पाँच वर्षपछि मोदी र सीबीच पहिलो द्विपक्षीय वार्ता

पाँच वर्षपछि मोदी र सीबीच पहिलो द्विपक्षीय वार्ता


भारत र चीनले बुधबार (२३ अक्टोबर) द्विपक्षीय सम्बन्ध सुधार गर्न काम गर्ने सहमति गरेका छन् । यसले सन् २०२० मा विवादित सीमामा दुवै देशका सैनिकबीच भएको झडपपछि छिमेकी राष्ट्रहरूबीच सम्भावित सुधारको सङ्केत गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसमा आयोजित ब्रिक्स बैठकको अवसरमा भेटवार्ता गरेका हुन् । यो पाँच वर्षपछि दुई नेताबीचको पहिलो औपचारिक भेट हो ।

राष्ट्रपति सीले प्रधानमन्त्री मोदीलाई चीन र भारतले सहकार्य बढाउनुपर्ने बताएका चिनियाँ सरकारी मिडियाले जनाएको छ । ‘चीन र भारतले इतिहासको प्रवृत्ति र द्विपक्षीय सम्बन्धको विकासको दिशालाई सही ढङ्गले बुझ्नु दुवै देश र जनताको मौलिक हितमा छ, दुवै पक्षले सञ्चार र सहकार्य बढाउनुपर्छ, मतभेद र भिन्नताहरूलाई उचित ढङ्गले सम्हाल्नुपर्छ र एक अर्काको विकासका सपनाहरूलाई साकार पार्नुपर्छ’, चीनको सरकारी प्रसारक सिसिटिभीले सीलाई उद्धृत गर्दै भनेको छ ।

सिसिटिभिले जनाएअनुसार राष्ट्रपति सीले प्रधानमन्त्री मोदीसँग दुवै देशले ‘अन्तर्राष्ट्रिय जिम्मेवारीहरू बहन गर्नुपर्ने, एकतामार्फत शक्ति खोज्ने विकासशील देशहरूका लागि उदाहरण बन्नुपर्ने र बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धहरूको लोकतान्त्रीकरणमा योगदान पुऱ्याउनुपर्ने’ धारणा राखेका छन् ।

पारस्परिक विश्वास

मोदीले चीनसँगको सम्बन्धमा ‘पारस्परिक विश्वास’ले मार्गदर्शन गर्ने बताउँदै सीमा विवादमा भएको ‘सहमति’लाई स्वागत गरेका छन् । ‘भारत-चीन सम्बन्ध हाम्रा देशका जनताका लागि र क्षेत्रीय तथा विश्व शान्ति र स्थिरताका लागि महत्त्वपूर्ण छ’, मोदीले एक्समा लेखेका छन्, ‘पारस्परिक विश्वास, पारस्परिक सम्मान र पारस्परिक संवेदनशीलताले द्विपक्षीय सम्बन्धलाई मार्गदर्शन गर्नेछ ।’

विश्वका दुई सबैभन्दा धेरै जनसङ्ख्या भएका राष्ट्रका नेताहरूले विगत केही वर्षमा अन्तर्राष्ट्रिय शिखर सम्मेलनहरूको अवसरमा छोटो भेटघाट गरेका थिए । सन् २०१९ अक्टोबरमा सी भारतको महाबलीपुरम शहरमा मोदीसँग भेट्न आएको बेला पछिल्लो पटक आमने-सामने औपचारिक वार्ता भएको थियो ।

केही महिनापछि सन् २०२० मा उच्च हिमाली क्षेत्र लद्दाखमा रहेको विवादित सीमामा भएको झडपमा कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएपछि सम्बन्ध बिग्रिएको थियो ।

चीन र भारत कट्टर प्रतिद्वन्द्वी हुन् र दुवैले एक अर्कालाई वास्तविक नियन्त्रण रेखा (एलएसी) भनिने अनौपचारिक विभाजन रेखावरिपरिको क्षेत्र कब्जा गर्न खोजेको आरोप लगाउँदै आएका छन् ।

त्यसयता दुवै पक्षले दशौँ हजार सैनिक फिर्ता गरेका छन् र साँघुरो विभाजन पट्टीमा गस्ती नपठाउने सहमति गरेका छन् । तर भारतले सोमबार चीनसँग ‘गस्ती व्यवस्थाबारे सहमति’ भएको जनाएको छ । यसले सैन्य गतिरोधलाई कम गरेको छ ।