स्व. नारायणगोपालको परिवारलाई बिमा रकम हस्तान्तरण

स्व. नारायणगोपालको परिवारलाई बिमा रकम हस्तान्तरण


साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना बिमा रकम हस्तान्तरण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग इन्डोनेसियामा भएको १८औँ एसियाली खेलकुदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको बिमा गरेको थियो ।

स्व. नारायण पनि एसियाडका लागि छनोट भएका खेलाडी थिए । उनको एसियाडमा सहभागी हुनुपूर्व गत जेठ ३० गते श्रीलंकाको कोदामामा रम्बल इन जंगल– २०१८ मा प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको थियो ।

राखेपका सदस्यसचिव केशवकुमार विष्ट र एनएलजीका विभागीय प्रमुख अनल गौतमले स्व. नारायणकी आमा मैया महर्जन श्रेष्ठलाई बिमाबापतको रकम ७ लाख रुपैयाँबराबरको चेक त्रिपुरेश्वरस्थित राखेपमा हस्तान्तरण गरेका थिए ।

राखेपले एनएलजीसँग गत जेठ २४ गते इन्डोनेसिया एसियाडमा सहभागी हुने सम्पूर्ण नेपाली खेलाडीको १ वर्षका लागि बिमा गरेको थियो । यसअघि राखेपले एनएलजीसँगै भारतमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी खेलाडी र पदाधिकारीको समेत बिमा गरेको थियो ।

जेठ ३० गते मृत्यु भए पनि विभिन्न कानुनी प्रक्रिया पूरा गर्दा असार ७ गते मात्र नारायणको पार्थिव शरीर काठमाडौं ल्याइएको थियो । त्यसै दिन उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केही घन्टा राखेप हातामा राखी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

३३ वर्षको उमेरमा मृत्युवरण गरेका नारायणले आफ्नो १२ वर्षको खेल करिअरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई १४ स्वर्ण, १३ रजत र १२ कांस्य पदक जितेको नेपाल साइक्लिङ संघले जनाएको छ । स्व. नारायण अविवाहित थिए । स्व. नारायणका आमा, बुबा र दुई दिदी छन् ।

सदस्यसचिव विष्टले खेलाडी नारायणको दुःखद निधन खेलकुदका लागि पीडादायी दिन भएको बताउँदै परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरे । उनले थप सहयोगका लागि पनि राखेपले पहल गरिरहेको जानकारी गराए । विभागीय प्रमुख गौतमले परिवारले व्यहोरेको अपूर्णीय क्षतिप्रति दुःख व्यक्त गर्दै राखेपको बिमा गर्ने परिपाटीको सराहना गरेका थिए ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले राष्ट्रले खेलाडी र आमाले छोरा गुमाउनु अत्यन्तै पीडादायी क्षण भएको बताउँदै खेलाडीको बिमा गरिदिएकोमा राखेपलाई धन्यवाद दिए ।

साइक्लिङ संघको सहयोग
सो बिमा रकम हस्तान्तरण कार्यक्रममा नेपाल साइक्लिङ संघले स्व. नारायणका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले स्व. नारायणकी आमा श्रेष्ठलाई १ लाख २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । अध्यक्ष कक्षपतिले १ लाख साइक्लिङ संघबाट उपलब्ध गराइएको र बाँकी रकम अन्यबाट संकलित भएको जानकारी दिए ।