उद्यम/उद्यमी
रुपन्देहीको छपियामा जन्मेका लक्ष्मण पौडेल १९ वर्षको कलिलो उमेरमै वैदेशिक रोजगारीको सिलसिलामा बिदेसिए । त्यतिबेलाको एक नाम चलेको मेनपावर कम्पनीले ‘सिंगापुरको कम्पनीमा काम गर्ने’ भन्दै उनलाई मलेसिया पु-यायो । झुक्याएर पठाएको ठाउँमा भनेअनुसारको काम मिल्ने सवालै थिएन । यद्यपि, दुई वर्ष बिताएर स्वदेश फर्केपछि गाउँमा आफ्नै व्यवसाय सुरु गरे । गाउँको व्यवसायलाई निरन्तरता दिँदै उनी सहर छिरे । राजधानीमा मेनपावर सञ्चालन गरेर बसेका केही अग्रजको सहयोगमा गाउँका केही युवालाई विदेश पठाउन थाले र त्यहीँबाट सिके मेनपावर व्यवसायका बारेमा । वैदेशिक रोजगारीका क्षेत्रमा विविध समस्या भए पनि अहिले त ‘त्रिवेणी ओभरसिज् कन्सर्न प्रा.लि.’मार्फत व्यवसाय अघि बढाउँदै छन् लक्ष्मण । कुराकानीका क्रममा उनले म्यानपावर भनेको व्यापार तथा सामाजिक सेवाको रूपमा लिइने पेसा भएको दाबी गर्दै सुरुमा आफू ठगिएर विदेश पुगेको भए पनि अरूलाई यस्तो व्यवहार नगर्ने वाचा पनि गरे । स्वदेशमा रोजगार नपाएका नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउने उद्देश्यका साथ यो क्षेत्रमा प्रवेश गरेको, आफ्नो बाँच्ने आधार पनि यही बनेको र आफूले पठाएका युवाले पनि राम्रो पैसा कमाएर सुखी जीवन जिउन पाउनुपर्छ भन्ने उद्देश्यले यस क्षेत्रमा समर्पित भएको बताए ।
तपाईंलाई सेवा गरँेजस्तो लाग्छ कि व्यापार भन्ने जिज्ञासा राख्दा व्यवसायी पौडेलले व्यापारका रूपमा नभई आफूले सेवाकै रूपमा व्यवसाय गरिरहेको दाबी गर्दै व्यापारकै रूपमा धन्दा गरेको भए राजधानीमा आफ्ना दुई–चारवटा घर भइसक्ने जवाफ दिए । ‘मसँग त्यस्तो केही छैन, राजधानीमा बस्न र खान मात्र पुगेको छ, त्यसैले अहिलेसम्म सेवामै छु जस्तो लाग्छ’ भन्दै उनले थपे, ‘व्यवसायलाई चुनौतीरहित रूपमा निरन्तर सञ्चालन गरिरहन पाए हुन्थ्यो ।’
वैदेशिक रोजगार व्यवसाय निकै चुनौतीपूर्ण छ भन्छन् नि भन्ने सवालमा उनले भने, ‘असाध्यै चुनौतीपूर्ण ! यहाँ पाइला–पाइलामा रिस्क छ । फेरि, नेपालमा मेनपावर सामान्य पसलजस्तै खुलेका छन् । यसले समस्या पारेको छ । बाहिरबाट सोच्दा धेरैले सजिलै छ जस्तो ठान्छन् र व्यवसाय सुरु गर्छन्, सञ्चालक भएपछि अनेकखाले समस्यासँग सामना गर्नुपर्छ, अनि त्यसबाट बच्न अनेक हथकण्डा अपनाउँछन् र त्यहीँबाट समस्या सुरु हुन्छ ।’
आफ्नो अनुभव सेयर गर्दै उनले व्यवसायीलाई न सरकारले सम्मान दिएको छ न समाजले नै राम्रो आँखाले हेर्छ भन्दै राम्रो काम गर्दागर्र्दै पनि अपजस पाउँदा दु:ख लाग्ने बताए । ‘हामीले बोलेको कुरा कतै सुनुवाइ हुँदैन । फेरि, विदेश जानेले पनि ठगी गरेरै गएका हुन्छन् । बीचमा रहेका विभिन्न एजेन्टहरूले पनि विभिन्न बहानामा ठगी गर्छन् । एजेन्टहरूले कामदार विदेश पठाउँदा मेनपावरमा भेटै नगराई विदेश उडाउँछन् । मेनपावरसँग सम्पर्क नगरी गएका कामदारले पनि विदेश पुगेपछि मैले भनेअनुसार काम पाइनँ भन्दै स्वदेश फर्केर मेनपावरलाई दोष दिन्छ । विदेश जाँदा मेनपावरसँग सम्पर्क नगरी जाने र अनि उता भनेजस्तो नभएपछि स्वदेश फर्केर मेनपावरलाई दोष देखाई लागतभन्दा बढी रकम असुलिरहेका थुप्रै छन् । यसरी पनि मेनपावर व्यवसायी ठगिइरहेका छन् । सरकारले पनि यस क्षेत्रबाट लिन मात्र खोजेको छ, सुख–दु:ख के छ भनेर सोधखोजचाहिँ गर्दैन,’ दु:खेसो गरे लक्ष्मणले ।
नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगार क्षेत्रले २७ प्रतिशत योगदान दिएको उनको भनाइ छ । तर, सरकारले भने यस क्षेत्रका लागि शून्य लगानी गरेको आरोप उनी लगाउँछन् । जति गरेको छ सबै वैदेशिक रोजगारसम्बन्धी क्षेत्रहरूले दिएको छ भन्दै पौडेलले भने, ‘सरकारका लागि हामीले योगदान दिएका छौँ, यसको बदला सरकारले हामीलाई दु:ख दिइरहेको छ, न सरकारले भिसाका लागि पहल गरेको छ, विदेशमा मृत्यु भएको आफ्नो देशको नागरिकको लास ल्याउनसमेत सरकार सक्षम भएको देखिँदैन, विदेशबाट लास ल्याउनै महिनौँ लाग्छ, विदेशका कुनै नेपाली कामदारलाई समस्या प-यो भने शरण माग्न जाँदा विदेशस्थित दूतावासको ढोका खुल्दैन, रातभर सडकमा सुत्नुपर्छ, अनि सरकारबाट हामीले के आशा गर्ने ?’
व्यवसायीले सरकारबाट फाइदा लिन किन नसकेको ? भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, ‘यसमा मेनपावर व्यवसायीहरूको पनि निकै ठुलो कमजोरी छ । हामी व्यवसायी एक भएर आफ्ना माग राखी अघि बढ्न सकेनौँ । यस क्षेत्रका समस्या समाधान हुनुपर्ने भन्दै आन्दोलन त गरेका हुन्छौँ तर कहिले कसको कुर्सी हल्लाउन कहिले कसको खुट्टा तान्न मात्र केन्द्रित हुने गरेकाले जायज माग पूरा हुन सकेको छैन । यो काम गरौँ भनेर सामूहिक रूपमा अघि बढ्न सकिएको अवस्था छैन । हाम्रोपछि निकै धेरै शक्ति छन् र पनि हामीले तिनलाई सङ्गठित गर्न सकेका छैनौँ । सबै एक भएर अघि बढ्ने हो भने हाम्रो माग सजिलै पूरा हुन्छ । तर, हाम्रा अग्रजहरू आफूलाई फाइदा हुने भए अरूलाई पन्छाउने प्रवृत्तिमा केन्द्रित भएकाले समस्या बढेको छ ।’
आफूलाई म मध्यम तहको व्यवसायी भन्न रुचाउने लक्ष्मण ठूलो पहुँच या रकम भएर यो क्षेत्रमा लागेको नभई मिहिनेत र लगनशीलताले गर्दा आफू यहाँसम्म आइपुगेको बताउँछन् । आफूलाई सहयोग प्रदान गर्ने मित्र र अग्रजहरूप्रति आफू सदा नतमस्तक रहने वाचा पनि गर्छन् उनी ।
यस व्यवसायमा व्यापक ठगी हुने, विदेश पुगेका कामदारले चरम दु:ख पाउने समाचार किन र कसरी आउँछन् भन्दा उनको प्रस्टोक्ति यस्तो रह्यो– ‘यहाँ अहिले सात सय ६७ वटा दर्तावाल मेनपावर कम्पनी छन्, तर ती सबै सञ्चालनमा छैनन् । त्यसरी सञ्चालनमा नरहेका मेनपावरका नाममा गाउँमा गएर शाखा खोल्ने, गाउँमा मेनपावरको नाममा भिजिटिङ कार्ड बाँड्ने अनि ट्राभल एजेन्सी सञ्चालकदेखि गाडी चलाउने, होटल सञ्चालन गर्ने सबैले म मेनपावरको बोस हुँ, तपार्इंलाई यति पैसामा बाहिर पठाइदिन्छु भन्दै पैसा असुल्छ र उसको सम्पर्कमा भएको मेनपावरसँग सम्पर्क नगरी कामदार बाहिर पठाइदिन्छ । त्यसरी बाहिर पुगेका मानिस नराम्रोसँग ठगिएका हुन्छन् । त्यसको सबै अपजश राम्रो काम गर्ने मेनपावरले समेत व्यहोर्नुपर्ने हुन्छ । यस्ता कार्यमा दुई–चारजना मानिस र केही एजेन्ट छन् । उनीहरूकै कारण यस्तो भएको हो । फेरि, विदेश जाने नेपाली कामदारले म के कामका लागि जाँदै छु, पैसा कति लाग्ने हो, कस्तो काम गर्नुपर्ने हो, सेवा–सुविधा के–के छ भन्ने सबै बुझेर गएमा ठगिने सम्भावना हुँदैन । हचुवाको भरमा बाहिर जाने गर्नाले समस्या भएको छ ।’
व्यवसायीचाहिँ कसरी ठगिन्छन् भन्ने सवाललाई महत्वपूर्ण र संवेदनशील प्रश्नका रूपमा लिँदै युवा व्यवसायी लक्ष्मणले भने, ‘यो निकै महत्वपूर्ण कुरा हो । यहाँ सबै सञ्चारमाध्यममा मेनपावरले ठग्यो, नेपाली कामदार ठगिए भनेर एकतर्फी समाचार आउने गर्छ, तर व्यवसायी ठगिएको कुरा कहीँकतै आउँदैन । हाम्रो समस्या सुन्ने कोही हुँदैन । हामीले कामदार बाहिर पठाउन भिसा किन्नुपर्छ । भिसा किन्दा दिनुपर्ने पैसा पठाउने माध्यम नै छैन हामीसँग । भिसा नि:शुल्क लिनका लागि सरकार, व्यवसायी मित्रहरू तथा सङ्घबाट कुनै पहल नै भएको छैन भन्दा हुन्छ । हामीले भिसा फ्रीमा पाउने भए पनि बीचमा रहेको एजेन्टले पैसा नलिई दिँदैन । कम्पनीमै काम गर्ने एचआर निर्देशकहरूले पनि पैसा लिने गरेका छन् । पैसा पठाउँदा कहिले साथीभाइबाट त कहिले हुन्डीबाट पठाउनु परिरहेको हुन्छ । त्यसरी पठाएको पैसा हामीले फिर्ता पाउन्नौँ । त्यसबारेमा बोल्ने कोसँग ? श्रमले पनि हाम्रो समस्या सुनुवाइ गर्दैन । उल्टै विदेश उडेका कामदारको पक्षमा एकतर्फी फैसला गर्छ । हामी त निकै ठूलो मारमा छौँ । यताचाहिँ सामान्य कमजोरी भयो भने पनि सरकारले त्यत्तिकै पेल्छ, गुण्डा–डनदेखि मन्त्रीसम्मले फोन गरेर अनावश्यक टर्चर दिन्छन् । प्रहरीका अधिकारीहरूले पनि थर्काउँछन्, चन्दाआतङ्क त्यत्तिकै छ । यता यस्तो समस्या छ, उता विदेशमा पनि हाम्रो पैसा फसिरहेको हुन्छ । यसरी हामी निकै ठगिएका छौँ । साँच्चै भन्ने हो भने मेनपावर व्यवसायीहरू तेहेरो चेपुवामा छन् । एकातिर सरकारले पेलिरहेको छ, अर्कोतर्फ विदेशी एजेन्ट र रोजगारीका लागि विदेश जाने कामदारले पनि उत्तिकै सताइरहेको अवस्था छ । तथापि, मेनपावरले पनि अब बैँकबाट पैसा पठाउन पाउने सिस्टम सरकारले लागू गर्न लागेको बुझिन्छ, यसले केही राहत दिने आशा छ ।’
वैदेशिक रोजगार व्यवसायलाई ठगिरहित र सम्मानजनक बनाउनका लागि सर्वप्रथम व्यवसायी एक हुनुपर्छ भन्छन् पौडेल । सरकारले पनि यसलाई सकारात्मक रूपमा लिँदै व्यवसायीलाई अनावश्यक दु:ख दिने होइन सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ, पारदर्शी सिस्टम बसाल्नुपर्छ, पुराना नियमलाई परिवर्तन गरी नयाँ नियम बनाउनुपर्छ भन्ने उनको धारणा छ ।
प्रतिक्रिया