राहतमा काखापाखा गरेपछि बाढीपीडितद्वारा वडा कार्यालयमा तालाबन्दी

राहतमा काखापाखा गरेपछि बाढीपीडितद्वारा वडा कार्यालयमा तालाबन्दी


हेमशंकर सिंह, राजविराज

बाढीपीडितको राहत वितरणमा काखापाखा गरेको आरोप लगाउँदै स्थानीयवासीले राजविराज नगरपालिका को ५ नम्बर वडा कार्यालयमा पुनः तालाबन्दी गरेका छन् ।

वास्तविक बाढीपीडितको नाम समावेश गरेर मात्र राहत वितरण गर्ने सहमतिविपरीत केहीलाई राहत रकम वितरण गरेको र केहीलाई छुटाएको भन्दै वडावासीले वडामा ताला लगाएका हुन् ।

वडा कार्यालय पुगेका बाढीपीडितहरूले वडा अध्यक्ष समीर झालाई घेराउ गर्दै विगतमा भएको सहमति कार्यान्वयन नगरेकोमा चर्को विरोध जनाए ।
वडा अध्यक्ष झाले चित्तबुझ्दो जवाफ नदिएपछि स्थानीयवासीले नाराबाजी गर्दै वडा अध्यक्ष झा र कर्मचारीहरूलाई कार्यकक्षबाट बाहिर निकाली तालाबन्दी गरेका हुन् ।

सरकारी राहत समायोजन गरी वितरण गर्ने सहमतिविपरित वडा कार्यालयले काखापाखा गर्दै केहीलाई वितरण गरी केही राहत रकम फिर्ता गरेकोले विरोधस्वरुप तालाबन्दी गरेको स्थानीय संजय दासले बताए ।

वास्तविक पीडितहरूलाई राहतबाट वञ्चित गराई हुनेखानेहरूको नाममा राहत आएको भन्दै बाढीपीडितहरूले गत चैत १५ गते पनि वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

बाढीबाट डुबान नभए पनि तत्कालिन वडासचिव दीपेन्द्र रोशन, वडा अध्यक्षहरू पार्थो सरकार र संगीता कर्णले आफ्नो र आफन्त सबैका घर पूर्ण क्षति भएको लिष्टमा पारेको बाढीपीडितहरूको आरोप छ ।

एउटै व्यक्तिको नाम दुईपटक, एउटै परिवारका चारजनाको नाम छुट्टाछुट्टै र क्षति नभएका पक्की घरहरू पूर्ण क्षतिमा र भत्किएर ढलेका घरहरू सामान्य क्षतिमा पारेको स्थानीय अभिमन्यु दासले बताए ।

नामाबलीमा गम्भीर त्रुटी भएको वडा कार्यालयले स्वीकार गर्दै बाढीपीडितहरूको स्थलगत अनुगमन गरेर नाम संशोधन गरी सोहीअनुरुप राहत रकम वितरण गर्ने निर्णय गरेपछि गत चैत १८ गते ताला खुलेको थियो ।

पछिल्लो वर्ष साउनको अन्तिम साता आएको बाढीले राजविराज ५ को दक्षिणी–पश्चिमी भेग पूर्ण प्रभावित बनेको थियो । बाढीले बास्तविक पीडितभन्दा पनि आफ्नो नातेदार, आसेपासे र स्वयंलाई राहत बाँडेको र वास्तविक पीडितले राहत नपाएको देवकुमारी शर्माले गुनासो गरिन् ।

पछिल्लोपटक बाढीबाट पूर्ण रुपमा घर क्षति भएका परिवारहरूलाई नेपाल सरकारले २५ हजारका दरले राहत उपलब्ध गराउन रकम पठाए पनि विवादका कारण राजविराज नगरपालिकाले एक करोड ३० लाख २५ हजार रकम वितरण गर्न नसकी फिर्ता पठाएको छ । राजविराज नगरपालिकाले एक हजार ६ सय ३७ बाढीपीडित परिवारका लागि राहत वितरण गर्न कुल चार करोड नौ लाख २५ हजार रुपैयाँ बुझेकोमा विवादका कारण दुई करोड ७९ लाख राहत रकम मात्र वितरण गरेको नगर प्रमुख शम्भु यादवले बताए ।

वडा अध्यक्ष झाले वडा नम्बर ५ को ८६ जनामध्ये वास्तविक पीडित ५५ जनालाई राहत वितरण गरी अन्यको फिर्ता गरिएको बताए । पीडित नभएकाहरूको नाममा रकम आएको तर केही पीडितले राहत नपाएको स्विकार गर्दै उनले नगर प्रमुख र जिल्ला प्रशासन कार्यालयले यसबारे पहल गर्नुपर्ने तर्क अघि सारे ।
वडा सदस्य गंगासागर गुप्ताले पीडित नभएपनि दुई वडा सदस्य र तत्कालिन वडासचिवका नाममा समेत राहत रकम आएकोमा वडावासीले आन्दोलन गरेपछि सबैलाई राहत वितरण गर्न नसकिएको बताए । निर्वाचन अघि नै तत्कालिन नगरपालिका कार्यालय, प्रहरी, वडा सचिवको टोलीले संकलन गरेको नाम त्रुटिपूर्ण रहेकोले अहिले समस्या परेको उनले बताए ।

स्थानीय चन्द्रकला यादव र सावित्रीदेवी मण्डलले घर क्षति हुनेहरूले नपाएको र पानी नै नपसेको घरले राहत पाएकोले विरोध भएको बताइन् । उनीहरूले बाढीपीडितहरूको नामावलीमाथि आवश्यक छानविन हुनुपर्ने र अनियमितता गर्ने दोषीमाथि कारवाही गरिनुपर्ने माग राखेका छन् ।