भारतको चाहना नेपाल स्थिर र आर्थिक रूपमा सबल बनोस् भन्ने रहेछ : प्रचण्ड

भारतको चाहना नेपाल स्थिर र आर्थिक रूपमा सबल बनोस् भन्ने रहेछ : प्रचण्ड


नेपाल र भारतबीच विगतका भएको सहमति तथा सम्झौता कार्यान्वयन गराउन र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याउन आफ्नो भ्रमण सफल भएको दाबी प्रचण्डले गरेका छन् । चारदिने भारत भ्रमणबाट आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा प्रधानमन्त्रीस्तरमा भएको भ्रमणका क्रममा भएका सहमति तथा सम्झौतालाई व्यावहारिक रूपमा कार्यान्वयन गराउन यस पटकको भ्रमण सफल र फलदायी भएको बताएका हुन् ।

सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने, नेपालको भौतिक पूर्वाधारमा लगानी बढाउने, ऊर्जा तथा जलस्रोतको क्षेत्रमा लगानी बढाउने लगायत विषयमा भ्रमणमा क्रमममा महत्वपूर्ण छलफल भएको नेकपाका अध्यक्ष प्रचण्डले जानकारी दिए । यस्तै, भ्रमणका क्रममा संविधान कार्यान्वयन तथा सरकारले आत्मसात् गरेको आर्थिक समृद्धिको लक्ष्यलाई साकार बनाउनका लागि भारतको उच्च राजनीतिक नेतृत्वसँग छलफल भएको उनको भनाई थियो ।

विकास निर्माणका क्रममा आपसी सहयोगलाई वृद्धि गर्दै जाने विषयमा भारतीय नेतृत्वसँग विस्तारमा छलफल भएको जनाउँदै उनले भने, ‘नेपालको समृद्धि र विकासका मुद्दालाई केन्द्रमा राखेर राजनीतिक नेतृत्व र बुद्धिजीवीसँग छलफल भयो । यसले मलाई उत्साहित बनाएको छ ।’

नेपाली जनताको चाहनाजस्तै भारत सरकार र भारतीय जनताको चाहना पनि नेपाल स्थिर र आर्थिक रूपमा सबल बनोस् भन्ने रहेको आफूले पाएको खुलासा गर्दै प्रचण्डले भूकम्पपछिको पुनःनिर्माण, हुलाकी राजमार्गको निर्माण, पछिल्ला दिनमा भएका महत्वपूर्ण सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा केन्द्रित रहेर सहयोग उपलब्ध गराउन आफूले भारतीय नेतृत्वसँग आग्रह गरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको सुदृढ कार्यान्वयनको वातावरण निर्माण गर्न आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको र त्यसमा आफू सफल भएको उल्लेख गर्दै उनले भ्रमणको कुनै राजनीतिक एजेण्डा नभएको दोहोर्याए । तर , भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायत राजनीतिक नेतृत्वसँग भोट तथा कुराकानी गरेका थिए । भारतीय पक्षबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको पनि प्रचण्डले जानकारी दिए ।

तस्बिर रासस