फिना विश्व च्याम्पियनका लागि वैकल्पिकसहित पाँच खेलाडी छनोट

फिना विश्व च्याम्पियनका लागि वैकल्पिकसहित पाँच खेलाडी छनोट


आठौँ एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा निसर्ग स्कुल टिम च्याम्पियन भएको छ । च्याम्पियन बनेसँगै निसर्गले टिम च्याम्पियनको ट्रफी पनि हात पारेको छ । नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगितामा लिंकन दोस्रो र राजश्री तेस्रो भएका थिए । दुवै स्कुलले क्रमशः ४९ र ३७ अंक प्राप्त गरेका थिए ।

मित्रराष्ट्र चीनको ह्वाङजाउमा आयोजना हुने १४औँ फिना विश्व च्याम्पियनसिपका लागि छनोट प्रतियोगितासमेत रहेको प्रतियोगिताबाट दुई महिला र दुई पुरुषका साथै एक एक वैकल्पिक खेलाडीसमेट छनोट गरिएको छ ।

२५ मिटरको सर्टकोर्स पौडीपोखरीमा भएको प्रतियोगितासार पुरुषतर्फ फिना अंकको आधारमा शुभम श्रेष्ठ र अनुभव सुब्बा छनोट हुन सफल भएका छन् । शुभमले ५२१ अंक र अनुभवले ४६५ अंक प्राप्त गर्दै फिना विश्व च्याम्पियनसिपका लागि छनोट भएका हुन् । पुरुषतर्फ वैकल्पिक खेलाडीको रूपमा सैयद हमजा शाह छनोट भएका थिए । उनले ४४६ अंक हासिल गरेका थिए ।

महिलातर्फ टिसा शाक्य र डुबाना लामा छनोट भए । टिसाले ५१० र डुबानाले ४६४ अंक हासिल गरे । वैकल्पिक खेलाडीको रूपमा छनोट भएकी खेलाडी उपास्ती महर्जनले ४४१ अंक प्राप्त गरेकी थिइन् । १४औँ फिना वल्र्ड च्याम्पियनसिप मित्रराष्ट्र चीनको ह्वाङजाउमा डिसेम्बर ११ देखि १६ सम्म सर्टकोर्स (२५ मिटरको पुलमा) आयोजना हुँदै छ ।

विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १५५ खेलाडीले खुलातर्फ १८ तथा उमेर समूहतर्फ ३३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।