पन्तका हत्यारालाई कानुनी दायरामा ल्याउन राष्ट्रपतिको आग्रह

पन्तका हत्यारालाई कानुनी दायरामा ल्याउन राष्ट्रपतिको आग्रह


राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनुसरह हो’ भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन गरी हत्यामा संलग्न अपराधीलाई कानुनी दायराभित्र ल्याई दण्डित गर्न सबै पक्ष संवेदनशील बन्नुपर्छ ।’

राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद् भएको बताइन् । उनले पन्तको बलात्कारपछि हत्याको घटनाले आफूलाई अत्यन्त दुःखी तुल्याएको चर्चा गर्दै यस दुःखद् घटनाप्रति परिवारजनमा सहानुभूति प्रकट गरिन् ।

राष्ट्रपति भण्डारीले संविधानप्रदत्त बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यावहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार अन्त्य गर्न सकिने बताइन् ।

बालबालिकामाथि हुुने हिंसा, दुव्र्यवहार, बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घरपरिवार एकजुट हुनुपर्ने उनको भनाइ छ । राष्ट्रपति भण्डारीले भनिन्, ‘कलिला बालिकामाथि हुने यौनजन्य हिंसा मानवताविरुद्धको कलंक हो, यसलाई जरैदेखि उखलेर फाल्नुपर्छ ।’