नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच आज भेटवार्ता भएको छ ।
सो अवसरमा अध्यक्ष प्रचण्डले नेपाल–भारत सीमाबारे गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए ।
भारतमा रहेका प्रवासी नेपालीले शुक्रबार बिहान भएको छलफलमा सीमा क्षेत्रमा नेपालीमाथि हुने गरेका लुटपाटका घटनाबारे कुरा उठाएपछि प्रचण्डले गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएका हुन् ।
जवाफमा गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीहरूलाई यसबारे तत्काल खबर गरी घटना हुन नदिने विश्वास दिलाएका थिए ।
बिहीबार दिल्ली पुगेका प्रचण्डले उक्त भेटमा नेपाल र भारतबीच भएका समझदारीको कार्यान्वयनमा जोड दिए । सो अवसरमा नेपाल–भारत सम्बन्धका लागि अहिले सकारात्मक वातावरण बनेकोले नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्नेबारे छलफल भएको बुझिएको छ ।
अर्को एक कार्यक्रममा उनले नेपाल–भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताए ।
चारदिने भारत भ्रमणका क्रममा आज नयाँदिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीसँग प्रचण्डले भने, ‘सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल र भारतबीच भएका सम्झौता कार्यान्वयन तथा नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउनु भ्रमणको उद्देश्य हो ।’
दुई देशबीचको सम्बन्ध सकारात्मक विकास भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘नेपालमा राजनीतिक स्थिरतासँगै बलियो सरकार बनेको छ, भारतमा पनि बहुमतको सरकार छ, भारतीय प्रधानमन्त्रीको ‘छिमेकीलाई पहिलो’ नीतिअन्तर्गत काम भइरहेको छ । यही अवस्थामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनुपर्छ, भारतको संवेदनशीलतालाई नेपालले बुझ्नुपर्छ, नेपालको संवेदनशीलता र नेपाली जनताको आवश्यकता तथा व्यापार घाटा समाधान गर्न भारतले पनि बुझ्नुपर्छ, यो नै राम्रो अवसर हो ।’
सो अवसरमा भारतीय सुरक्षा सल्लाहकारसँगको भेटमा भारतमा विभिन्न पेसा, व्यवसायमा संलग्न तथा उद्योग, कलकारखानामा काम गर्ने र दैनिक रोजीरोटीका लागि मजदुरी गर्ने नेपालीको पक्षमा आफूले गम्भीर ढंगले छलफल गरेको उनले बताए । उनले बदलिएको परिस्थितिमा नेपाली कार्यवाहक राजदूत र कर्मचारीलाई अझ सक्रिय तथा गम्भीर रूपमा कार्यसम्पादन गर्न आग्रह गरे ।
प्रतिक्रिया