शूरवीरलाई चेस च्याम्पियसिपको उपाधि

शूरवीरलाई चेस च्याम्पियसिपको उपाधि


नमुना बौद्ध मास्टर्स चेस च्याम्पियनसिपको उपाधि शूरवीर लामाले जितेका छन् । बौद्धस्थित नमुना चेस क्लबको हलमा भएको प्रतियोगितामा सात चरणमा ६ अंकसहित उपाधि जितेका लामाले ५० हजार पुरस्कार पाए । स्वीस लिग फम्र्याटअनुसार खेलाइएको प्रतियोगिताको सातौँ चरणमा लामाले राजन सुवेदीलाई पराजित गरी उपाधि जितेका हुन् ।

साढे ५ अंकसहित दोस्रो भएका क्यान्डिडेट मास्टर कृष्ण थापाले ३० हजार पुरस्कार पाए । अन्तिम चरणको खेलमा उनले क्यान्डिडेट मास्टर केशव श्रेष्ठलाई हराउँदै दोस्रो स्थान प्राप्त गरेका थिए । समान साढे ५ अंक भए पनि बुकोल्सका आधारमा अर्का क्यान्डिडेट मास्टर मदनकृष्ण कायस्थ तेस्रो भए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए । सातौँ चरणको खेलमा श्रेष्ठले फिडे मास्कर मनीष हमाललाई पराजित गरेका थिए ।

समान पाँच अंक भए पनि फिडे मास्कर मनीष हमाल चौथो र क्यान्डिडेट मास्टर केशव श्रेष्ठ पाँचौँ भए । उनीहरूले जनही क्रमशः १५ र १० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीको रूपमा शान्ति धिमालले १० हजार तथा उत्कृष्ट क्लब खेलाडीको रूपमा आयोजक नमुना बौद्ध चेस क्लबका निरञ्जन पुडासैनीले १० हजार रुपैयाँ पुरस्कार पाएका थिए ।