विवेकशील साझा पार्टीले सातवटै प्रदेशका उत्प्रेरक एवं सङ्गठकलाई प्रशिक्षण दिएको छ । गत शनिबार र आइतबार देशभरिका १ सय ५० जना उत्प्रेरक नेतालाई कार्यक्रममा सहभागी गराइएको सो पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बताए ।
बताइएअनुसार प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिका लागि आधार फराकिलो हुँदै गएकाले नेतृत्व गर्न लायक सङ्गठन निर्माणमा जुट्न उत्प्रेरकलाई आग्रह गरेका थिए भने अर्का संयोजक उज्वल थापाले वैकल्पिक राजनीतिका लागि सङ्गठनलाई पनि कुशलतापूर्ण विधिले अघि बढाइने दाबी गरे ।
प्रवक्ता आचार्यले विवेकशील साझा पार्टीको आधारभूत वैचारिक, राजनीतिक तथा अर्थनीतिका बारेमा प्रशिक्षण दिएका थिए । यस्तै, वैकल्पिक राजनीतिका बारेमा लेख्दै र बोल्दै आउनुभएका केन्द्रीय सदस्यद्वय केशव दाहाल र गोविन्द नारायणले वैकल्पिक राजनीतिमा युवाको भूमिकाबारे जानकारी गराएका थिए ।
यस्तै, पार्टी सङ्गठन विभाग प्रमुख मुमाराम खनालले पार्टीको वैकल्पिक संरचना, आन्तरिक लोकतान्त्रिक अभ्यासको विधि, विधानको कार्यान्वयन तथा तीनमहिने सङ्गठन बिस्तार अभियानको महत्वमाथि प्रकाश पारे । पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले समावेशिता, सुबुना बस्नेतले उद्यमशीलता, शशिविक्रम कार्कीले सामाजिक अभियान, किशोर थापाले पार्टीको अनुशासन तथा सुशासन र अर्जुनसिंह ठकुरीले पार्टीको आन्तरिक व्यवस्थापनबारे प्रशिक्षण दिएका सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया