मोदी र प्रचण्डबीच धार्मिक शक्तिपीठको ‘सर्किट’बारे छलफल

मोदी र प्रचण्डबीच धार्मिक शक्तिपीठको ‘सर्किट’बारे छलफल


भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । नयाँदिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको भेटमा मोदी र दाहालबीच पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीको भ्रमण, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणका सम्भावनाबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

बताइएअनुसार नेपालमा जलविद्युतको विकास, हुलाकी मार्ग, रेलवे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्रको विकासको विषयमा समेत मोदी र प्रचण्डबीच छलफल भएको थियो भने धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठको एक बृहत्तर ‘सर्किट’ बनाउने र सगरमाथाको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने बारेमा पनि छलफल भएको थियो ।

नेपाल–भारत सीमामा बेलाबखतमा देखिने समस्याको समाधान र सीमा क्षेत्रका भन्सारको स्तरोन्नतिको विषयमा पनि विचारविमर्श भएको बताइएको छ, तर यसबारे दुई नेताबीच कस्तो धारणा बन्यो भन्ने स्पष्ट पारिएको छैन ।

पछिल्लो चरणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा भएका सकारात्मक समझदारी र सहमतिलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने बारेमा गम्भीर छलफल भएको प्रचण्ड सचिवालयको दाबी छ ।

प्रधानमन्त्री मोदीसँग भएको लगभग एक घन्टा भएको भेटवार्तामा प्रचण्डले प्रधानमन्त्रीका रुपमा आफूले भारतको भ्रमण गर्दा भारतले गर्ने भनिएको सहयोगलाई मूर्त रुप दिने सम्बन्धमा पनि मोदीसँग छलफल गरेका थिए । प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्रीका रुपमा उनले भारतको भ्रमण गरेका बेला कास्की जिल्लामा पोलिटेक्निकल इस्टिच्युट स्थापनामा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

यसैगरी, प्रचण्डले आजै भारतीय कांग्रेस पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग पनि आजै भेटवार्ता गरेका छन् । भेटका अवसरमा नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माण भइसकेपछि विकास निर्माणतर्फ ध्यान केन्द्रित गरेको भन्दै नेता सिंहले खुसी व्यक्त गरेका बताइएको छ । थए ।

यस्तै, आज शनिबार नै प्रचण्डले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग पनि भेटघाट गरेका छन् । भारतीय विदेश मन्त्रालयमा भएको सो भेटमा प्रचण्ड र स्वराजबीच नेपालमा दुईतिहाईको सरकार बनेपछि नेपाल–भारत सम्बन्धमा भएका विकासका प्रयासबारे छलफल भएको बताइएको छ ।

तस्बिर रासस