सरकारको कामको आधारमा सहयोग र विरोध : डा. खड्का

सरकारको कामको आधारमा सहयोग र विरोध : डा. खड्का


पूर्वमन्त्री तथा सांसद डा. नारायण खड्काले अहिले नै प्रतिपक्षका तर्फबाट वर्तमान सरकारविरुद्ध उत्रनुपर्ने बेला भइनसकेको बताएका छन् ।

पार्टीको कामका लागि उदयपुर आइपुगेका डा. खड्काले प्रेस युनियन उदयपुर शाखाद्वारा आज बिहान गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । उनले भने, ‘अहिल्यै सरकारको आलोचना गर्ने बेला भएको छैन । केपी ओली नेतृत्वको सरकार सञ्चालन भएको एक वर्षपछि भने सबै कुराको मूल्यांकन गरेर अहिलेको जस्तै ढंगले अघि बढेमा भने नेपाली कांग्रेस सरकारविरुद्ध उत्रनेछ ।’

वर्तमान ओली नेतृत्वको सरकार बहुमतको सरकार भएका कारण प्रमुख प्रतिपक्षले पनि पूरै अवधिसम्म सरकार चलोस् भन्ने चाहेको, तर सरकारले जनतासामु बोलेका कुरा पूरा गर्न भने नसकेको आरोप डा. खड्काले लगाए ।

सरकारले अहिले यातायात व्यवसायीको एकाधिकार तोड्ने, चोर तथा गुण्डानाइके पक्राउ गरेर कारबाही गर्ने र सुन तस्करलाई नियन्त्रणमा लिन तदारुकता देखाएकामा भने नेता खडकाले प्रशंसा गरे ।

नेपालको दुई ठूला छिमेकी देश भारत र चीनसँग वर्तमान सरकारले लिएको सन्तुलनको नीति ठीक रहेको र बिमस्टेक सम्मेलन पनि सफल बनाउन सरकार सफल भएको उनको धारणा थियो ।

अब सरकारले प्रतिपक्षप्रति कस्तो रवैया र नीति लिन्छ नेपाली कांग्रेसले पनि सोहीअनुसारको सहयोग वा विरोध गर्ने कुरा निर्धारण हुने कुरा डा. खड्काले बताए ।