कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोध गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको छ । बिहीबार (आज) प्रतिनिधिसभाको बैठक शुरु हुनेबित्तिकै कांग्रेस सांसदहरूले विरोध गरेका थिए । बैठकको शुरुमै कांग्रेसमा सांसदले उठेर विरोध गरेका थिए । पन्तको गत साउन ११ गते बलात्कारपछि हत्या भएको थियो ।
सभामुख कृष्णबहादुर महराले समय दिएपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला पन्तको हत्या दिनानुदिन नाटकीय बन्दै गएकोमा आपत्ति जनाएका थिए । बडूले अनुसन्धान टोलीका सदस्यले समेत आफ्नो जीवनरक्षाका लागि अपिल गर्नुपर्ने अवस्था किन आयो भन्दै प्रश्न गरेका थिए । उनले छानबिनमा संलग्न सरकारका उपसचिव वीरेन्द्र केसीले शक्तिशाली व्यक्तिबाट खतरा रहेको भन्दै राजीनामा दिएको विषयसमेत संसदमा उठाएका थिए ।
बडूले भने, ‘निर्मला पन्तको आत्मा र पीडित परिवारले न्याय पाउने सम्भावना देखिनँ भनेर अनुसन्धानमा संलग्न केसीले भनेका छन् ।’ बडूले पत्रकारमाथि समेत धरपकड शुरु भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरे । उनले यस विषयमा प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् चल्न नदिने बताए ।
सभामुख महराले सरकारको ध्यानाकर्षण गराउँदै उपयुक्त समयमा जवाफ दिने जानकारी दिए ।
प्रतिक्रिया