीको मिडिया-विष्णु शर्मा


एक्काइसौं शताब्दीको मिडिया विश्वमा नयाँ शैली र विधासँगै उदाउँदो छ । यसको विकसित, विस्तारित एवम् परिष्कृत आकारले संसार एउटा कोठामा अटाएको छ । त्यसैले यो शताब्दीलाई डिजिटल मिडिया (इन्टरनेट, वेबसाइट, ब्लग, फेसबुक, ट्युटर)को युग भनी चिनिन्छ । जसलाई सोसियल नेर्टवर्क पनि भनिन्छ । यी सामाजिक सञ्चारमाध्यमप्रति सबै उमेरका मानिसको आकर्षण र लोकप्रियता बढ्दो छ । र, यिनलाई सहभागितामूलक क्षमता विकासको सहयोगीका रूपमा प्रयोग गरिँदै छ भन्दा अतिसयोक्ति पनि नहोला ।
यहाँ सन्दर्भ उठाउन खोजिएको हो ‘एक्काइसौं शताब्दी : नयाँ आयाम र नयाँ व्यवधान’ भन्ने नारासँगै मनाइएको विश्व प्रेस स्वतन्त्रता दिवसको । स्वतन्त्र र बहुलवादी सञ्चारका लागि गरिएको विन्डक डिक्लेरेसनको बीसौँ वारि्षकोत्सवलाई सम्झना गर्दै सन् १९९१ देखि प्रेस स्वतन्त्रता दिवस मनाउन थालियो । र, दुई वर्षपछि यसले विश्व प्रेस दिवसको रूप लिएको हो ।
हरेक वर्ष प्रेस स्वतन्त्रताका आधारभूत मान्यताको पालना गर्ने प्रतिबद्धता बढाउन र प्रेस स्वतन्त्रताको उपयोगको अवस्थालाई मूल्याङ्कन गर्दै प्रेस स्वतन्त्रता दिवस मनाइन्छ । साथै, प्रेस स्वतन्त्रताको प्रत्याभूति गराउने दायित्व दिनु राज्यहरूलाई सम्झाउने, स्वतन्त्र प्रेसको जिम्मेवार र मर्यादित अभ्यासको स्वतन्त्रताले पत्रकारहरूलाई सुरक्षित बनाउन सक्छ भन्ने कर्तव्यबोध गराउने तथा स्वतन्त्र पत्रकारिताका लागि अथक् साहसी सङ्घर्ष र बलिदान गर्नेहरूको सम्झना एवम् तिनको उच्च सम्मान एवम् कदर गर्ने उद्देश्य विश्व प्रेस स्वतन्त्रता दिवसले लिँदै आएको छ ।
अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसनले दुई अर्ब व्यक्ति इन्टरनेटको प्रयोगकर्ता भएको जनाएको छ । युनेस्काका अनुसार सन् २००५ सम्म बीस लाख ब्लग प्रयोग गरिन्थ्यो भने यो सङ्ख्या २०१० मा बढेर एक अर्ब पुगेको छ । विकेन्दि्रत रूपमा फैलिएका ब्लगकै कारण सूचना एवम् जानकारीको व्यापक विकेन्द्रीकरण भएको छ । विज्ञानका उपहार यी माध्यमहरू व्यवधान र चुनौतिरहित भने पक्कै छैनन् । नयाँ आयामका डिजिटल मिडियाहरू र तीसँगै भित्रिएका चुनौतीको लेखाजोखा गर्ने जिम्मेवारी थपिएको छ ।
विचार तथा अभिव्यक्ति व्यक्तिका नैसरि्गक अधिकार हुन् । स्वतन्त्र र बहुलवादी मिडियाले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ पार्छ भन्ने आधारभूत मान्यता छ । व्यक्तिको दैनिकी पत्रपत्रिका र रेडियोबाट सुरु हुन्थ्यो तर अहिले इन्टरनेट, इमेल अनि ब्लगहरूबाट सुरु हुन्छन् । उसलेे बिहान पढेका र सुनेका विषय एवम् जानकारीलाई आधार मानेर दृष्टिकोण बनाउँछ । त्यसैले समाजको ऐना सञ्चारले विचार निर्माण गर्ने, सामाजिक विकासलाई गति दिने र दैनिक भइरहेका गतिविधिलाई उजागर गर्ने प्रमुख दायित्व बोकेको हुन्छ । समाजप्रति सञ्चारको बढ्दो जिम्मेवारी र दायित्वबोध उत्तिकै संवेदनशील हुन्छ । त्यसको मूल्याङ्कन समाचार सम्प्रेषणको स्थिति, उठान गरिएका विषय, पछाडि परेको र पारिएका वर्गका समाचार कसरी कुन स्थितिबाट प्रकाशन एवम् प्रसारण गरिएको छ भन्ने पक्षलाई केलाउने गरिन्छ । लोकतान्त्रिक अभ्यासमा अगाडि बढ्दै गरेको मुलुक नेपालमा पनि मिडियाले पुर्‍याएको सर्वपक्षीय योगदान उल्लेखनीय छ । सन् २००५ यता नेपाली मिडियाको विकास राजधानीदेखि जिल्लासम्मको विस्तार ह्वात्तै भएको छ । एफएम रेडियो पनि नपुगेका जिल्लाहरू जम्मा चार छन् । त्यसैले मिडियाको प्रभाव एवम् पहुँचमा भएको विस्तारले समाजको परिवर्तनमा सक्रिय भूमिका खोजिनु महत्वलाई आत्मसात् गर्नु पनि हो । जसलाई सकारात्मक पहलका रूपमा लिनुपर्छ ।
यद्यपि, समय-समयमा नेपाली मिडिया र सञ्चारकर्मी जनताप्रति इमानदारीपन देखाउनबाट चुकेका छन् । नेपाली सञ्चारमाध्यमको अपरिपक्वता उदाङ्ग भएको छ । अनुदार र गलत अभ्यास कम हुन सकेका छैनन् । तथ्यलाई पहिलो प्राथमिकतामा पार्न सकिरहेको देखिँदैन । त्यसैले नेपाली समाजमाझ प्रेस स्वतन्त्रताको विषय अझै आलोचनामुक्त हुन सकेन । यसरी व्यावसायिकता अँगाल्न नसक्दाको परिणाम केही वर्षयता राज्य पक्षभन्दा गैरराज्य पक्ष अर्थात् स्वार्थी र अपराधी समूहले समेत आफ्नो इसारामा समाचार लेखाएको, लेखाउन खोजेका छन् । यसै सन्दर्भमा नेपाली पत्रकारिताले कति वस्तुनिष्ट, जिम्मेवार पत्रकारितलाई सघाउ पुर्‍याएको छ/छैन ? अध्ययनको खाँचो देख्नुहुन्छ वरिष्ठ पत्रकार राजेन्द्र दाहाल । एउटा व्यक्तिले पाँचवटासम्म पत्रपत्रिका दर्ता गरी निरन्तर अनुदान सङ्कलन गर्दा स्वतन्त्र पत्रकारितामा के-कस्तो टेवा पुर्‍याएको छ ? प्रत्रि्रश्न थियो दाहालको ।
समाजको सकारात्मक परिवर्तनका लागि सार्वजनिक स्वार्थको पक्ष पोषण गर्ने असल मनसाय राख्नु नै मिडियाको धर्म हो । नेपाल पत्रकार महासङ्घका पूर्वसभापतिको बुझाइ छ मिडियाले धर्मनिर्वाह गर्दा सामाजिक परिवेश र परिस्थितिको उजागर गर्ने पक्षसँग प्रेसको तादाम्त्यता राख्न सक्नु नै व्यावसायिक गुणको मापदण्ड । प्रेस सत्य, तथ्य र निरपेक्षताको मूल आदर्शबाट परिचालित हुन्छ । र, सामाजिक उत्तरदायित्वको सिद्धान्तबाट विमुख पनि हुन सक्दैन । यसले स्वतन्त्रताको उपयोग नागरिक हित र उनीहरूको पक्षमा कति स्वतन्त्र र सन्तुलित भएर काम गरिरहेको छ भन्ने ध्यान दिनु आजको आवश्यकता हो । यी पक्षको मूल्याङ्कन नगरिँदा प्रेस एवम् सञ्चारकर्मीले भौतिक र पेसागत चुनौतीको सामना गर्नुपरेको यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन ।
त्यसैगरी, ब्लग सञ्चालकहरूको योगदान जनताको अभिव्यक्ति स्वतन्त्रता संरक्षण गर्न, विचार निर्माण गर्न, सूचना ग्रहण गर्ने अधिकारलाई समृद्ध बनाउन कम छैन । कतिपय देशहरूमा यी ब्लगरहरू व्यावसायिक पत्रकारहरूले जस्तै धम्की र चुनौती व्यहोरिरहेका छन् । सँगसँगै सरकारहरूको निगरानी गर्ने माध्यमका रूपमा पनि इन्टरनेटको वृद्धिले उल्लेखनीय योगदान पुर्‍याएको छ । द कमिटी टु जर्नालिष्टका अनुसार सन् २००८ मा परम्परागत मिडियामा कार्यरत पत्रकारहरूभन्दा धेरै ‘अनलाइन रिपोर्टरहरू’ जेल परेका थिए । अत: जुन ब्लगरहरूले व्यावसायिक पत्रकारले जत्तिकै जिम्मेवारीपूर्ण पत्रकारिताको दायित्व निर्वाह गरेका छन् र उस्तै किसिमका खतरा मोलिरहेका छन् भने त्यस्ता ब्लगरहरूको सुरक्षा प्रदान गर्नु आवश्यकता आईसीजेले जोड दिएको छ ।
लोकतन्त्रतलाई मजबुत बनाउन स्वतन्त्र प्रेस चाहिन्छ । नेपालको अन्तरिम सविधानमा विचार तथा अभिव्यक्ति स्वतत्रता, प्रेस स्वतन्त्रता र सूचनाका हक सुरक्षित छन् । प्रेस कमजोर हुँदा लोकतन्त्र बलियो हुँदैन । तर, राजनीतिक पार्टीहरू भने कोही ससर्त प्रेस स्वतन्त्रताका पक्षमा उभिएका छन् भने कोही स्वतन्त्र प्रेसको पक्षमा । सङ्क्रमणकालबाट गुज्रिरेको र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउने बाटोमा यात्रा गरिरहेको नेपालमा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेस ? परम्परागत मिडिया हुन वा एक्काइसौं शताब्दीका डिजिटल) अपरिहार्य छ । यिनको संरक्षण, प्रवर्द्धनका लागि ऐन, कानुन, नियमको आवश्यकता देखिएको छ । साथै, मानवअधिकार, नागरिक अधिकारलाई सबल बनाउन, राष्ट्रिय सुरक्षार्थ र लोकतन्त्रलाई सुदृढ पार्दै त्यसको खबरदारी र पहरेदारीका लागि स्वतन्त्रताको योगदानलाई आत्मसात् गराउन सकिन्छ ।