नेकपा र कांग्रेसबाट समृद्धिको एजेण्डा पूरा नहुने बाबुरामको दाबी

नेकपा र कांग्रेसबाट समृद्धिको एजेण्डा पूरा नहुने बाबुरामको दाबी


नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको वर्तमान समस्या समाधान गरेर समावेशी विकास र आर्थिक समृद्धिको एजेण्डा अघि बढाउने काम अहिलेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा प्रतिपक्ष दल नेपाली काङ्ग्रेसबाट हुन नसक्ने दाबी गरेका छन् । सो पार्टीको प्रदेश नं ३ को प्रचार विभाग र नेपाल प्रेस सोसाइटी ३ नं प्रदेशको नवगठित कार्यसमितिका सदस्यलाई बधाई दिँदै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता झन् बढेर गएको धारणा प्रकट गर्दै डा. भट्टराईले सञ्चारकर्मीले देश र समाजका सबै क्षेत्रको निगरानी गर्ने भएकाले सचेततापूर्वक जनतालाई सुसूचित गर्नुपर्ने सुझाव पनि दिए । पत्रकारले सही र तथ्यपरक सूचना सम्प्रेषण गर्नुपर्ने जिकीर उनको थियो ।

देशको वैकल्पिक राजनीतिक ध्रुवको नेतृत्व नयाँ शक्तिले गर्ने दाबी गर्दै उनले विकास र समृद्धिका लागि नयाँ शक्तिले अङ्गालेको ‘पाँच स’को अवधारणा उपयुक्त भएको तर्क गरे ।

नयाँ शक्तिको नवगठित १५ सदस्यीय प्रचार विभागको अध्यक्षमा केशव अर्याल, डिल्लीराज पौडेल (रसुवा), कृष्ण महर्जन (ललितपुर), ध्रुव ढकाल (मकवानपुर), शारदा घिमिरे (चितवन), कमला नेपाल (नुवाकोट), बलराम श्रेष्ठ (काभ्रे), दिलीप शाही (काठमाडौँ), पवनप्रसाद उपाध्याय (काठमाडौँ), यज्ञ कार्की (भक्तपुर) र माधव गजुरेल (नुवाकोट) लगायत रहेका छन् ।

त्यस्तै नेपाल प्रेस सोसाइटी ३ नं प्रदेशको १५ सदस्यीय नयाँ कार्यसमिति पनि गठन भएको छ । समितिको अध्यक्षमा योगेन्द्रप्रताप शाही चयन भएका छन् भने उपाध्यक्षमा गणेश आचार्य, सचिवमा शिव बस्नेत, सहसचिवमा केदार भट्टराई, कोषाध्यक्षमा सिर्जना ग्लान, सदस्यमा विपीन पौडेल, सन्तोष गौतम, यज्ञ कार्की, सञ्जय महर्जन, शैलेश, अनुजा न्यौपाने, रामकृष्ण तामाङलगायत रहेका सो पार्टीले जनाएको छ ।