पूर्वसभामुख तथा काङ्ग्रेस नेता तारानाथ राना भाटले नेपाली काङ्ग्रेसले बाटो बिराएको बताएका छन् ।
उनले काङ्ग्रेसले ‘कोर्स करेक्सन’ नगरे भावी यात्रा कष्टकर हुने भविष्यवाणीसमेत गरे । ‘काङ्ग्रेस जुन बाटोमा हिँड्नुपर्ने हो, त्यसमा छैन’, १०५औँ बिपी जयन्तीको अवसरमा बिपी विचार राष्ट्रिय समाजले आयोजना गरेको कार्यक्रममा रानाभाटले भने, ‘काङ्ग्रेसले बिराएको बाटो छाडेर सही बाटो समात्नुपर्छ ।’
काङ्ग्रेस नेता कुलबहादुर गुरुङले बिपीको विचारको अबमूल्यन भएको गुनासो गरे । बिपीको सिद्धान्त कागजमा लेख्ने तर व्यवहारमा कार्यान्वयन नगर्नु सिङ्गो काङ्ग्रेसको भुल भएको नेता गुरुङको भनाइ छ ।
काङ्ग्रेस नेत्री तथा पूर्वमन्त्री लिला कोइरालाले नेपाली काङ्ग्रेसको नीतिले प्रजातन्त्र मात्र नभएर संविधान नै जारी भएको उल्लेख गर्दै त्यसलाई बचाउ पनि काङ्ग्रेसले नै गर्ने अभियान चलाउनुपर्छ भनिन् ।
बिपी विचार राष्ट्रिय समाजकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले सबै प्रजातान्त्रिक शक्ति एकजुट हुनुपर्ने आवश्यकता औँल्याइन् । एकले अर्कोलाई दोष देखाएर उम्कने प्रवृत्ति हाबी भएको भन्दै उनले बिपीको विचार र सिद्धान्तलाई मनन गरेर अघि बढ्न सुझाव दिइन् ।
प्रतिक्रिया