नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले बिपीको सपनाअनुसार पार्टीलाई अगाडि बढाउनका लागि गुटको अन्त्य हुनुपर्ने बताएका छन् । १०५औँ बिपी जयन्तीका अवसरमा नेपाली काङ्ग्रेस चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान एवं तीज कार्यक्रममा उनले काङ्ग्रेस अब एकजुट भएर अघि ढ्नुको विकल्प नभएको धारणा अघि सारे ।
काङ्ग्रेसलाई बलियो बनाउन र बिपीको विचारअनुसार सञ्चालन गर्नका लागि आन्तरिक गुटबन्दीको अन्त्य गरेर सद्भाव राख्नुपर्ने उल्लेख गर्दै महामन्त्री डा. कोइरालाले आन्तरिक गुटबन्दी अन्त्यका लागि आफू तयार रहेको र यसमा कार्यकर्ताले साथ दिनुपर्नेमा जोड दिए । गुटबन्दीले पार्टीलाई असर गर्छ भन्ने बीपी–बाणी स्मरण गराउँदै उनले अहिले पार्टी कमजोर भएको नभई गुटले पार्टीलाई कमजोर बनाएको दाबी गरे ।
बिपीले आफ्नो मृत्यु हुनुअघि ठूलो मानिस होइन, असल मानिस बन्नु भनेको सन्दर्भ पनि सम्झाए, अनि भने– ‘अब असल मानिस बन्ने र बनाउने समय आएको छ ।’
नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, काङ्ग्रेसका केन्द्रीय सदस्य डिला सङ्ग्रौला, महिला सङ्घ चितवनकी अध्यक्ष पार्वती शाह, प्रदेशसभा सदस्य गीता वाग्ले, महाधिवेशन प्रतिनिधि गीता गुरुङ, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य कल्पना पौडेललगायतले मुलुकको विकास र समृद्धिका लागि बिपीको विचार र चिन्तन आज पनि उतिकै सान्दर्भिक रहेको बताए ।
प्रतिक्रिया