संविधान दिवसमा हाफ म्याराथन र क्रिकेट

संविधान दिवसमा हाफ म्याराथन र क्रिकेट


संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषद्ले हाफ म्याराथन आयोजना गर्ने भएको छ । हाफ म्याराथन असोज २ गते हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन् ।

म्याराथनमा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र नेपाल एपीएफ क्लबका साथै अन्य गरी करिब १ सय खेलाडीको सहभागिता अनुमान गरिएको छ । पुरुषतर्फ मात्र प्रतिस्पर्धा हुने म्याराथनमा पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार नगद पुरस्कार पाउनेछन् । चौथो हुनेलाई १० हजार नगद प्रदान गरिनेछ भने पाँचौँ र छैटौँ हुनेलाई जनही ५ हजार नगद पुरस्कार दिइनेछ ।

म्याराथन त्रिपुरेश्वरस्थित राखेप हाताबाट शुरु भई त्रिपुरेश्वर चोक, थापाथली, माइतीघर, बबरमहल, मीनभवन, तिनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँठिमी, राधेराधे, सिर्जनानगर, सल्लाघारी तिनकुने हुँदै पुनः सोही रुट हुँदै त्रिपुरेश्वरस्थित राखेप हातामै आएर टुंगिनेछ ।

संविधान दिवसकै अवसरमा नेपाल रातो र नेपाल नीलो टिम बनाएर टी– २० मैत्रीपूर्ण क्रिकेट पनि खेलाइने प्रमुख शर्माले जानकारी दिए । असोज २ गते नै हुने मैत्रीपूर्ण क्रिकेट कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ ।