बास्केटबलमा काठमाडौं जेभियर र चाँदबागलाई उपाधि

बास्केटबलमा काठमाडौं जेभियर र चाँदबागलाई उपाधि


काठमाडौं जेभियर्स र चाँदबागले नवौँ प्याब्सन मध्यक्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । काठमाडौं जेभियर्स ब्वाइज तथा चाँदबाग गल्र्समा च्याम्पियन बनेका हुन् । दुवैले फाइनलमा हेम्सलाई पराजित गरेका थिए ।

प्याब्सन मध्यक्षेत्रीय कमिटीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा काठमाडौं जेभियर्सले डिफेन्डिङ च्याम्पियन हेम्सलाई ५८–४९ ले पराजित गर्दै च्याम्पियन बनेको थियो । काठमाडौं जेभियर्सको जितमा सञ्जीव मगरले २५ अंक योगदान गरेका थिए । सरोज कार्कीको ३९ अंक सहयोगमा अल्बर्टले मार्टियर्सलाई ६७–५२ ले हराउँदै तेस्रो भएको थियो ।

अनामनगरस्थित एसियन पब्लिक स्कुलको कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा चाँदबागले हेम्सलाई २९–१८ ले पाखा लगाउँदै लगातार तेस्रोपटक च्याम्पियन बनेको हो । चाँदबागकी अदिती गुरुङले १३ स्कोर गरेकी थिइन् । एसियन एआईएलाई ३१–११ ले सहजै पन्छाउँदै तेस्रो भयो । एसियनकी जेसिका अधिकारीले ७ अंक जोडिन् ।

ब्वाइज र गल्र्समा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सञ्जीव र अदिती ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । ब्वाइजमा हेम्सका कौशल शर्मा र गल्र्समा एसियनकी जेसिका अधिकारी उदीयमान खेलाडी घोषित भए । त्यस्तै ब्वाइजमा अल्बर्टका सरोज कार्की र गल्र्समा हेम्सकी सुनिता सुनुवार सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर सरोजले १ सय ६९ तथा सुनिताले ६३ अंक जोडेका थिए । ब्वाइजमा मार्टियर्स र गल्र्समा एआईएले अनुशासित टिमको उपाधि हात पारेका थिए ।

विजेतालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलगायतले पुरस्कृत गरेका थिए । भदौ २३ गतेदेखि शुरु भएको प्रतियोगिताको ब्वाइजमा २६ र गल्र्समा १६ गरी ४० टिम सहभागी थिए । प्रतियोगिताको दशौँ संस्करण शंखमूलस्थित एआईए स्कुलमा हुने आयोजक कमिटीका अध्यक्ष गगनसिंह ऐरले जनाएका छन् ।