४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु

४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु


तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिएका हुन् ।

‘ग्रासरुट’ फुटबल कार्यक्रमअन्तर्गत खेलाडीले खेल्ने फुटबल नियम लागू हुँदैन । बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले फुटबल खेल्न सिकाइन्छ । सानै उमेरमा एकआपसमा चिनजान तथा घुलिमिल हुने वातावरणका साथै खेलको विकास गर्न अभियान शुरु गरिएको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाल बताए । सानै उमेरका उत्कृष्ट खेलाडी गर्नु अभियानको अर्को लक्ष्य रहेको बताइएको छ ।

अभियान शुरु गरेर मात्र नहुने भन्दै उनले निरन्तरता दिन अर्को वर्षदेखि यसलाई वार्षिक क्यालेन्डरमा राखेर अघि बढाउने योजना एन्फाको रहेको बताए । अभियानलाई विस्तार गरी अर्को वर्षदेखि ७७ जिल्लामै लागू गर्ने एन्फाको तयारी छ ।

एन्फाले ग्रासरुट फुटबल गतिविधि सञ्चालन र मैदानको मर्मतलगायत कार्य गर्न ४५ वटै जिल्ला फुटबल सङ्घलाई आर्थिक सहयोग र खेलकूद सामग्री प्रदान गरिसकेको छ । खेल सञ्चालनका लागि एन्फाले सुगम जिल्लाका लागि रु पाँच लाख नगद तथा रु एक लाख मूल्य बराबरको खेलकूद सामग्री र दुर्गम जिल्लाका लागि रु १० लाख नगद तथा एक लाख मूल्य बराबरको खेल सामग्री सम्बन्धित जिल्ला सङ्घका पदाधिकारीलाई उपलब्ध गराइसकेको छ ।

खेलाडी दर्ताको समय थप

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ डिभिजन लिगका लागि खेलाडी दर्ताको समय थप गरेको छ । करीब चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि एन्फाले हिजो ३० भदौसम्म खेलाडी दर्ता गर्ने समय निर्धारण गरेको थियो । क्लबले खेलाडी दर्ताको समय अपुग भएको गुनासो गरेपछि ६ दिन समय थप गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

एन्फाले पहिलो पटक अनलाइनबाट शुरु गरेको खेलाडी दर्ता प्रक्रिया आगामी असोज ५ गतेसम्म गर्न सकिनेछ । क्लबले ए डिभिजन लिगलाई ध्यानमा राखेर विदेशी खेलाडी धमाधम ल्याउनेक्रम जारी राखेको र खेलाडी दर्ताको समय थप्न माग गरेकाले दर्ता सयम थप गरिएको महासचिव तुलाधरको भनाइ छ ।

सबै क्लबले न्यूनतम १८ खेलाडी दर्ता गराइसकेको भए पनि थप खेलाडी दर्ताका लागि समय माग गरेका हुन् । एन्फाले हरेक क्लबले बढीमा ३५ खेलाडी र कम्तीमा १८ खेलाडी दर्ता गर्नुपर्ने जनाएको छ । क्लबलाई चार जना विदेशी खेलाडी अनुबन्ध गराउन छुट दिइएको छ ।

एन्फाले दर्ता भएका खेलाडीको सूची प्रमाणीकरण गरेर सार्वजनिक गर्ने तयारीसमेत गरेको छ । ए डिभिजन लिग फुटबल प्रतियोगिता असोज १४ गतेदेखि माघ १६ गतेसम्म हुने एन्फाले जनाएको छ ।

लिगमा १४ ए डिभिजन टोली थ्रीस्टार क्लब, मनाङ–मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, नेपाल आर्मी क्लब, जावलाखेल युथ क्लब, फ्रेन्डस् क्लब, सङ्कटा क्लब, मच्छिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, एनआरटी, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाउने छन् ।

– कुमार चौलागाई/रासस