फुल कन्ट्याक्ट करातेमा हरि च्याम्पियन

फुल कन्ट्याक्ट करातेमा हरि च्याम्पियन


आईएफकेकेका हरि दनुवार प्रथम राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ६० केजीमा च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा हरिले आईकेकेएफका बलराम घिसिङलाई पराजित गरेका हुन् । आईएफकेकेका रमेश दनुवार तेस्रो भए ।

इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) द्वारा आयोजित प्रतियोगिताको पुरुष ५५ केजीमा क्योकुसिन बज्रका महेश भुजेलले स्वर्ण जिते । उनले फाइनलमा आईकेएफएफ जोरपाटीका आङनिमा शेर्पालाई पराजित गरेका थिए । सो स्पर्धामा क्योकुसिनका काजु लामा तेस्रो भएका थिए ।

पुरुष २५ केजीमा धिकी तामाङ पहिलो, सुदीप लामा दोस्रो र समीर लिम्बू तेस्रो भएका थिए । शीर्ष तीन स्थान हात पार्ने सबै आईकेकेएफ जोरपाटीका हुन् । पुरुष ३५ केजीमा एयरपोर्ट डोजाका अनमोल माझीले शीर्ष स्थान हात पारे । उनले फाइनलमा सो क्योकुसिनका त्रिलोक ब्लोनको चुनौती समाप्त पारेका थिए । सो क्योकुसिनकै सुजन तामाङले तेस्रो स्थानमा चित्त बुझाए ।

महिला ४५ केजीमा एपीएफकी दीपा शाहीले स्वर्ण चुमिन् । फाइनलमा दीपाले आईएफकेकेकी श्रेया राईलाई पाखा लगाइन् । आईएफकेकेकी सरस्वती बोहरा तेस्रो भइन् ।

विजेतालाई प्रदेश सांसद रत्नप्रसाद ढकाललगायतले पुरस्कृत गरेका थिए । त्यसअघि प्रतियोगिताको नेपाल क्योकुसिन कराते संघ बज्रका अध्यक्ष जगतप्रसाद गौचनले उद्घाटन गरेका थिए । एकदिने प्रतियोगितामा ५३ खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।