‘माफ गर्नुहोला, मैले देशको लागि पदक जित्न सकिनँ’

‘माफ गर्नुहोला, मैले देशको लागि पदक जित्न सकिनँ’


– श्रीविक्रम भण्डारी

१८औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली खेलाडीहरूको कस्तो प्रदर्शन रह्यो, त्यो घामजस्तै छर्लङ्ग छ । औँलामा गन्न सकिने एकाध खेलाडीले एउटा खेलमा विजय प्राप्त गर्नु नै नेपालको लागि ठूलो उपलब्धि बन्यो । त्यही भिडमा एउटा खेलाडी नेपालका लागि एक्लो ‘वृहस्पति’ बनिन्, जसले दुईवटा खेल जितेर पनि एसियाडमा पदक जित्न चुकिन् । उनी हुन्–करातेकी अनु अधिकारी । पहिलो खेलमा हारेर पनि पदकको लागि भिडन्त गर्ने अवसरमा पाएका खेलाडीको तुलनामा अनुको प्रदर्शन आफैंमा उत्कृष्ट थियो । अनुले पदक जित्न नसके पनि पदक जित्नको लागि उनले गरेको प्रदर्शन घमण्डले छाती फुलाउने र स्मरण गर्न योग्य छ । यसर्थमा कि नेपालका खेलाडीमध्येमा अनु मात्रै त्यस्ती खेलाडी हुन् जसले १८औँ एसियाडमा दुई खेल जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छिन् । त्यसैले अनुलाई अहिले एसियाडको सबैभन्दा सफल खेलाडीको रूपमा हेरिएको छ ।

एसियाडमा पदक नजित्ने खेलाडीको चर्चा किन, प्रश्न उठन सक्छ । प्रश्न उठनु स्वाभाविकै पनि हो, किनकि अनुले के त्यस्तो कुनै चमत्कार गरेकी छैनन्, उनी पनि नेपाल खाली हात फर्किएकी हुन् । तर, एसियाडमा सहभागिता जनाएका खेलाडीमध्ये अनु मात्रै त्यस्ती खेलाडी हुन् जो दुई खेल जितेर पनि पदकविहीन बनिन् । यो आफैँमा विडम्बना मात्र नभई अनु र नेपालको दुर्भाग्यसमेत बन्यो । एउटै खेल नजितेर पनि पदकको लागि भिडन्त गर्ने खेलाडीको तुलनामा दुईटा खेल जितेर पनि अनुले पदक प्राप्त गर्नु नसक्नु त्योभन्दा ‘ब्याडलक’ अर्को के हुन सक्छ । भाग्यले अनुलाई सफलताको लालमोहर लगाउन अझै कति समय लगाउने हो त्यो भविष्यकै गर्भमा छ । यति हुँदाहुँदै पनि अनुको आत्मविश्वासलाई कसी लगाउँदा उनले चाँडै अन्तर्राष्ट्रियस्तरमा सफलताको झण्डा गाड्न सक्ने विश्वास गर्न सकिन्छ । निकै उत्साहित मुद्रामा प्रस्तुत भएकी अनुले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा आफ्नो भाग्योदय हुने दाबीसमेत गरेकी छिन् ।

को हुन् त अनु, कसरी करातेतर्फ आकर्षित भइन् ? कथा रोचक छ । तरुण माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दा साथीहरूले कराते खेलेर आएको कुरा सुनाएपछि उनको शरीरमा नौलो रक्तसञ्चार भयो । करातेको बारेमा अनभिज्ञ अनु त्यसपछि जिज्ञासु बनेकी थिइन् । कस्तो होला यो खेल, कसरी खेल्छन् होला, म त मोटी छु, खेल्न सक्छु कि सक्तैनँ भनेर अनुको मनलाई दिनरात पिरोलेको थियो । जब उनी कक्षा ७ मा पुगिन्, कराते खेल्ने दृढसङ्कल्प गरिन् । १२ वर्षको उमेर कुनै निर्णय गर्न सक्ने क्षमता त थिएन, र पनि, आत्मविश्वास जुटाएर साथीहरूसँग लोकेसन मागेर अनु बालाजु डोजो पुगिन् । अनौठो वातावरण, सबै सेता लुगामा सजिएर डरलाग्दो आवाज निकाल्दै खेलिरहेका थिए । पहिले त डर लाग्यो, पछि कराते खेल्दा दुब्लाउने विश्वासका साथ अनु करातेमा होमिइन् । बालाजु डोजोमा गुरु ध्रुवविक्रम मल्लसँग भेट भएपछि उनको विश्वासमा नौलो उत्साह भरिएको थियो । पहिलो भेटमै मल्लले अनुलाई तिमी राम्रो खेलाडी बन्न सक्छ्यौ भनेर भविष्यवाणी गरेका थिए । त्यसपछि उत्साहित अनुले करातेलाई आत्मसात् गर्दै आफ्नो प्रशिक्षण शुभारम्भ गरिन् । परिणाम, अथक् मिहिनेत, अनुशासन र निरन्तर प्रशिक्षणका बाबजुद आज अनु करातेकी सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएकी छिन् ।

तीन वर्ष निरन्तर बालाजु डोजोमा प्रशिक्षण गर्ने क्रममा अनुले पहिलोपटक भारतको नोयडामा भएको कराते प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् । त्यो उनको विदेश गएर खेलेको पहिलो प्रतियोगिता थियो । राष्ट्रियस्तरमा भएका प्रतियोगितामा सनसनी फैलाएकी अनुले भारतमा पनि स्वर्ण पदक जितेर यसलाई प्रमाणित गरिन् । विदेशमा भएको पहिलो स्पर्धामै स्वर्ण पदक जितेपछि उनको उत्साह अरू बढ्यो । यसपछि करातेको राष्ट्रिय टिममा परेकी अनु सबैको आँखाको नानी बनिन् । १८ वर्षको उमेरमा बंगलादेशमा आयोजना भएको १२औँ सागमा प्रतिस्पर्धा गर्ने अवसर जुरेपछि निकै हौसिएकी अनुले सोहीबमोजिम प्रशिक्षण गरिन् । अनुले गरेको मिहिनेत हेर्दा त्यसबेला उनले सागमा स्वर्ण पदक जित्ने अड्कल काटिएको थियो । १२औँ सागमा अनु पनि सोचेबमोजिमकै प्रदर्शन गर्दै फाइनलमा पुगेकी थिइन् । तर दुर्भाग्य, पहिलो अफिसियल गेम, केटाकेटीपन, अनुभवको कमी, धैर्यताको कमी र नियमको अपरिपक्वताले अनु स्वर्ण पदक जित्नबाट वञ्चित भइन् । र पनि, पहिलो सहभागितामै रजत पदक जितेकोमा अनु निकै खुसी थिइन् । ५५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी अनुले पहिलो खेलमा भारत, दोस्रोमा आयोजक बंगलादेशका खेलाडीलाई पराजित गरे पनि फाइनलमा पाकिस्तानी खेलाडीसँग पराजित भएकी थिइन् ।

त्यतिबेला ५५ केजीमा खेल्ने अनु अहिले ५० केजीमा प्रतिस्पर्धा गर्छिन् । साँचो रूपमा भन्नुपर्दा हिजो उनी जति उत्कृष्ट थिइन् आज त्योभन्दा उत्कृष्ट छिन् । जुन कुरालाई उनले राष्ट्रियस्तरमा गरेको प्रदर्शनले प्रमाणित गरेको छ । अहिलेसम्म आफ्नो तौल समूहमा प्रथमबाहेक दोस्रो नभएकी अनुले छैटौँ, सातौँ राष्ट्रिय प्रतियोगिता र लुम्बिनी च्याम्पियनसिपमा जितेका स्वर्ण पदक उनको उत्कृष्टताको नमुना हुन् । यसरी राष्ट्रिय प्रतियोगितामा आफ्नो अमिट छाप छोडेकी अनुले जापानको टोकियोमा सम्पन्न वल्र्ड सितोरियो कराते च्याम्पियनसिपमा गरेको प्रदर्शन त्यत्तिकै अविष्मणीय छ । वल्र्ड च्याम्पियनसिपजस्तो करातेको सबैभन्दा ठूलो प्रतियोगितामा अनुले तीनवटा खेल जितेर सनसनी फैलाएकी थिइन् । चौथो खेलमा ग्वाटेमालाका खेलाडीसँग पराजित भएपछि अनुको वल्र्डकपमा पदक जित्ने सपना चकनाचुर भएको थियो । यसरी ‘मेडल बाउट’ अर्थात् पदकको जित्न सक्ने खेलमा पराजित हुनुपर्दाको त्यो पीडाले अहिले पनि अनुलाई सताइरहेको छ । यदि अनुले त्यो चौथो बाउट जितेकी भए फाइनलमा प्रवेश गर्ने थिइन् । दुर्भाग्य, यहाँ पनि अनुलाई भाग्यले ठगेको थियो, अब अनुको यो चित्त दुखाइको भर्पाई भोलि हुन्छ या हुँदैन त्यो अनुले गर्ने प्रदर्शनमा निर्भर गर्नेछ ।

आफ्नो १२ वर्षको खेलजीवनमा अनुले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाएकी छिन् । ती प्रतियोगितामा उनको प्रदर्शन उत्कृष्ट रहेको छ । हङकङमा भएको सितोरियो कराते प्रतियोगितामा तेस्रो स्थान हासिल गरेकी अनु सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा सम्पन्न भएको १७औँ एसियाली खेलकुदमा भने पहिलो राउन्डमै बाहिरिएकी थिइन् । त्यस्तै सन् २०१६ मा हंगेरीमा सम्पन्न वल्र्ड सितोरियो कराते च्याम्पियनसिपमा रजत पदक जितेकी उनले सोही साल थाइल्यान्डमा भएको थाइल्यान्ड ओपन करातेमा कांस्य पदक जितेकी थिइन् । प्रत्येक वर्ष आफ्नो खेलमा सुधार ल्याएकी अनुले सन् २०१७ मा जर्मनी ओपन करातेमा स्वर्ण पदक जितेर आफ्नो सफलतामा नौलो पाना थपेकी थिइन् । त्यस्तै, सन् २०१८ मा अस्ट्रेलियन ओपनमा स्वर्ण पदक जितेपछि उनी चर्चाको शिखरमा पुगेकी थिइन् । त्यसपछि अनुलाई १८औँ एसियाडमा पदकको दाबेदारको रूपमा हेरिएको थियो ।

जस्तो विश्वास गरिएको थियो, १८औँ एसियाडमा अनुले त्यस्तै शुरुवात गरिन् । पहिलो खेलमा मकाउकी खेलाडीलाई ४–१ को अन्तरले पराजित गरेर त्यतिबेलासम्म पदकविहीन बनेको नेपाललाई पदक दिलाउने मार्ग प्रसस्त गरिन् । दोस्रो खेल चाइनिज ताइपेईकी खेलाडी उनको विजयी मार्गको रोडा बनिन् । पछि यिनै ताइपेईकी खेलाडी फाइनलमा पुग्दा अनुलाई रिपाचेजको नियमअनुसार पुनः खेल्ने अवसर प्राप्त भएको थियो । यही अवसरको फाइदा उठाउँदै अनुले आफ्नो तेस्रो खेलमा लाओसकी खेलाडीलाई पराजित गर्दै पुुनः पदकको आशा जीवित पारिन् । तर, दुर्भाग्य, चौथो खेल विश्व ऱ्याङकिङमा पहिलो स्थानमा रहेकी जापानकी खेलाडीसँग अनुको भिडन्त भएको थियो । परिणाम, जापानी खेलाडीको जस्तो ऱ्याङकिङ थियो, नतिजा पनि त्यस्तै आयो, अनु पराजित हुँदै पदकविहीन बनिन् । अनुको पराजयसँगै करातेमा पदकको आशा पनि समाप्त भयो । यदि अन्य खेलाडी परेको भए अनुले पदक जित्ने निश्चित थियो । पदक जित्न नसकेपछि निकै दुःखी बनेकी अनुले भनिन्, ‘मैले देशलाई पदक दिलाउन सक्दो प्रयास गरेकी हुँ, तर सकिनँ, माफ गर्नुहोला । मलाई एकदमै दुःख लागेको छ, पदकको नजिक पुगेर पदक जित्न नसक्दाको पीडाको म बयान गर्न सक्तिनँ । त्यसको पीडा एउटा खेलाडीलाई कति भएको होला त्यो कल्पनाबाहिरको कुरा हो ।’

नेपालमा प्रशिक्षण राम्रो छ, तर विवाद छ । यो खेलकुद र खेलाडीको लागि राम्रो होइन । कहिले प्रशिक्षक त कहिले खेलाडीको विवादले खेलमा नकारात्मक प्रभाव पारिरहेको छ । खेलाडी र प्रशिक्षकलाई गेममा मात्र फोकस गर्नुपर्छ, जसले परिणाम सकारात्मक आउँछ । त्यस्तै वैदेशिक प्रशिक्षणबारे पनि कुन देशमा लाने र कस्तो ठाउँमा प्रशिक्षण गराउने त्यसबारे प्रस्ट हुनुपर्छ । साथै त्यसको सम्पूर्ण जानकारी खेलाडीलाई गराउनुपर्छ । हामीकहाँ कुनै मिसन नै छैन, प्रशिक्षण भनेको मिसनअनुसार हुनुपर्छ । मिसनअनुसार प्रशिक्षण नभएपछि कुनै पनि अफिसियल गेममा मेडल जित्न सकिँदैन । त्यसपछि मेडल जित्ने भनेको भाग्यले मात्रै हो । मलाई विश्वास छ, राम्रो र नियमित रूपमा बिनाविवाद स्वदेश र विदेशमा प्रशिक्षण भयो भने हामीले जुनसुकै अफिसियल गेममा सजिलै पदक जित्न सक्छौँ– अनुको दाबी थियो ।

ध्रुवविक्रम मल्ललाई भगवान् र दीपक श्रेष्ठलाई उत्कृष्ट प्रशिक्षक मान्ने अनुको मानसपटलमा अहिले पनि ११औँ साग ताजै छ । अनुलाई बंगलादेशमा सम्पन्न ११औँ सागमा स्वर्ण पदक जित्न नसकेको पछुतोले अहिले पनि पछ्याइरहेको छ । स्वर्ण पदक जित्न नसकेको त्यो क्षण अनुको जीवनको अविष्मरणीय पाटो बनेको छ । अनुको भनाइलाई सापटीको रूपमा राख्दा ‘यदि मैले ११औँ सागमा स्वर्ण पदक जितेको भए मेरो इतिहास बन्थ्यो, म पनि सागमा स्वर्ण पदक जित्ने खेलाडीको रूपमा चिनिन्थेँ, विडम्बना ! मलाई भाग्यले साथ दिएन । तैपनि रजत पदक जित्दा म जति खुसी थिएँ, स्वर्ण पदक जित्न नसक्दा त्योभन्दा दुःखी छु ।’ उनले भनिन्, ‘त्यसैले अबको मेरो अर्जुनदृष्टि भनेको आउँदो १३औँ सागमा स्वर्ण पदक जित्नु हो । म १३औँ सागमा स्वर्ण पदक जितेर देशलाई उपहार दिनुको साथै नेपालको झन्डा सबैभन्दा माथि फहराउने दृढसङ्कल्प गरेकी छु । जब नेपालको राष्ट्रिय गीतसँगै नेपालको झन्डा माथि फहरिनेछ, त्यसपछि मात्रै मेरो खेलजीवनको एउटा पाटो सफल भएको सम्झिनेछु ।’

अन्त्यमा अनुले गुनासो पनि पोखिन् । नेपालमा खेलाडीको भविष्य छैन, खेलकुदमा लागेर केही होला जस्तो छैन । म राम्रो खेलाडी भएर पनि खेलकुदमा भविष्य देखेकी छैन भने अरूले के सोच्छन् होला । कहिलेकाहीँ चिन्ता लाग्छ । यदि सरकारले खेलाडीहरूको भविष्यको ख्याल गर्दै सोहीअनुरूप व्यवस्था गरिदिए राम्रो हुन्थ्यो, खेलाडीहरूले आफ्नो भविष्यको चिन्ता नगरी खेल्न पाउँथे, रिजल्ट पनि राम्रो आउँथ्यो । म सोच्थेँ– राम्रो खेलाडी किन विदेश पलायन हुन्छन् भनेर ? तर वास्तविक कुरो यस्तो रहेछ, अनि विदेश पलायन नभएर के गरुन् त खेलाडीले । त्यसैले खेलाडीहरूलाई विदेश पलायन हुनबाट रोक्न सरकारले उनीहरूको भविष्यको उचित व्यवस्था गर्नुपर्छ ।