नक्कली भूकम्पपीडितले लिएको रकम असुल गरिन्छ : ज्ञवाली

नक्कली भूकम्पपीडितले लिएको रकम असुल गरिन्छ : ज्ञवाली


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्ता लिएर घर नबनाउने र नक्कली भूकम्पपीडित भएर पैसा लिनेलाई चाँडै कारबाही थालनी गर्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित वडा कार्यालयमा आयोजित अन्तरक्रियामा ज्ञवालीले पैसा लिएर काम नगर्ने र एकै परिवारमा तथा एक ठाउँमा पक्की घर भई अर्को ठाउँको घर भत्केकाको पैसा लिएर बसेकालाई एउटा विधि बनाएर कारबाहीको थालनी गर्ने तयारी भइरहेको बताए । ‘त्यस्ता व्यक्तिलाई एक महिनाका लागि इमानदारीका साथ पैसा फिर्ता गर्न प्राधिकरण र स्थानीय तहमार्फत आग्रह गरिरहेका छौँ,’ उनले भने, ‘त्यो समयभित्र पनि फिर्ता नगरे नियमअनुसार असुलउपर गर्ने र त्यस्ता व्यक्तिले स्थानीय तह र केन्द्रीयस्तरको राज्यबाट पाउने सेवा सुविधा रोक्का गर्नेछौँ ।’

सो अवसरमा वडाध्यक्ष वसन्तबहादुर रानाभाटले पैसाकै कारण अझै घर बनाउन नसकेको समस्या रहेको बताए । वडा नं. ९ का नेपाली कांग्रेसका प्रतिनिधि राजेश हुमागाईंले लाभग्राहीमा नाम निस्केका सुकुम्बासीले अहिलेसम्म घर बनाउन नपाएको, कसैको घर पक्की नै भए पनि नाम निस्केको र कसैको घर भत्केर बस्न नै नहुनेको नाम ननिस्केकोलगायतका समस्या रहेको बताए ।

सो वडामा एक हजार १६० जना लाभग्राही रहेकामा ९६७ ले पहिलो किस्ता, ५५५ जनाले दोस्रो किस्ता र २२२ जनाले तेस्रो किस्ता तथा १४८ जनाले घर सम्पन्न गरिसकेको इन्जिनियर विनिता श्रेष्ठले जानकारी दिइन् ।