क्यानडा ओपन तेक्वान्दोमा राजुलाई कांस्य

क्यानडा ओपन तेक्वान्दोमा राजुलाई कांस्य


क्यानडा ओपन तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडी राजु नगरकोटीले कांस्य पदक जितेका छन् । ५० वर्षमुनि तौल समूहको पुम्सेतर्फ नगरकोटीले कांस्य पदक जितेका हुन् । यो विजयसँगै क्यानडा ओपनमा पदक जित्ने राजु पहिलो नेपाली खेलाडी बनेका छन् ।

नेपालको तर्फबाट सहभागिता जनाएका नगरकोटीले क्यानडा ओपनमा उत्कृष्ट प्रदर्शन गर्दै उक्त पदक जितेका हुन् । खेलमा उनले विश्वका थुप्रै राष्ट्रका खेलाडीलाई पछि पारेका थिए । उक्त प्रतियोगितामा विश्वका धेरै देशले सहभागिता जनाएका थिए ।

विजयपछि प्रसन्न मुद्रामा देखिएका नगरकोटीले अन्तराष्ट्रमा राष्ट्रको झन्डा फहराउन पाउँदा निकै खुसी लागेको बताए । सो अवसरमा नगरकोटीले यो विजय आफ्नो मात्र नभई राष्ट्रकै विजय हो भन्दै आगामी दिनमा योभन्दा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

‘मिहिनेतको फल मीठो हुन्छ भन्ने सुनेको थिएँ, अहिले आत्मसात् गर्न पाएको छु । मेरो लागि यो जीवनकै खुसीको क्षण भएको छ,’ नगरकोटीले भने ।