ब्रिक्स शिखर सम्मेलन : नरेन्द्र मोदी र सी जिनपिङबीच भेटवार्ता

ब्रिक्स शिखर सम्मेलन : नरेन्द्र मोदी र सी जिनपिङबीच भेटवार्ता


रुसमा आयोजित ब्रिक्स शिखर सम्मेलनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा दुई देशका शीर्ष नेताबीच भएको कुराकानीको विवरण भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको छ ।

भारतीय विदेश मन्त्रालयले जनाएअनुसार प्रधानमन्त्री मोदीले पूर्वी लद्दाखमा एलए सीमा गस्तीसम्बन्धी सम्झौताको स्वागत गरेका थिए ।

दुई देशबीचको मतभेद एवम् विवादलाई राम्ररी समाधान गर्न अनि शान्ति र सद्भावमा खलल पार्न नहुनेमा पनि जोड दिएको मन्त्रालयले उल्लेख गरेको छ ।

भेटमा दुवै देशका शीर्ष नेताहरूले छिट्टै दुवै देशका प्रतिनिधिबीच भेटवार्ता गरी भारत-चीन सीमा समस्यामा शान्ति र सद्भावको व्यवस्थापनका सम्बन्धमा दुई देशबीचको निष्पक्ष, उपयुक्त र स्वीकार्य समाधान खोज्ने सहमति भएको छ ।

दुई देशका शीर्ष नेताहरूले दुई छिमेकी र विश्वका दुई ठूला देश भएकाले भारत र चीनबीचको स्थिर, अनुमानित र सौहार्दपूर्ण सम्बन्धले क्षेत्रीय र विश्वव्यापी शान्ति र समृद्धिमा सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिएको बताइएको छ ।