पहिचानसहितको राज्य माग्दै आन्दोलनको चेतावनी

पहिचानसहितको राज्य माग्दै आन्दोलनको चेतावनी


राजविराज । नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष गोविन्द छन्त्यालले पहिचान सहितको राज्य नभएसम्म आदिवासी जनजातिको आन्दोलन नरोकिने चेतावनी दिएका छन् । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीद्वारा सप्तरीको कठौनामा आयाजित समासमायिक परिस्थिति तथा प्रशिक्षाणात्मक जिल्ला भेलालाई सम्बोेधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रदेशको नामङ्कन जातीय भुगोलको आधारमा हुनुपर्ने बताउँदै उनले पहिचान नभएसम्म आदिवासी जनजाति आन्दोलन नरोकिने स्पष्ट पारे । सबै प्रकारको विभेद अन्त्य गर्ने आदिवासी आन्दोलन भएको जिकीर गर्दै साजाजिक न्याय, समानता र मानव अधिकारका लागि आन्दोन्दोलनको तयारीमा जुट्न उनले आग्रह गरे ।

खसआर्य समुदायलाई सर्वाेच्चतामा राखी संविधान जारी गरेको आरोप लगाउँदै एकल जातिवादी र नश्लवादी संविधानले मुलुकको विकास र समृद्धि हुन नसक्ने उनले दाबी गरे । उनले देशको विकास र समृद्धिको लागि सबै जातजाति भाषाभाषी र धर्म सम्प्रदायको अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन हुनुपर्नेमा जोड दिए ।

नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय सचिव राजकुमार बोटेले राज्यको विभेदकारी नीतिका कारण आदिवासी जनजाति पछाडि परेको बताए ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङको अध्यक्षतामा आयाजित कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य भीमबहादुर घिसिङ, नेपाल मगर संघका पुर्व केन्द्रिय सदस्य विष्णु थापा मगर, आदिवासी जनजाति कमहासंघ सप्तरीका पुर्व अध्यक्षहरु यमबहादुर खपाङ्गी मगर, महेन्द्र प्रसाद चौधरी, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय सदस्य महेश चौधरीले अधिकारका लागी आन्दोलनको विकल्प नरहेको बताए ।