विदेशबाट फर्किएकाले व्यवसाय गर्न चाहेमा सस्तो ब्याजदरमा ऋण पाउने

विदेशबाट फर्किएकाले व्यवसाय गर्न चाहेमा सस्तो ब्याजदरमा ऋण पाउने


अब वैदेशिक रोजगारीमा गएका नागरिकले स्वदेशमा फर्किएर कुनै व्यवसाय गर्न चाहेमा त्यस्ता व्यक्तिले व्यवसाय हेरी रु. १० लाखसम्म सस्तो ब्याजदरमा ऋण पाउने भएका छन् । अर्थ मन्त्रालयले आजदेखि ल्याएको एकीकृत ब्याज अनुदान कार्यविधिले त्यस्ता नेपाली नागरिकलाई परियोजना धितोमा ऋण दिने व्यवस्था गरेको छ ।

थोरैमा ६ महिना विदेशमा काम गरेर फर्किएको र स्वदेश फर्किएको ३ वर्ष ननाघेका नेपाली नागरिकले आफूले सिकेको सीपअनुसारको व्यवसाय गर्न चाहेमा परियोजना धितोमा राखेर ऋण पाउने एकीकृत ब्याज अनुदान कार्यविधिमा उल्लेख छ ।

पाँच वर्ष कर्जा अवधि रहेको यस्तो ऋणको ब्याजदर भने बैंकले तोकेको आधार ब्याजदरभन्दा २ प्रतिशत मात्र बढी हुने बताइएको छ । जसमा ५ प्रतिशत सरकारले तिरिदिने उल्लेख छ ।

यस्तो ऋणका लागि नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थामा आवेदन दिन सकिनेछ । तर, ऋण लिँदा प्रमाणको रूपमा भिसा, पासपोर्ट, फर्किएको देशको कागज, सिकेको सीप, अनुभवको प्रमाणपत्र र विदेशी नागरिक नभएको घोषणा गर्नुपर्नेछ ।