नेपाल यात्रामा रहेका भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीले एकअर्का मुलुकमा गरेको भ्रमणले द्विपक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको उल्लेख गर्दै दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट जलमार्ग, रेलमार्ग र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताए ।
सो अवसरमा देवेगौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याएको बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भारतीय पूर्वप्रधानमन्त्री देवेगौडाले नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा प्रधानमन्त्री ओलीलाई बधाइ तथा धन्यवाद दिएका पनि जनाइएको छ ।
प्रतिक्रिया