खेलकुद ऐनबारे खेलाडी संघको लिखित सुझाव

खेलकुद ऐनबारे खेलाडी संघको लिखित सुझाव


नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले युवा तथा खेलकुद मन्त्रालयले तयार पारेको खेलकुद ऐन– २०७५ को मस्यौदामा समावेश गर्न विभिन्न बुँदा लिखित रूपमा बुझाएको छ । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत कानुन शाखामा सुझावसहितको बुँदा लिखित रूपमा बुझाएको खेलाडी संघका महासचिव शिवसुन्दर गोथेले जनाएका छन् ।

सम्पूर्ण राष्ट्रिय खेल संघहरूमा सम्बन्धित खेलमा योगदान दिएका कम्तीमा एक महिलासहित दुई खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्ने, प्रतियोगिताको वर्गीकरण गरी पदक विजेता खेलाडीलाई नियमित रूपमा के–कस्तो सेवासुविधा उपलब्ध गराउनेबारे ऐनमा प्रस्ट खुलाउनुपर्ने, राखेपअन्तर्गत सञ्चालनमा रहेको राष्ट्रिय खेलाडी कल्याणकारी कोषबारे खेलकुद ऐनमा व्यवस्था हुनुपर्ने, नयाँ पुस्ताका खेलाडीलाई खेल क्षेत्रमा आकर्षण बढाउन र अभिभावकले पनि खेल क्षेत्रमा भविष्य सुनिश्चित भएको बुझ्ने किसिमको व्यवस्था गर्नुपर्ने तथा खेलाडीको अनुभवलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने विषय ऐनमा समावेश गर्नुपर्ने सुझाव खेलाडी संघको रहेको छ ।

खेलाडी संघले अब बन्ने ऐनमा राखेपको बोर्डमा ओलम्पियन तथा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय खेलाडीमध्येबाट कम्तीमा एक महिलासहित तीन खेलाडी राख्नुपर्ने बुँदाको स्वागत गरेको छ ।