राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीद्वारा गण्डकी प्रदेशका मुख्यमन्त्रीको राजीनामा मागिएको सन्दर्भ यतिबेला चर्चामा छ । पोखरमा ‘रेड लाइट एरिया’ खोलेर परिचयपत्रसमेत दिई यौनकर्मी खटाइनु आवश्यक रहेको प्रस्ताव केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अघिसारेका थिए । मुख्यमन्त्री गुरूङको यही अभिव्यक्तिको संसदमा विरोध गर्दै सांसद चौधरीले उनको राजीनामा मागेकी हुन् ।
होटल संघ नेपालले हालै पोखरामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले यौनधन्दामा अहिले जे भइरहेको छ, त्यसलाई यत्तिकै छाड्न नमिल्ने तर्क गर्दै खास स्थान तोकेर कार्ड उपलब्ध गराउन सकिने बताएका थिए । प्रहरीले छापा मार्न आउँदा त्यही कार्ड देखाउँछन् र सरकालाई कर पनि तिर्छन् भन्ने उनको तर्क थियो । यति मात्र नभई रेडलाइट इलाकाको व्यवस्था हुँदा पर्यटक बढ्ने, व्यवसाय अझै फस्टाउने, समाजमा अझै एक खालको सभ्यता र शासन स्थापित हुँदै जान्छ भन्ने धारणा पनि मुख्यमन्त्री गुरुङले अघिसारेका थिए ।
यसरी, ‘रेडलाइट एरिया’ खोल्ने भनी मुख्यमन्त्रीले महिला अस्मितामाथि प्रहार गरेका राजपा नेतृ चौधरीको तर्क छ । नेपाली नारीलाई अपमानित गर्ने यस्तो अमर्यादित बोली बोल्ने मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग उनले आइतबार संसदमा बोल्दै जोडदार रूपमा उठाएकी हुन् । ‘महिला हिंसा रोक्न नसक्ने अनि रेडलाइट आवश्यकताको कुरा गर्ने मूख्यमन्त्रीको मानसिकता कस्तो हो ?’– सांसद चन्दाको प्रश्न थियो ।
मन्तव्यकै क्रममा कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सरकारले अझै दोषी पत्ता लगाउन नसक्नु विडम्बनाको विषय भएको भन्दै उनले निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न आग्रह गरिन् ।
प्रतिक्रिया