नेपालको पहिलो कम्युनिष्ट विद्यालयका रूपमा स्थापना भएको भक्तपुरको खरिपाटीस्थित मदन भण्डारी एशियाली विद्यालयमा विश्व कम्युनिष्टको इतिहासदेखि वर्तमान अवस्थासम्मका बारेमा विभिन्न देशका नागरिकले प्रशिक्षण लिएका छन् ।
विद्यालयमा पुष्पलाल व्याच नाम दिइएको उक्त कक्षामा आवासीय रूपमा तीन साताको प्रशिक्षण लिएका १४ वटा देशका ४२ जनाले विश्व कम्युनिष्टको उदय, सङ्घर्ष र वर्तमान अवस्थाका बारेमा प्रशिक्षणमार्फत जानकारी लिएका हुन् । विश्वमा कम्युनिष्ट कमजोर हुँदै गएका बेला नेपालमा भने कम्युनिष्ट किन र कसरी माथि आउँदैछ भन्ने अध्ययन गर्न २१ दिनको प्रशिक्षणले टेवा पुऱ्याएको सहभागीले बताएका छन् ।
प्रशिक्षणमा सहभागी अल इण्डिया युथ लाइभका राष्ट्रिय सदस्य धर्मेन्द्र कुमारले २१ दिनको बसाइँले माक्र्स र लेलिनका बारेमा सिक्न पाएको बताउँदै विश्वका सबै देशको कम्युनिष्ट पार्टीका बारेमा अनुसन्धान गर्न मद्दत पुगेको बताए । राससका अनुसार भारतका कम्युनिष्ट मन्दिर, मस्तिज जान मन नपराउने गरेको जानकारी दिँदै उनले नेपालमा त्यो अवस्था नरहेको बताए । नेपालको कम्युनिष्ट पार्टी र कम्युनिष्ट सरकारको उदयका बारेमा जानकारी लिन पाएको उनको भनाइ छ ।

विश्वको कम्युनिष्टबारे जानकारी दिन आयोजित प्रशिक्षणमा सहभागी पाकिस्तानका पाकिस्तान वर्कस् पार्टीकी युवा नेत्री पस्मिना साहिलले आफ्नो देशमा कम्युनिष्टबारे प्रशिक्षण नै नदिइ पार्टीमा लाग्नुपर्ने बाध्यता रहेको अवस्थामा नेपालको प्रशिक्षणले कम्युनिष्ट पार्टीबारे बुझ्ने मौका पाएको प्रतिक्रिया दिइन् । पाकिस्तानमा निकै चुनौती रहेको बताउँदै उनले नेपालमा जस्तो कम्युनिष्टलाई पाकिस्तानमा खुला नरहेको जानकारी दिइन् ।
पाकिस्तानकै वर्कस् पार्टीका निशार लिक्बालले आफू २५ वर्षदेखि कम्युनिष्ट आन्दोलनमा लागेर यसको भविश्य के ? भनेर निराश भएको अवस्थामा नेपालको प्रशिक्षणले निकै ऊर्जा थपेको बताए । यस्तै, बङ्गलादेशबाट प्रशिक्षणमा सहभागी भएका साक्हबाट हुसैनले पनि समाजवाद र क्रान्तिकाबारेमा विभिन्न देशको अनुभवबाट धेरै कुरा सिक्ने मौका पाएको बताए । कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट पार्टी यहाँको सङ्घर्ष र सत्तासम्मको आरोहका बारेमा जानकारी लिने मौका पाएको उनको भनाइ छ । बङ्गलादेशमा कम्युनिष्टलाई कतिपयले एजेन्टका रूपमा लिने गरेको खुलासा पनि उनले गरे ।
प्रशिक्षणबारे पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता एवं स्कूलका संरक्षक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनका बारेमा विभिन्न देशका नागरिकलाई जानकारी दिने मौका पाएको बताउँदै यो स्कूललाई कम्युनिष्ट स्कूलका रूपमा स्थापित गरेर लैजाने जनाए । यसले विभिन्न देशका नागरिकलाई कम्युनिष्ट व्यवस्थाबारे जानकारी दिन, विभिन्न देशका कला, संस्कृति र रहनसहनका बारेमा आदानप्रदान गर्नसमेत टेवा पुगेको उनको भनाई छ ।
नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, थाइल्याण्ड, अर्जेन्टिना, ब्राजिल, ताञ्जिनिया, ट्युनिसिया, स्टिमोर, फिलिसिन्स, जाम्भिया, कोलम्बिया गरी १४ देशका ४९ जनाको सहभागिता रहेको प्रशिक्षणमा सहभागीले विश्वमा कम्युनिष्ट आन्दोलनको शुरुआत, माक्र्स, लेलिनदेखि हालसम्मको अवस्थाका बारेमा जानकारी लिन पाएको प्रतिक्रिया दिइएको छ ।
प्रशिक्षण व्यवस्थापन समितिको संयोजक बलराम बाँस्कोटाले प्रशिक्षणमा द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र, जनआन्दोलन, माक्र्सवाद, लेलिनवाद, माक्र्सवाद दर्शन, कम्युनिष्ट सङ्गठनात्मक व्यवस्था, कम्युनिष्ट आन्दोलनको नेतृत्व लगायतका विभिन्न विषयमा प्रशिक्षण दिइएको जानकारी दिए ।
प्रशिक्षण अवधिभर प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, मोदनाथ प्रश्रित, वामदेव गौतम, विष्णु पौडेल, वेदुराम भुसाल, भारतका परवीरपुर कायस्थ, बङगलादेशका शुसान्त्व दास, अमेरिकाका क्रिसो क्रुसोलगायत विभिन्न देशका कम्युनिजमका विज्ञले प्रशिक्षण दिएको कार्यक्रम हिजो शुक्रबारदेखि समापन भएको छ भने अर्को प्रशिक्षण कक्षा आगामी जनवरीदेखि मार्चसम्ममा सञ्चालन हुने बताइएको छ ।
(तस्बिर साभार बलराम बास्कोटा)
प्रतिक्रिया