को–को पर्दै छन् ‘छब्बीस मनोनयन’भित्र ?

को–को पर्दै छन् ‘छब्बीस मनोनयन’भित्र ?


othernewsसंविधानसभाको छब्बीस रिक्त स्थान पूर्तिका लागि नेपाली काङ्गे्रसको उच्च तहमा आन्तरिक परामर्श सुरु भएको छ । छब्बीस सिटमा काङ्गे्रस, एमाले, एमाओवादी र राप्रपा नेपालबीच भागबन्डा हुने सम्भावना रहे पनि सरकारले दलहरूसँग औपचारिक तवरमा छलफल गरेको छैन । संविधानमा छब्बीस स्थान पूर्तिका लागि दलीय भागबन्डा गर्नुपर्ने या दलको सदस्य हुनुपर्ने प्रावधान छैन । बरु राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु-याएका, विज्ञ र संविधानसभामा प्रतिनिधित्व गर्न छुटेका कुनै आदिवासी र जनजाति समुदायका व्यक्तिलाई सरकारले मनोनीत गर्नुपर्ने स्पष्ट व्यवस्था संविधानले गरेको छ । तर, संविधानले जस्तोसुकै व्यवस्था गरेको भए पनि सभासद्हरूको चयन भागबन्डाकै आधारमा हुने सम्भावना बढी छ । यसै साताको प्रारम्भमा सत्तारुढ दलहरूको उच्च तहमा यस विषयलाई लिएर सामान्य छलफल पनि भएको छ । भागबन्डा भएमा काङ्गे्रसको बढीमा दश, एमालेको आठ, एमाओवादीको चार र राप्रपा नेपालको बढीमा दुई स्थानसम्म हुनसक्ने बुझिएको छ । काङ्गे्रसमा सम्भावित सभासद्का रूपमा मजदुर नेता लक्ष्मण बस्नेत, वरिष्ठ पत्रकार हरिहर विरही, अधिवक्ता शेरबहादुर केसी, शिक्षासेवी डा. सुरेशराज शर्मा र तेह्रथुमका गणेश विमली तथा काङ्गे्रसभित्र लोकप्रिय मानिएका नेताहरू दीपकुमार उपाध्याय र लक्ष्मणप्रसाद घिमिरे तथा तारिणीदत्त चटौतको नाम विशेष रूपमा लिन थालिएको छ । त्यसैगरी दिलेन्द्रप्रसाद बडू र चुनावी सरकारका मन्त्री शङ्करप्रसाद कोइरालाले पनि संविधानसभामा बस्ने चाहना राखेका छन् र प्रधानमन्त्री कोइराला शङ्करलाई सभासद् बनाउन बढी इच्छुक हुनुभएको बताइन्छ । तर, शङ्कर कोइरालाले भने सभासद् नभए आफूलाई ‘अमेरिकाको लागि राजदूत बनाइदिए पनि हुने’ माग प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्नुभएको बुझिएको छ । राष्ट्रपति डा. रामवरण यादवले डा. सुरेशराज शर्मा र रामेश्वर खनालजस्ता मानिसलाई सभासद् बनाउनुपर्ने सुझाव सम्बन्धित पक्षलाई दिएको जानकारीमा आएको छ । खनालले आफू ‘छब्बीसभित्र’ परेर सभासद् बन्न नचाहेको जानकारी काङ्गे्रस नेताहरूलाई दिँदै आएका छन् । उता काङ्गे्रसका एकथरी नेताहरूले चाहिँ प्रजातन्त्रवादी वकिलहरूको एउटा बेग्लै समूहको अध्यक्ष बनेका गोपालकृष्ण घिमिरेलाई सभासद् बनाउन दबाब सिर्जना गरिरहेका छन् । काङ्गे्रसले संविधानसभामा प्रतिनिधित्व हुन बाँकी आदिवासी–जनजाति समुदायका मानिसको खोजी गरिरहेको छ । संविधानसभामा अति पिछडिएका राउटे, चेपाङ, बराम, हायु र थामी समुदायबाट प्रतिनिधित्व हुन सकेको छैन । तर, ती समुदायबाट प्रतिनिधित्व गर्न सक्ने कुनै व्यक्ति अहिलेसम्म काङ्गे्रसले फेला पार्न सकेको छैन ।

विप्लवलाई पन्छाउन खोज्दा दुई चिरा बन्दै माओवादी
पौने दुई वर्षअघि मात्र प्रचण्डबाट छुट्टिएको नेकपा–माओवादीमा पुनः फुटका सङ्केतहरू देखिएका छन् । नेताहरू सीपी गजुरेल, पम्फा भुसाल, देव गुरुङ, रामबहादुर थापा बादल र हितमान शाक्यलगायतले नेता नेत्रविक्रम चन्द विप्लवलाई कमजोर पार्दै जाने नीति लिएपछि उक्त पार्टीमा पुनः विभाजनको सम्भावना बढेको हो । खासगरी काठमाडौं उपत्यका र आसपासका जिल्लामा चन्दको प्रभाव कटौतीको प्रयास हुँदै आएको छ र उपत्यकाका जिल्लाहरूमा हुने पार्टीका कार्यक्रममा चन्दलाई अतिथिका रूपमा समेत सहभागी गराउने नगरिएको बताइन्छ । विप्लवविरोधी टोलीकै कारण भक्तपुर माओवादीमा विभाजन आइसकेको छ । गत ९ गते (चैत ९, २०७०) भक्तपुरको जिल्ला अधिवेशन सम्पन्न गर्ने क्रममा त्यहाँ उपस्थित नेता सीपी गजुरेलले अनावश्यक हस्तक्षेप गरी विप्लवसमर्थकहरूलाई पाखा लगाउने चाल चलेपछि भक्तपुर माओवादीको दुई अलग–अलग समितिहरू बनेका हुन् । प्राप्त जानकारीअनुसार अधिवेशनमा सीपी गजुरेल र पम्फा भुसाललगायतका नेताहरू अतिथिका रूपमा सहभागी भएका थिए । अधिवेशनले २९ सदस्यीय जिल्ला कार्यसमिति रहने गरी २५ सदस्यको नाम प्रस्ताव गरेको थियो । प्रस्तावित नामलाई सभाले अनुमोदन गरेपछि तीमध्येबाट पदाधिकारीहरू चयन गर्नुपर्ने थियो । जिल्ला सचिवमा देवेन्द्र श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन भइसकेपछि सहसचिव दुई, सत्ता प्रमुख (जनसरकार प्रमुख) एक र युवा प्रमुख दुईको पनि तत्कालै चयन हुनुपर्ने थियो । नेता गजुरेलले हस्तक्षेप गरी सचिवबाहेक अन्य पदाधिकारी चयन हुन दिनुभएन । दिलीप प्रजापतिले प्रस्ताव गरेको पच्चीसजनाको प्यानल (नामावली) मा पूर्वसचिव तिलक मल्लसहित पन्ध्रजना नेत्रविक्रम चन्दसमर्थक परेका थिए । विप्लवका मान्छे बढी परेको सुइँको पाएपछि गजुरेलले पदाधिकारी चयन तत्काल नगर्ने अडान लिनुभएको र आवश्यक पदाधिकारीको चयनबिना नै अधिवेशन सम्पन्न गर्न खोजिएपछि तिलक मल्ल आफ्ना समर्थकहरूलाई लिएर अधिवेशनबाट बाहिरिएका थिए । मल्लले सबै पदाधिकारी तत्काल चयन गर्न राखेको मागको बेवास्ता गरिएपछि तिलक मल्ल समर्थकहरूलाई लिएर बाहिरिएको बताइन्छ । त्यसलगत्तै तिलक मल्लको संयोजकत्व (सचिव) मा एकाउन्न सदस्यीय जिल्ला समिति घोषणा गरिएको छ । तिलकको नेतृत्वमा विप्लवसमर्थकहरूको बेग्लै समिति घोषणा भए पनि देवेन्द्र श्रेष्ठको नेतृत्वमा गजुरेल पक्षको समिति यथावत् राखिएको छ । यसरी भक्तपुरमा माओवादीका दुई अलग–अलग समिति अस्तित्वमा आएका छन् । उता काठमाडौं र ललितपुरका सचिव पनि विप्लवसमर्थकहरू रहेकोले गजुरेल पक्षले नेतृत्व परिवर्तनको कसरत गरेको बुझिएको छ । काठमाडौंको सचिवमा पुराना नेता ईश्वरी दाहाल र ललितपुरमा मोहन कार्की जीवन्त रहेका छन् । दुवै विप्लवसमर्थक भएकोले नेतृत्वबाट पन्छाउन गजुरेल पक्षले आन्तरिक गृहकार्य गरिरहेको बुझिएको छ । काठमाडौंको जिल्ला अधिवेशन यही चैत १६, १७ र १८ गते तथा ललितपुरको चैत २२ गते गरिने भएको छ । ललितपुरमा गजुरेल पक्षले राजकाजी महर्जनलाई सचिव बनाउने तयारी गरेको छ भने काठमाडौंमा सुरेश श्रेष्ठलाई अगाडि सारेको छ । भक्तपुरमा झैं ललितपुर र काठमाडौंमा पनि विप्लवसमर्थकहरूलाई पाखा लगाउन खोजिए यी जिल्लाहरूमा पनि बेग्लै समितिहरूको घोषणा हुनसक्ने सम्भावना रहेको छ । यसरी माओवादीमा दुई विचार समूहबीच मतभेद अस्वाभाविक बन्दै गएपछि आगामी असारमा हुने भनिएको राष्ट्रिय सम्मेलनसमेत प्रभावित हुनसक्ने देखिएको छ । संविधानसभाको गत निर्वाचनदेखि दुई पक्षबीच चर्किएको विवाद समयमै सुल्झाउन नसक्ने हो भने आगामी राष्ट्रिय सम्मेलनबाट माओवादीमा विभाजन आउनसक्ने सम्भावना छ । नेत्रविक्रम चन्द विप्लव निर्वाचनको सशक्त बहिष्कार गरी चुनाव बिथोल्ने पक्षमा हुनुहुन्थ्यो भने गजुरेल पक्षमाथि प्रचण्ड र एमाओवादीलाई सिध्याउन मात्र ‘बहिष्कारको उपयोग’ गरेको बात लागेको छ । विप्लव प्रचण्डसँग अलग्गिनुको औचित्य पुष्टि गर्ने व्यवहार पार्टीबाट नभएकोमा असन्तुष्ट हुनुहुन्छ र पार्टीलाई यस्तै अवस्थामा राख्नुभन्दा प्रचण्डसँग एकता गर्नु नै उपयुक्त हुने धारणा राख्नुहुन्छ । छलछामपूर्ण तरिकाले एमाओवादीसँग एकता गर्न खोजिएको विप्लवको आरोप छ र एकता गर्ने हो भने खुलस्थ ढङ्गले आपसी परामर्श गरेर मात्र अघि बढ्नुपर्ने उहाँको धारणा छ । माओवादीमा दुई पक्षबीचको सम्बन्ध असामान्य बने पनि अध्यक्ष मोहन वैद्य किरणप्रति भने दुवै थरीको आस्था र भरोसा कायम रहेको देखिन्छ । वैद्य दुवै समूहप्रति निरपेक्ष रहे पनि उहाँको कमजोर भूमिकाप्रति दुवैले असन्तुष्टि जाहेर गर्ने गरेका छन् । माओवादीसँग एकता गर्न प्रयासरत प्रचण्ड विप्लवसहितको एकताका पक्षमा रहनुभएको बताइन्छ । विप्लवबिनाको पार्टी एकता निरर्थक हुने विश्वास प्रचण्डको रहेको, तर गजुरेल पक्ष पार्टी एकता भए पनि विप्लवको राजनीतिक हैसियत कमजोर हुने गरी गर्नुपर्ने पक्षमा रहेको बुझिएको छ ।

फेरि शक्तिशाली बन्न प्रचण्डको कसरत
संविधानसभा चुनाव परिणामले सख्त घाइते बनाएपछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा आफ्नो प्रभाव कायम राख्न बृहत् वामपन्थी मोर्चा निर्माणको कसरत गर्न थाल्नुभएको छ । उहाँले एकातिर करिब दुई वर्षअघि अलग्गिएको नेकपा माओवादीसँग एकता गर्ने प्रयास गरिरहनुभएको छ भने अर्कोतिर सबै वामपन्थीलाई समेट्नुपर्ने राष्ट्रिय खाँचो रहेको भन्दै भित्रभित्रै आफ्नो दौडधुपलाई तीव्रता दिनुभएको छ ।
प्रचण्डले वामपन्थी शक्ति एक नभएसम्म मुलुकले निकास नपाउने र जनआन्दोलनबाट प्राप्त हकअधिकार स्थापित नहुने वामपन्थी नेताहरूसँगको भेटमा बताउँदै आउनुभएको छ । अध्यक्ष प्रचण्डको आफ्नो पहलमा वामपन्थी एकता गराउन सफल भए नेपाली राजनीतिमा आफ्नो प्रभाव कायम रहनुका साथै राष्ट्रिय राजनीतिलाई आफूअनुकूल मोड्न सकिने उद्देश्य रहेको बुझिन्छ । यसका लागि प्रचण्डले नेकपा एमाले, नेकपा माओवादी, नेकपा मसाल, संयुक्त जनमोर्चा, नेकपा संयुक्तलगायतका कम्युनिस्ट पार्टीका नेतासँगको छलफल र भेटघाटलाई तीव्रता दिनुभएको छ । तर, एमालेले प्रचण्डको प्रस्ताव सकारात्मक भए पनि अहिले सम्भव नभएको प्रतिक्रिया दिएको बताइन्छ ।
एमालेसँगको छलफल सकारात्मक नभए पनि उहाँले सके पार्टी एकता नभए वाम एकता गर्नुपर्ने भन्दै सशस्त्र द्वन्द्वमा सहभागी भएका तर विभिन्न कालखण्डमा विभाजित भएका पार्टीका पुराना नेताहरूसँगको छलफल अघि बढाउनुभएको हो । पार्टी एकताकै मुद्दालाई प्राथमिकतामा राख्दै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसँग गरिएको पटक–पटकको छलफल सकारात्मक बन्दै दुई पार्टी तत्काल आन्दोलनमा सहकार्य गरेर जाने सहमति बनेपछि थप उत्साहित बन्नुभएका प्रचण्डले सोही विषयमा नेकपा माओवादीका संयोजक मातृका यादवसँग तीनपटकभन्दा बढी छलफल गरिसक्नुभएको बताइन्छ । दुईपटक ललितपुर र एकपटक नयाँ बानेश्वरमा यादवसँग भएको भेटमा प्रचण्डले पार्टी एकताको प्रस्ताव नै गर्नुभएको बुझिएको छ । तर, यादवले तत्काल पार्टी एकता नहुने, तर दुई पार्टी सहकार्य गर्दै अघि बढ्दा उपयुक्त हुने प्रस्ताव राख्नुभएको थियो । भेटमा प्रचण्डले यादवसँग भनेका थिए, ‘पहिले हामी (प्रचण्ड र यादव) दुवैजनाबाट गल्ती, कमी–कमजोरी भएका थिए, अब त्यसलाई सच्याएर अगाडि बढौँ, हामी एक भएर अघि बढ्न सकियो भने प्रमुख शक्ति बन्छौँ र देशलाई निकास दिन्छौँ ।’ स्रोतका अनुसार उहाँहरूबीच भएको पटकपटकको भेटमा यसअघि भएका कमजोरीबाट आत्मालोचित हुँदै आगामी दिनमा कसरी अघि बढ्न सकिन्छ भन्नेसम्मको छलफल भएको बताइन्छ । कसैले कसैलाई सिध्याउने नभई छरिएर रहेका सबै माक्र्सवादी शक्ति एक भएर आफूभित्र रहेका गैरमाक्र्सवादी प्रवृत्ति त्यागी अघि बढ्न तयार भएर छलफल थाल्नुपर्ने सुझाव प्रचण्डलाई दिँदै यादवले वर्तमान अवस्थाबारे साझा निष्कर्ष निकालेर तत्काल मोर्चा बनाई अगाडि बढ्दा उपयुक्त हुने सुझाउनुभएको थियो । प्रचण्ड निकट नेताका अनुसार एमाओवादी र यादवबीचको भेट सफलताको निष्कर्षमा पुगिसकेको र छिट्टै सहकार्यसहित संयुक्त कार्यक्रम गर्ने सहमति बन्न सक्छ । स्रोतका अनुसार उनीहरूबीच साझा आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गर्ने तयारी पनि भएको छ, तर त्यसको टुङ्गो भने लागिसकेको छैन । सरकारले सशस्त्र द्वन्द्वकालका मुद्दा ब्युँताउँदा दुवै पक्षका नेता कार्यकर्ता फस्ने, तत्काल स्थानीय निकाय निर्वाचन गराउँदा आफूहरू हारिने, काङ्ग्रेस–एमालेले बहुमतिबाट संविधान जारी गर्न सक्ने, त्यसरी जारी गरिने संविधानमा आफूहरूले उठाएका एजेण्डा समावेश नहुनेजस्ता खतरा औँल्याउँदै त्यसविरुद्ध गरिने साझा आन्दोलनमा सहकार्य गर्न सकिनेमा सहमतिनजिक भएका हुन् । यसैगरी क्रान्तिकारी कम्युनिस्ट केन्द्रका महासचिव मणि थापासँग पनि प्रचण्डले वाममोर्चा निर्माणसहित पार्टी एक–आपसमा सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो देखिएको भन्दै सहकार्यका लागि आग्रह गर्नुभएको छ । हामी विभाजित भएर अघि बढ्दा अरूले फाइदा लिएको, हामीले उठाएका मुद्दा निष्प्रभावी बन्दै गएको भन्दै प्रचण्डले आफूहरूबीच एकताको खाँचो औल्याउनुभएको थियो । प्रचण्डसँगको भेटमा थापाले आफूहरू आन्दोलनमा सहकार्य गर्न तयार रहेको, तर त्यसका लागि एमाओवादी निहित स्वार्थबाट माथि उठ्दै पुरानै मुद्दामा फर्कनुपर्ने विचार राख्नुभएको बताइन्छ ।
यसैबीच एमाओवादीले पार्टी एकीकरणका लागि वार्ता संयोजक समितिसमेत बनाउने मौखिक सहमति भएको बताइन्छ । तर, समितिमा को रहने भन्ने टुङ्गो लागेको छैन । प्रचण्डले नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दसँग पनि छुट्टै छलफल गर्नुभएको छ । माओवादीमा नेत्रविक्रम एकताका पक्षधर नेताको रूपमा चिनिन्छन् । त्यसैले प्रचण्डले चन्दलाई विशेष महत्व दिएर भेट गर्दै आएका छन् ।

एमालेलाई लाग्यो महाधिवेशन
नेताहरू समूहगत बैठकमा केन्द्रित
पार्टीको नवौँ महाधिवेशन एकताको महाधिवेशन बनाउने उद्घोष गरे पनि एमालेका शीर्ष नेताहरू महाधिवेशनलाई नै लक्षित गर्दै गुटगत गोप्य भेला तथा बैठक गर्नमा केन्द्रित भएका छन् । त्यसरी केन्द्रित भएको गोप्य बैठक आगामी महाधिवेशनबाट आफ्नो पक्षमा परिणाम ल्याउन कसरी सकिन्छ भन्नेमा केन्द्रित रहेको छ । पार्टीले महाधिवेशनको मिति तय गरेसँगै अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली तथा उपाध्यक्ष वामदेव गौतम पक्षका नेताहरू गोप्य बैठकमा केन्द्रित भएका हुन् । यसरी बसेका बैठकमा एउटाले अर्को गुटभित्रका मान्छे कसरी तान्ने, कसलाई कुन जिम्मेवारी दिने भन्नेमा केन्द्रित रहेको एक केन्द्रीय नेताले जानकारी दिए । ‘अहिले पार्टीका शीर्ष नेताहरू आफूनिकट भेला तथा बैठकमा केन्द्रित भएका छन्,’ ती नेताले भने, ‘यसका लागि पार्टीका शीर्ष नेताले आफूनिकट दोस्रो तहका नेताहरू सक्रिय गराएका छन् ।’ स्रोतका अनुसार अध्यक्ष खनाल तथा नेपालले सुरेन्द्र पाण्डे, धनश्याम भुसाल र योगेश भट्टराईलगायतका नेताहरू सक्रिय गराएका छन् । यता, ओली–गौतमले भने, महासचिव ईश्वर पोखरेल, विष्णु पौडेललगायतका नेतालाई सक्रिय गराएका छन् । पार्टीमा ओली संसदीय दलको चुनावमा बनेको आफ्नो गुट कायम राखेर यसलाई थप बलियो बनाउँदै महाधिवेशनबाट अध्यक्ष बन्ने योजनामा छन् भने वरिष्ठ नेता नेपाल अध्यक्ष खनालको सहयोगमा अध्यक्ष बन्ने योजनामा छन् । स्रोतका अनुसार वरिष्ठ नेता नेपालले आफूनिकट तथा ओलीनिकट नेताहरूलाई आफ्नै निवासमा बोलाएर पटकपटक छलफल गरेका छन् । यता ओलीनिकट नेताहरूले भने मदन भण्डारी फाउन्डेसनलाई आफ्नो सम्पर्क कार्यालय बनाएरै छलफल अगाडि बढाइरहेका छन् । तर, यसलाई एमालेले स्वाभाविक मान्दै छलफल महाधिवेशन केन्द्रित भएकोले त्यसलाई अन्यथा लिन नहुने बताउँदै आएको छ । एमाले सचिव युवराज ज्ञवालीले महाधिवेशनको तयारीका क्रममा पार्टी नेताले आफूनिकट नेताहरूबीच छलफल गर्नुलाई स्वाभाविकै मान्नुपर्ने बताए । ‘यसलाई गुटगत बैठक भन्न मिल्दैन,’ उनले भने, ‘तर, छलफल पार्टीको हितमा केन्द्रित हुनुपर्छ ।’ पार्टी गुट र समीकरणभन्दा पनि नेतृत्वका आधारमा चल्नुपर्नेमा जोड दिँदै ज्ञवालीले भने, ‘हामी गुटलाई भन्दा विचारलाई महत्व दिन्छौँ र त्यो छलफलबाटै प्राप्त हुन्छ ।’
एमालेका अर्का नेता घनश्याम भुसालले आफूहरू गुटगत छलफलमा नलागेको जानकारी दिँदै विचारशून्य भएकाहरू मात्र गुटगत छलफलमा लाग्ने बताए । उनले भने, ‘पार्टीमा विचारशून्य भएकाहरू गुटगत बैठक भेला बनाउन केन्द्रित हुन्छन्, केही साथीहरू गुटगत छलफलमा लागेको सुनेको छु, तर यसले पार्टी हितमा काम गर्दैन, पार्टीलाई बद्नाम मात्र गराउँछ । हामी विचारलाई स्थापित गराउनुपर्छ भन्ने अभियानमा छौँ, यसै विषयमा बहस र छलफल चलाइरहेका छौँ ।’ एमालेले आफ्नो नवौँ महाधिवेशन जेठ २४ गतेबाट राजधानीमा गर्ने निर्णय गरिसकेको छ ।

दरबारको सम्पत्तिबाट अर्बपति बनिन् नन्दा
नेपाल सरकारअन्तर्गत रहेको नेपाल ट्रस्टको कार्यालयमा जम्मा हुनुपर्ने सामान कुनै व्यक्तिको घरमा पु-याएर बिक्री–वितरण भइरहेको सुन्दा झट्ट पत्यार नलागे पनि एक साधारण व्यक्तिले अल्पअवधिमै ‘आर्जन गरेको’ सम्पत्तिलाई हेर्दा त्यो सत्य भएको मान्नुपर्ने अवस्था आएको छ ।
दोस्रो जनआन्दोलनको सफलतापश्चात् गठन भएको पहिलो संविधानसभाले नेपालबाट राजतन्त्र र संस्था दुवैको खारेज गरेपछि झन्डै अढाई सय वर्षको राजगद्दी छाडेर जाँदा राजा ज्ञानेन्द्रको ओठमा गहिरो चिन्तामिश्रित ‘मुस्कान’ थियो, तर वर्षौं राजाको स्याहारसुसारमा रहेका कतिपय कर्मचारी भने एकाएक अर्बपति बन्ने सपनाले त्यतिबेलै ‘वास्तविक हाँसो’ हाँसिरहेका थिए ।
जानकारीअनुसार राजाले राजगद्दी त्याग गर्नु हप्तादिनअगाडिदेखि नै दरबारबाट अर्बौंको सामान बाहिरिएको चर्चा चलेको थियो । त्यतिखेर गरिएको चर्चा अहिले आएर सत्यतामा परिणत भएको छ । तात्कालिक राजा ज्ञानेन्द्रको नारायणहिटी दरबारबाट बहिर्गमन हुने बेलामा बाघ, मृगलगायत वन्यजन्तुका छाला, हात्ती, बाघ, जरायोलगायतका जन्तुका हड्डी, अङ्ग–प्रत्यङ्ग, रुद्राक्षलगायत सुनका इँटाहरू चारवटा गाडीमा लगेर बाहिरै थन्क्याइएको थियो । दुई ट्रक चाँदीमध्ये एक ट्रक छाउनी र एक ट्रक निर्मलनिवासमा थन्क्याइएकोसमेत स्रोत बताउँछ । नेपाल ट्रस्टमा जानुपर्ने ती सामान चोरी गरेर लगिएको बताइन्छ । ती चोरीका सामानबाट ०६२ सालसम्म देशभर एक आना पनि जग्गा नभएकी र बैंकमा समेत उल्लेख गर्नलायकको रकम नभएकी एक पूर्वदरबारिया कर्मचारी महिला एकाएक अर्बपतिको कोटिमा पुगेकी छिन्, तर उनको विषयमा कहीँकतैबाट अनुसन्धान भने भएको छैन ।
प्राप्त समाचारअनुसार दैलेख जिल्लामा जन्मिएकी नन्दा मल्ल भन्ने अविवाहित महिला नेपाल ट्रस्टमा जम्मा हुने सम्पत्तिको अवैध बिक्री–वितरणबाट यतिखेर अर्बपति भएकी हुन् । ०५६ साल असार ३ गतेको निर्णयअनुसार भन्दै कर्मचारीको नाताले काठमाडौंबाट नागरिकता प्राप्त गरेकी नन्दाको ना.प्र.नं. ३०४५ उल्लेख गरी एक प्रशासकीय अधिकृतले सहीछाप गरेर नागरिकता लिएको देखिन्छ । दैलेख जिल्ला बालुवाटार गाविस वडा नं. २ बाबु डिलबहादुर मल्ल ठकुरी जन्ममिति २०३३÷०८÷०५ भनेर लेखिएको नागरिकता प्राप्त गरेकी नन्दाको यतिखेरको तामझाम र सम्पत्ति देख्नेहरूले जिब्रो टोक्ने गरेका छन् । राजा ज्ञानेन्द्रको बहिर्गमनपछि दरबारकी साधारण कर्मचारी नन्दाको घरमा केही समयदेखि बंगलादेशको दूतावास बसेको बताइन्छ । नन्दा यतिखेर त्यही घरको नजिकै अर्का दुईवटा घर खरिद गरेर बसेकी छिन् । दरबारबाट त्यतिखेर चोरी भएका सामानहरू अहिले बसुन्धरा चोकमा करिब ११ आनामा बनेका तीनवटा घरबाट बिक्री भइरहेको स्रोत बताउँछ । दरबारकै उच्च व्यक्तिको मिलेमतोमा चोरी गरिएका सामान बिक्रीबाट प्राप्त सम्पत्ति मल्लले आफ्ना सहोदर भाइ, बहिनी र आफ्नै नाममा राखेको बुझिएको छ । यति मात्र नभएर चन्दाको चपली गाविस वडा नं. ३ मा करिब २३ रोपनी जग्गामा बनाइएका ६ वटा घर छन् । जुन घरमा सेन्टजेभियर्स एकेडेमी इङ्लिस स्कुल भाडामा रहेको छ । खाली रहेको उक्त जग्गामा अहिले साततले करिब ४० हजार स्क्वायर फुटको घर निर्माण भइरहेको पनि स्रोत बताउँछ । राजा ज्ञानेन्द्रले दरबार छाड्दासम्म साधारण यातायातमा यात्रा गर्ने मल्लको अहिले भने टोयटा कार, जिप र ल्यान्डक्रुजर गरी तीनवटा गाडी रहेका छन् । सुनको इँटा चार बाकसलगायत करोडौँको सम्पत्ति यसरी तिनै मल्लका हातमा पुगेको बताइए पनि कुन उच्च स्रोतले उनलाई विश्वास ग-यो र यो सम्भव भयो, त्यो भने बुझिएको छैन ।
६–सात वर्षअघिसम्म साधारण जीवन बिताएकी मल्लको सम्पत्तिका बारेमा अन्य कोही जानिफकार नभए पनि तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी एवम् वर्तमान सम्पत्ति शुद्धीकरण आयोगका प्रमुख चूडामणि शर्मा भने राम्रैसँग जानकार मानिन्छन् । काठमाडौं प्रजिअ हुँदादेखि नै मल्ल र शर्माबीच राम्रै हिमचिम बढेको बताइन्छ । अहिले सम्पत्ति शुद्धीकरणमा मल्लको सम्पत्ति छानबिनका लागि एक निवेदन दर्ता भए पनि शर्माले त्यसउपर ध्यान नदिनु र छानबिन नगर्नुले पनि उनीहरूको नियत छर्लङ्ग हुन्छ । ०७०÷०५÷०२ गते दर्ता नं. २६० रहेको उक्त निवेदनलाई चूडामणिले कार्यान्वयन गर्नु त परै जाओस् ध्यानसमेत दिएका छैनन् । मल्ल र शर्माको घर पनि नजिकै पर्ने भएकोले शर्माले मल्लबाट राम्रै फाइदा लिएको अनुमान गरिन्छ । मल्लको कारोबार र उनले प्राप्त गरेको समानका बारेमा उच्च सुरक्षा निकायका केही व्यक्तिहरूसमेत थाहा पाएर पनि मौन छन् । एयरपोर्टबाट पाँच तोला सुन कसैले ल्याउँदा आँखा लगाउने निकाय र झिना–मसिना कुराहरूमा समेत आँखा गाड्ने अपराध अनुसन्धान ब्युरो (सीआईबी) समेत मौन रहनुमा नन्दालाई राम्ररी चिन्नेहरूले अचम्म मान्ने गरेका छन् ।
काठमाडौं प्रहरी परिसरका यसअघिका प्रमुखलाई समेत राम्रै लाभ दिलाइदिने मल्लको यतिखेर दरबारबाट ल्याएका सामान बिक्री गर्नमै भ्याइनभ्याई रहेको बताइएको छ । कुनै जागिर र वैधानिक व्यापार केही नभएकी मल्लको सम्पत्ति दिनानुदिन बढ्दै जानु र सम्बन्धित निकाय मौन रहनुमा शङ्का–उपशङ्का उत्पन्न हुनु अस्वाभाविक छैन । दरबारका विषयमा राम्रैसँग जानिफकार रहेका लोकमानसिंह कार्की अख्तियार प्रमुख भएपछि अर्बौंको राष्ट्रिय सम्पत्तिका बारेमा अनुसन्धान हुने आशामा रहेका पूर्वदरबारका कर्मचारीहरू पनि अहिले आएर निराश भएका छन् ।

व्यवसायीहरू चुनावी मैदानमा अगाडि को ?
उद्यमी तथा व्यवसायीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा निकट हुँदै गएपछि सङ्गठनको नेतृत्व लिन व्यवसायीहरूबीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ । यही चैत २८ र २९ गते काठमाडौंमा हुने ४८औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएकोले उद्यमी–व्यवसायीहरू दुई खेमामा विभाजित भएर चुनावी मैदानमा उत्रिएका छन् । ९३ जिल्ला तथा नगर, ९१ वस्तुगत, २० द्विराष्ट्रिय सङ्घ र ६ सयभन्दा बढी एसोसिएट सदस्य रहेको महासङ्घको अध्यक्ष बन्न यसपटक भाष्करराज राजकर्णिकार र प्रदीपजंग पाण्डे मैदानमा आएका छन् । भाष्करले आफ्नो समूहको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका, जिल्ला नगर उपाध्यक्षमा डीबी बस्नेत, एसोसिएट उपाध्यक्षमा शेखर गोल्छा र वस्तुगत उपाध्यक्षमा उदयराज पाण्डेलाई राखेर समावेशी टिम प्रस्तुत गरेका छन् । त्यसैगरी प्रदीपजंग पाण्डेले वरिष्ठ उपाध्यक्ष भवानी राणा, जिल्ला नगर उपाध्यक्षमा किशोर प्रधान र वस्तुगत उपाध्यक्षमा दिनेश श्रेष्ठलाई समावेश गरेको भए पनि मंगलबार (चैत ११) सम्म एसोसिएट उपाध्यक्ष उम्मेदवारको नाम तय हुन सकेको छैन । प्रदीपजंग पाण्डेलाई पूर्वअध्यक्षहरू चण्डी ढकाल र कुशकुमार जोशीको डमीका रूपमा लिइएको छ । ढकाल आफैँ पाण्डेको चुनावी प्रचारमा खटेका छन्, तर उनले पाण्डेलाई काङ्गे्रसको आधिकारिक उम्मेदवार बनाउन गरेको प्रयास भने सफल हुन सकेको छैन । भाष्करराज राजकर्णिकार स्वतन्त्र व्यवसायी मानिन्छन् र उनले सबै राजनीतिक दलको सहानुभूति आफूतिर आकर्षित गर्ने प्रयत्न गरिरहेका छन् । देशको सबैजसो क्षेत्रलाई राजनीतिले विकृत पारिसकेको भए पनि उद्योग वाणिज्य महासङ्घमा दलहरूको प्रवेश निर्णायक प्रभाव पार्ने गरी भइसकेको छैन । प्रदीपजंग पाण्डेलाई काङ्गे्रसको ‘आधिकारिक’ उम्मेदवार बनाउन चण्डी ढकालले सकेनन् भने यसपटकको चुनाव पनि अपेक्षाकृत स्वतन्त्र र निष्पक्ष हुने विश्वास गरिएको छ । व्यावसायिक क्षेत्रलाई राजनीतीकरणमुक्त गरिनुपर्ने धारणा भाष्करले आफ्नो चुनावी अभियानका क्रममा प्रकट गरिरहेका छन् । सीधा र सरल मानिने प्रदीपजंग पाण्डेले भने आफ्नो बेग्लै अभिमत जाहेर गर्न अहिलेसम्म सकेका छैनन् । चण्डी ढकालको विचार नै आफ्नो विचार भएको ठान्ने पाण्डेको स्थिति अहिलेसम्म रक्षात्मक देखिएको छ । जिल्ला नगरको करिब पचास प्रतिशत मत, एसोसिएटतर्फको करिब तीस र वस्तुगतको बीस प्रतिशत मत रहेको महासङ्घको हालसम्मको अध्यक्षहरूमध्ये सुरज वैद्य र कुशकुमार जोशी सर्वाधिक अलोकप्रिय मानिन्छन् । भाष्करराज राजकर्णिकारले भने ६५ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने अनुमान गरिएको छ ।

पाँचथरमा झुसिलकीरा आतङ्क
पार्टी सङ्गठन विस्तार गर्ने उद्देश्यले पाँचथर घुमेर राजधानी फर्किएपछि राप्रपा नेपालका सहअध्यक्ष पद्मसुन्दर लावतीले सरकारसँग गजबको माग तेस्र्याएका छन् । जिल्लाका केही भागमा झुसिलकीराको प्रकोप व्यापक बढेको भन्दै तत्काल नियन्त्रण गर्न उनले सरकारसँग माग गरेका हुन् । सङ्गठन विस्तार गर्न पुगेका लावतीसमक्ष स्थानीयले झुसिलकीराको प्रकोप नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन आग्रह गरेका थिए । झुसिलकीराबाट आजित बनेका जिल्लावासीको दुःखेसो सुनेपछि पार्टीको काम छोडेर लावती केन्द्र हानिएका बताइएको छ । पाँचथरको उत्तरी क्षेत्रमा पर्ने सिदिन, मेमेङ, एकतिन, प्राङ्बुङलगायतका गाविसमा झुसिलकीराको प्रकोप बढेपछि स्थानीय त्रसित भएका छन् ।
तीन महिनाअगाडि फाट्टफुट्ट देखापरेका झुसिलकीराले अहिले महामारीकै रूप लिएको छ । उत्तिस, गुराँस, अम्लिसोलगायतका बोटबिरुवा, घाँसपात झुसिलकीराले सखाप बनाएको छ । वनस्पतिमा मात्र नभएर यसले मानिसमा समेत असर पार्न थालेको छ । त्यस क्षेत्रका विद्यालयमा झुसिलकीराको प्रकोपकै कारण विद्यार्थीलाई कक्षाकोठाबाहिर नै पढाउन थालिएको छ । झुसिलकीराको कारण विद्यार्थी डेक्सबेञ्चमा बस्न नसक्ने भएका कारण बाहिर नै पढाउनुपर्ने बाध्यता आइपरेको छ । राति सुतेको समयमा ओच्छ्यानमै झुसिलकीरा पसेर दुःख दिन थालेपछि मानिसले राम्रोसँग निद्रासमेत पाएका छैनन् भने केहीलाई जिउ चिलाउने रोग नै सुरु भएको छ ।
यसरी बाक्लो रूपमा झुसिलकीरा देखिन थालेपछि स्थानीयवासीले नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषि विकास कार्यालयलगायतका निकायमा खबर गरे पनि हालसम्म कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ । क्रमशः अन्य गाविसमा पनि फैलिँदै गएको झुसिलकीराको प्रकोपलाई समयमै नियन्त्रण नगरिए त्यसले महामारीको रूप लिने देखिएको छ ।
– कृष्ण खनाल

संविधानसभामा ठाउँ नपाए समलिङ्गी–तेस्रोलिङ्गीले मुद्दा चर्काउने
संविधानसभामा भाग खोजिरहेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समलिङ्गी–तेस्रोलिङ्गी समुदायले अधिकारप्राप्तिको अभियान सशक्त बनाउने भएको छ । घर, परिवार, समाज र राज्यमा महिला तथा पुरुषसरह अधिकारप्राप्तिका लागि आफूहरूको अभियान अझै सशक्त बनाउने उनीहरूले बताए । मानवअधिकार अधिकृतहरूका लागि नीलहिरा समाजले दिएको एकदिने तालिममा सहभागी देशभरका समलिङ्गी–तेस्रोलिङ्गीले अधिकारप्राप्तिको अभियानमा सहयोग गर्न सबैसँग अपिल पनि गरे ।
नीलहिरा समाजको १४ वर्षको अभियानमा समलिङ्गी–तेस्रोलिङ्गीलाई ‘अन्य उल्लेख गरेर नागरिकता दिने व्यवस्था हुनु, ‘एक्स’ उल्लेख गरेर एमआरपी पासपोर्ट दिने प्रक्रिया अघि बढ्नु उपलब्धिमूलक भएको तालिममा सहभागी समलिङ्गी–तेस्रोलिङ्गीले बताए । समलिङ्गी–तेस्रोलिङ्गीका लागि कम्युनिटी सेन्टर बन्नु, इन्सेक, मानवअधिकार आयोगजस्ता संस्थाले नीलहिरा समाजसँग सहकार्य गर्न थाल्नु र कक्षा ६, ७ र ८ को पाठ्यक्रममा तेस्रोलिङ्गीसम्बन्धी विषय समेटिनुलाई पनि उनीहरूले १४ वर्षको उपलब्धिका रूपमा व्याख्या गरे । नीलहिरा समाजका देशभर ५३ वटा सहरमा शाखा कार्यालय स्थापना भएको सरकारी निकायले समलिङ्गी–तेस्रोलिङ्गीका लागि बजेट विनियोजन गर्न थालेको र नीलहिरा समाजका कार्यक्रममा अन्य समुदायको उपस्थिति बढ्दै गएकाले अधिकारप्राप्तिको अभियान अझै सशक्त बनाउने समलिङ्गी–तेस्रोलिङ्गी समुदायका मानवअधिकार अधिकृतहरूले प्रतिबद्धता जनाए ।
तालिममा नीलहिरा समाजकी मानवअधिकार विभाग प्रमुख भूमिका श्रेष्ठले संविधान लेख्ने थलो संविधानसभामा आफ्नो समुदायको प्रतिनिधित्वका लागि निरन्तर दबाब दिइरहेको बताइन् । संविधानसभामा समलिङ्गी–तेस्रोलिङ्गीकोे अनिवार्य प्रतिनिधित्व गराउन निरन्तर दबाब दिइएको उल्लेख गर्दै श्रेष्ठले दलहरूको सिफारिसमा मन्त्रिपरिषद्ले मनोनीत गर्ने २६ जनामा समलिङ्गी–तेस्रोलिङ्गीकोे अनिवार्य प्रतिनिधित्व हुनुपर्ने धारणा अघिसारिन् । उनले अहिलेसम्म आफूहरूको आन्दोलन शान्तिपूर्ण रहेको बताउँदै हामीहरू सधैँ मौन बसिरहन्छौँ भन्ने नसोच्न राजनीतिक दल र सरकारलाई चेतावनी दिइन् । स्मरण रहोस्, अघिल्लो संविधानसभामा समलिङ्गी–तेस्रोलिङ्गीको प्रतिनिधित्व सुनीलबाबु पन्तले गरेका थिए भने दोस्रो संविधानसभामा यस समुदायको प्रतिनिधित्व शून्य छ ।

सेनाबारे जानकारी लिन प्रधानमन्त्री जङ्गी अड्डामा
रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री सुशील कोइराला गत सोमबार जङ्गी अड्डा पुगेर नेपाली सेनासम्बन्धी जानकारी लिएका छन् । प्रधानसेनापति गौरवशमशेर जबराले प्रधान कार्यालयमा स्वागत गर्दै नेपाली सेनाबारे विस्तृतमा अवगत गराएका थिए । स्वागत मन्तव्यकै क्रममा प्रधानसेनापति राणाले अन्तरिम संविधान तथा सैनिक ऐन २०६३ मा उल्लेखित भूमिकामा आधारित रही नेपाली सेनाले बदलिँदो सुरक्षा वातावरणको गहन विश्लेषण गर्दै ६ वटा प्रमुख लक्ष्य किटान गरी स्पष्ट भिजनसहितको १० वर्षे दीर्घकालीन योजना तर्जुमा गरिएको जानकारी गराए ।
उक्त लक्ष्यप्राप्तिमा नेपाली सेनाको पुनर्ढांचा एक महत्वपूर्ण योजनाको रूपमा रहेको जानकारी दिँदै राष्ट्रिय सुरक्षा नीतिलगायत सुरक्षासम्बन्धी रणनीति निर्माण गर्ने कार्यलाई मुलुकको संविधानले दिशानिर्देश गर्ने र राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस तथा रक्षा मन्त्रालयको संलग्नतामा यस्ता नीतिहरू तर्जुमा गर्ने विश्वव्यापी मान्यता रहेको बताउनुभयो । त्यसैगरी, राष्ट्रिय सुरक्षा परिषद्लाई क्रियाशील बनाउन सके सरकारलाई नीति निर्माण र निर्णय प्रक्रियाको लागि आवश्यक सुझाव तथा सिफारिसहरू निरन्तर रूपमा उपलब्ध हुन सक्ने र सुरक्षा मामिलाका सरकारी सेवामै रहेका विज्ञ एवम अभ्यासकर्मीहरूको उपयोग गर्दा व्यावहारिक तथा मितव्ययी हुनुका साथै विज्ञता तथा अनुभवलाई समेत राष्ट्रले सदुपयोग गर्न सक्ने विचार पनि प्रधानसेनापति राणाले प्रधानमन्त्रीसमक्ष व्यक्त गरे ।
उनले हालै सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा सेनालाई प्राप्त जिम्मेवारी व्यावसायिक ढङ्गले सम्पन्न गरेको उल्लेख गर्दै नेपाली सेना एउटा लोकतान्त्रिक राष्ट्रिय शक्ति र लोकतन्त्रको रक्षक भएको भन्नेसमेत प्रमाणित भएको दाबी गरे । सोही क्रममा प्रधानसेनापति राणाले राज्यले शक्तिको प्रयोग गर्नुपर्ने भएमा के, कति, कहिले, कहाँ गर्ने र शक्तिको उपयोगिताको विचार गरी विद्यमान ३६० डिग्रीमा व्याप्त सुरक्षा चुनौतीको सामना गर्न सक्ने क्षमतावान, गतिशील, अनुकूल र बलियो सैनिक सङ्गठनको क्रमिक रूपमा विकास गर्दै लैजानुपर्ने कुरामा जोड दिए । नेपालमा द्वन्द्वको अन्त्यसँगै नेपाली सेनामा हतियार तथा गोलीगठ्ठाको आपूर्तिले निरन्तरता पाउनुपर्ने विचार पनि प्रधानमन्त्रीसमक्ष उनले प्रस्तुत गरे ।
जानकारी प्रदान गर्ने कार्यक्रमपश्चात् प्रधानमन्त्रीले देश र जनताको सेवामा समर्पित नेपाली सेनाको मुख्यालयमा आई जानकारी हासिल गर्न पाएकोमा खुसी व्यक्त गर्र्दै प्रधानसेनापतिलगायत सम्बन्धित सबैलाई धन्यवाद दिए । साथै उनले नेपाली सेनाले आफ्नो प्राथमिक जिम्मेवारीको अलावा आन्तरिक सुरक्षा, प्रकृति संरक्षण, प्रकोप उद्धार, अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापना कार्य एवम् राष्ट्रको विकास निर्माणमा पु-याएको योगदान प्रशंसनीय रहेको विचार पनि प्रकट गरे । जनआन्दोलनको समयमा नेपाली सेनाले प्रदर्शन गरेको परिपक्व व्यवहारले नेपाली सेना राष्ट्र र जनताको सर्वाेत्तम हितभन्दा बाहिर जाँदैन भन्ने कुरालाई प्रमाणित गरेको विचारसमेत प्रधानमन्त्री कोइरालाले व्यक्त गरे ।
कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, उपप्रधानमन्त्री तथा संसदीय मामिला र स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, अर्थमन्त्री डा. रामशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि, वन तथा भूसंरक्षणमन्त्री महेश आचार्य, सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, मुख्यसचिव लीलामणि पौडेल र निमित्त रक्षासचिव देवन्द्र सिटौलाको समेत उपस्थिति रहेको थियो ।

विद्यालय भवन उद्घाटन गर्न राजदूत राय डोटीमा
नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपाल र भारतबीच विकास साझेदारीका लागि नेपाल–भारत आर्थिक सहयोग कार्यक्रम अत्यन्त महत्वपूर्ण र प्रभावकारी रहेको विचार व्यक्त गर्नुभएको छ । यस कार्यक्रमअन्तर्गत भारतीय सहयोगमा नेपालमा जारी विभिन्न परियोजनाले शान्ति र समृद्धिको नेपाली चाहनालाई साकार तुल्याउने दिशामा अहम् भूमिका निर्वाह गरेको आफूले अनुभूति गरेको राजदूत रायले उल्लेख गर्नुभयो । गत साता डोटी यात्रामा रहनुभएका राजदूत रायले नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नवनिर्मित श्री जनता प्राथमिक विद्यालयको भवन उद्घाटनका क्रममा सो अभिव्यक्ति दिनुभएको हो । विद्यालय भवन उद्घाटन कार्यक्रममा जिल्ला विकास समिति डोटीका अधिकारीहरू, राजनीतिक दलका स्थानीय नेता–कार्यकर्ता एवम् आसपास क्षेत्रदेखि भेला भएका स्थानीय सर्वसाधारणको ठूलो उपस्थिति थियो ।
सन् १९८३ मा स्थापित जनता प्राथमिक विद्यालय सुदूरपश्चिमाञ्चल क्षेत्रमा पर्ने डोटीको घण्टेश्वर गाविस–१ स्थित गणपति गाउँमा रहेको छ । मित्रराष्ट्र भारतको करिब ७१ लाख सहयोगमा नवनिर्मित विद्यालय भवनले विद्यालयमा अध्ययनरत दुई सयभन्दा बढी छात्रछात्रा एवम् शिक्षकका निम्ति अध्ययन–अध्यापनमा थप सुविधा पुग्ने विश्वास लिइएको छ ।
डोटीका अन्य दुई विद्यालय श्री घण्टेश्वर उच्चमाध्यमिक विद्यालय (लक्ष्मीनगर) र श्री सरस्वती प्राथमिक विद्यालय (दुर्गामाण्डु)को भवन निर्माण कार्य पनि लगभग एक करोड ९० लाख भारतीय आर्थिक सहयोगमा जारी रहेको र सो जिल्लाका लागि पाँचवटा एम्बुलेन्स र एउटा स्कुल बस पनि सोही कार्यक्रमअन्तर्गत मित्रराष्ट्रले प्रदान गरिसकेको छ । यस्तै, नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नेपालका विभिन्न ठूला तथा साना चार सय ७५ परियोजनाका लागि ६५ अर्बभन्दा बढी भारतीय सहयोग उपलब्ध भइसकेको छ भने नेपालको शान्ति र विकासको चाहनालाई मद्दत गर्न भारत प्रतिबद्ध रहेको दोहो-याइएको छ ।
यसैबीच, नेपालमा रहँदै आएका भारतीय समुदायका मानिसको समस्या सुन्ने, समाधानको बाटो खोज्ने, दूतावासलाई नेपालस्थित भारतीय समुदायसँग जोड्ने तथा दूतावासको कामलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले दूतावास परिसरमै राजदूत–नागरिक संवाद कार्यक्रम सुरु गर्न लागिएको बुझिएको छ । भारतीय दूतावासको कन्सुलर विङद्वारा हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार अपराह्न ३–४ बजे गर्ने गरी तय गरिएको सो कार्यक्रम पहिलोपटक आगामी १४ गते शुक्रबार आयोजना हुँदै छ । कार्यक्रमा पूर्वनिर्धारित समयबिना नै उपस्थित भई आफ्ना विचार, गुनासा र समस्या राजदूतसँग राख्न सकिने बताइएको छ ।

‘पोयमाण्डु’मा विश्व कविता दिवसको खुसियाली
भारतीय राजदूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानद्वारा आयोजना हुँदै आएको साहित्य–सर्जक तथा श्रोताहरूको जमघट हुने कार्यक्रम ‘पोयमाण्डु’को १२औँ संस्करणमा गत साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले दूतावास र प्रतिष्ठानद्वारा सञ्चालित नेपाल र भारतबीच सांस्कृतिक आदानप्रदानको प्रवद्र्धन गर्ने विभिन्न कार्यक्रमको सराहना गर्नुभयो । सदियौँदेखि घनिष्ट छिमेकीका रूपमा रहेका भारत र नेपालले एक–अर्काबाट सिक्ने तथा सहयोग आदानप्रदान गर्ने धेरै आयाम रहेको पनि मन्त्री आचार्यले उल्लेख गर्नुभयो ।
कार्यक्रमका अर्का अतिथि नेपालका लागि भारतीय राजदूत रणजित रायले ‘पोयमाण्डु’मार्फत विश्व कविता दिवस मनाइएको सन्दर्भ उल्लेख गर्दै सोही दिन नयाँदिल्लीमा धुमधामसँग मनाइएको विश्व कविता दिवसमा करिब पचास देशका सर्जक सहभागी रहेको र कवि तुलसी दिवसले नेपालको प्रतिनिधित्व गर्नुभएको जानकारी दिनुभयो । राजदूत रायले नेपाल र भारतबीच सदियौँ पुरानो सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपालका आदिकवि भानुभक्त आचार्यले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर दुई देशबीचको सांस्कृतिक सम्बन्ध कसिलो तुल्याउन मद्दत गर्नुभएको बताउनुभयो । टेगोरदेखि देवकोटा, दीनकरदेखि सिद्धिचरण, सबै स्रष्टाहरूले दुई देशबीच साहित्यिक बन्धन कस्न महत्वपूर्ण योगदान दिएका र यो क्रम जारी रहने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा गोपाल अस्कको गजल सङ्ग्रह ‘अपनी भूलोँ के साथ अब रहने दो’, डा. रामदयाल राकेशको ‘अन्तरआत्माको ध्वनि’ र डा. गङ्गाप्रसाद अकेलाको ‘पैसा’ नामक साहित्य कृतिको मन्त्री आचार्य, राजदूत राय र प्रोफेसर अभि सुवेदीले संयुक्त तवरमा विमोचन गर्नुभयो । सो अवसरमा होनहार त्था प्रख्यात कवि–कवयित्रीहरू अभि सुवेदी, कोकोथेट, राजेन्द्र विमल, गोपाल अस्क, गोपाल ठाकुर, नवीन चित्रकार, मोविन खान, धनबहादुर ओली, कैलाशसिंह ठकुरी, सरस्वती, श्यामशेख झा, उत्पल झा, सगुन शाह, आनन्द गुरुङ, सौरभ बस्याल, उदयचन्द्र दास, तीर्थ श्रेष्ठ, हरेकृष्ण झा, आलोक तिवारी, आनन्द गुप्ता, असीम अली, ललिता दोषी, प्रतिसरा सायमी र सरोज न्यौपानेले नेपाली, अङ्ग्रेजी, हिन्दी, नेवारी, उर्दू, मैथिली, अवधिलगायतका भाषामा आ–आफ्ना काव्यरचना पाठ गरेका थिए ।

मन्त्री पराजुलीद्वारा कृषिक्रान्तिको दाबी
राजधानीमा आयोजित प्रथम राष्ट्रिय सहकारी महासम्मेलनले सहकारीलाई एउटा नयाँ दिशा दिने दाबी सरोकारवालाहरूले गरेका छन् । हिजो मंगलबारदेखि काठमाडौंमा तीनदिवसीय सहकारी महासम्मेलन सुरु भएको छ भने महासम्मेलनले सहकारी चेतनालाई स्थापित गर्ने तथा स्वच्छ सहकारीलाई अघि बढाउन सहयोग पुग्ने राष्ट्रिय सहकारी सङ्घ नेपालका अध्यक्ष केशव बडालको भनाइ छ ।
राष्ट्रपति डा. रामवरण यादवबाट उद्घाटन भएको सहकारी महासम्मेलनमा सरोकारवाला विभिन्न पक्षका अलावा विश्व सहकारी अभियानको सबैभन्दा माथिल्लो निकाय अन्तर्राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष डेम पाउलिन ग्रिन (बेलायत), थाइल्यान्डड, मलेसिया, श्रीलङ्का, भारत र चीनका सहकारीसम्बन्धी विभिन्न सङ्घ–संस्थाका प्रमुख तथा प्रतिनिधिलगायत संविधानसभाका सभासद्, विश्वविद्यालयका प्राज्ञलगायतको उपस्थिति रहेको छ ।
महासम्मेलन आयोजनाबारे जानकारी दिन आयोजित कार्यक्रममा कृषिमन्त्री हरि पराजुलीले आगामी १० वर्षभित्रै नेपालमा कृषिक्रान्ति सम्पन्न हुने दाबी गरे । मन्त्री पराजुलीले कृषिक्रान्तिका लागि आधार तयार भइसकेको र त्यसका लागि सरकारले पर्याप्त गृहकार्यको खाकासमेत तयार पारेको बताए ।
कृषि क्षेत्रमा काम गरेको आफ्नो प्रशस्त अनुभव रहेको दाबी गर्दै मन्त्री पराजुलीले कृषि क्षेत्रको आमुल परिवर्तनका लागि सरकार गृहकार्यमा जुटेको उल्लेख गरे । घरमा पालेका गाईभैंसी, बाख्रा बेचेर खाडी मुलुकमा मजदुरी गर्नुपर्ने युवाहरूको बाध्यताको अन्त्य गर्ने पनि मन्त्रीले बताए । कृषिमा देखिएको निर्वाहमुखी पद्धतिको अन्त्य गर्दै व्यावसायिक उत्पादनमा जोड दिने प्रतिबद्धता मन्त्री पराजुलीको छ । उनले आधुनिक कृषि प्रणालीको विकास गरी मुलुकलाई आत्मनिर्भरको बाटोमा लैजाने जिकिर पनि गरे ।
परम्परागत कृषिप्रणालीको अन्त्य गरी युवाहरूलाई स्वरोजगारको बाटोमा लैजान उन्नत बिउ, आधुनिक प्रविधिअनुसारको सीप र साधनको विकास गर्नुपर्ने आफूलाई अनुभूति भएको उल्लेख गर्दै खेती लगाउने समयमा किसानका लागि यो वर्ष मलको कुनै अभाव हुन नदिने प्रतिबद्धता कृषिमन्त्री पराजुलीले जनाएका छन् ।
त्यस्तै, राष्ट्रिय सहकारी सङ्घ नेपालका अध्यक्ष केशव बडालले सहकारीमार्फत कृषि क्षेत्रको विकास गर्नुपर्ने सुझाव दिँदै तराई क्षेत्रमा मात्रै गरिएको सिँचाइको व्यवस्थालाई मध्यपहाडी तथा पहाडीक्षेत्रमा समेत विस्तार गर्नुपर्ने माग गरे । अहिलेसम्म सहकारी ऐन २०४८ मात्रै रहेकोले अब छिट्टै नयाँ ढङ्गले सहकारी कानुन ल्याउनुपर्ने भन्दै बडालले सहकारीको नाममा बेइमानी गर्नेहरूलाई कडा कारबाही गर्नुपर्ने र सहकारीमैत्री संविधान बन्नुपर्नेमा जोड दिए ।

द्विदेशीय सैनिक तालिम समापन
‘एक्स सूर्य किरण–६’ नाम दिएर एकीकृत सैनिक तालिम केन्द्र, सालझन्डी, रूपन्देहीमा गत फागुन २१ देखि सञ्चालित नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यासको गतसाता समापन गरिएको छ । नेपाली सेनाका बलाधिकृत रथी पवनबहादुर पाण्डेले अन्तिम प्रवचन दिई तालिम समापन गरेका हुन् ।
उक्त अभ्यासको समापन गर्दै रथी पाण्डेले तालिममा संलग्न भारत र नेपाल दुई छिमेकी राष्ट्रका फौजहरूद्वारा तालिमको दौरान उच्चस्तरीय मनोबल, उत्साह, दृढता तथा स्वच्छ सहभागिता प्रस्तुत भएको भन्दै यस किसिमका संयुक्त अभ्यासले भविष्यमा कुनै पनि क्षेत्रीय वा अन्तर्राष्ट्रिय जगत्मा सौहार्दपूर्ण रूपमा दुवै देशका सैनिकले एकसाथ काम गर्न सक्ने वातावरण सिर्जना गर्न मद्दत पुग्ने बताए ।
सम्बोधनका क्रममा बलाधिकृत रथी पाण्डेले सैनिक सहयोग र सहकार्य विस्तार गर्न भारतीय सरकार तथा भारतीय सेनाले देखाएको उत्सुकताप्रति आभार प्रकट गर्नुभयो । उक्त केन्द्रका केन्द्रपतिलगायत तालिम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु-याउनुहुने सबै टिमलाई धन्यवाद दिनुहुँदै बलाधिकृत पाण्डेले अभ्यासमा सहभागी नेपाली तथा भारतीय सैनिकलाई अभ्यास सफलतापूर्वक सम्पन्न गर्न सफल भएकोमा धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

काठमाडौंमा फिजीको वाणिज्य दूतावास
नेपालस्थित गणतन्त्र फिजीको वाणिज्य दूतावास एक विशेष कार्यक्रमबीच राजधानी काठमाडौंमा उद्घाटन गरिएको छ । उक्त वाणिज्य दूतावासको समुद्घाटन भारत र नेपालका लागि गणतन्त्र फिजीका राजदूत योगेश जे. करणले गरेका हुन् । उद्घाटनपश्चात् उनले कार्यालयमा फिजीको झण्डोत्तोलनसमेत गरे ।
गणतन्त्र फिजी प्रशान्त टापुमा अवस्थित अत्यन्तै द्रुतगतिमा विकासोन्मुख उदीय अर्थतन्त्रसहितको देश हो । भारतका लागि गणतन्त्र फिजीको राजदूतावासले नेपालको कामसमेत रेखदेख गर्छ भने नेपालमा सो अधिराज्यको वाणिज्य दूतावास गत सोमबारबाटै सञ्चालनमा आएको हो । नेपालका लागि गणतन्त्र फिजीका अवैतनिक मानार्थ वाणिज्य दूतका रूपमा पारस शाक्य हालै नियुक्त भएका छन् ।
चारवटा प्रमुख भाग तथा १४ वटा प्रान्तमा विभाजित गणतन्त्र फिजीको हालको जनसङ्ख्या जम्मा आठ लाख ७६ हजार रहेको छ । उक्त गणतन्त्र हवाई र न्युजिल्याण्डबीचको ओसिनिया क्षेत्रमा अवस्थित रहेको र त्यसको कुल गार्हस्थ उत्पादन ४.२१८ अर्ब र प्रतिव्यक्ति आय चार हजार नौ सय अमेरिकी डलर रहेको छ । सन् १९८६ मा दौत्य सम्बन्ध स्थापना भएको नेपाल र गणतन्त्र फिजीबीच धेरै पक्षहरूमा समानता रहेको छ । नेपालजस्तै गणतन्त्र फिजी पनि बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय र बहुधार्मिक राष्ट्र हो भने फिजीमा प्रचलित प्रमुख धर्मावलम्बीहरूमा इसाई, हिन्दू र इस्लाम रहेका छन् ।
झण्डोत्तोलन समारोहमा सम्बोधन गर्ने क्रममा नवनियुक्त अवैतनिक मानार्थ वाणिज्यदूत पारस शाक्यले उपस्थित पाहुनाप्रति आभार व्यक्त गर्दै द्विपक्षीय कूटनीतिक सम्बन्ध सुदृढीकरणमा आफू दत्तचित्त रहने बताए । यस्तै, नेपालका लागि गणतन्त्र फिजीका राजदूत योगेश जे. करणले नेपाल र फिजीबीचको आपसी कूटनीतिक एवम् आर्थिक–व्यावसायिक सम्बन्धका सम्भावित पक्षहरूबारे प्रकाश पारेका थिए

महासङ्घ–परिसरमा अमेरिकी कर्नर
नेपाल उद्योग वाणिज्य महासङ्घको टेकुस्थित केन्द्रीय कार्यालय परिसरमा नयाँ ‘अमेरिकन कर्नर पुस्तकालय’ स्थापना हुने भएको छ । यससम्बन्धी सम्झौतामा अमेरिकी राजदूत पिटर डब्लू बोडी र महासङ्घका अध्यक्ष सुरज वैद्यले हस्ताक्षर गरेका छन् । कर्नर सन् २०१४ को उत्तराद्र्धमा खोलिने समझदारी भएको बुझिएको छ ।
बताइएअनुसार अमेरिकी दूतावासको सहयोगमा नेपालमा खोलिने यो सबैभन्दा ठूलो अमेरिकन कर्नर पुस्तकालय हुनेछ । दश हजारभन्दा बढी पुस्तक, अनलाइन स्रोत र उच्च ब्यान्डविथको इन्टरनेट सुविधा उपलब्ध हुने उक्त पुस्तकालयमा एकपटकमा ५० भन्दा बढी सेवाग्राही अटाउने क्षमता रहनेछ । पुस्तकालयमा उपलब्ध प्रिन्ट तथा डिजिटल सामग्री उद्यमशीलतालक्षित हुनेछन्, जसले युवा उद्यमीलाई नयाँ व्यवसाय स्थापना गर्न मद्दत पु-याउने विश्वास लिइएको छ । सङ्घका जिल्ला चेम्बर कार्यालयहरूमार्फत पनि उद्यमशीलतासम्बन्धी जानकारी नेपालभर प्रचारप्रसार गरिने र उक्त आठौँ अमेरिकन कर्नरमा दूतावासका सार्वजनिक कार्यक्रम सञ्चालनका लागि बैठक स्थलहरू पनि रहनेछन् ।
सम्झौता हस्ताक्षर गर्दै राजदूत बोडीले नयाँ अमेरिकन कर्नर खोल्नुको पछाडि नेपालको आर्थिक वृद्धिलाई सहयोग गर्ने अमेरिकी दूतावासको चासोले भूमिका खेलेको खुलासा गरे । उनले भने, ‘आफ्नै कम्पनी खोल्ने सोच राखेका वा आफ्नै व्यवसाय सञ्चालन गरिरहेका विशेषगरी युवा नेपालीका लागि हामी यस कर्नरलाई एक बहुसेवाप्रदायक स्थल बनाउन चाहन्छौँ ।’

बेल्जियममा मन्त्री महतको भव्य स्वागत
युरोपेली सङ्घको ब्रसेल्सस्थित प्रधान कार्यालयमा आयोजित एसियाली परामर्श बैठकमा सहभागी भई अर्थमन्त्री डा. रामशरण महत गत आइतबार स्वदेश फर्किनुभयो । नेपालको प्रतिनिधित्व गर्दै गत ५ गते ब्रसेल्स पुग्नुभएका मन्त्री महतले नेपालको आर्थिक विकास कार्यक्रमअन्तर्गत ग्रामीण पूर्वाधार विकासका लागि ईयूले सहयोग रकम तेब्बरले वृद्धि गरी करिब ४९ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभएको छ ।
विकास कार्यका लागि ईयूले नेपाललाई दिँदै आएको सहयोग रकममा करिब तीन गुणा बढाएर ईयूद्वारा प्रदान गर्न लागिएको डा. महतले जनाउनुभयो । उहाँका अनुसार युरोपियन इन्भेस्टमेन्ट बैंकले नेपालको हाइड्रो प्रोजेक्टका लागि एक अर्ब ४० करोड, कालीगण्डकी र मस्र्याङ्दी कोरिडोरमा ट्रान्समिसन लाइन बनाउन तथा त्रिशूलीको विद्युत् ग्रिड सुधार गर्न करिब १६ अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यसबाट नेपालको ऊर्जा, ग्रामीण पूर्वाधार विकासमा महत्वपूर्ण सहयोग पुग्ने छ । ईयूबाट प्राप्त सहयोग रकम ग्रामीण पूर्वाधारअन्तर्गत ग्रामीण सडक, कृषि, खानेपानी, सिँचाइलगायतका क्षेत्रमा खर्च गरिनुपर्ने सर्त रहेको बताइन्छ ।
यसअघि नेपाली काङ्ग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. रामशरण महत युरोप पुग्नुहुँदा उहाँकोे स्वागतमा नेपाली जनसम्पर्क समिति (बेल्जियम)ले एक परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको थियो । समितिका अध्यक्ष सुवास जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा आयोजक सङ्गठनका वरिष्ठ उपाध्यक्ष कृष्ण शाहीले स्वागत मन्तव्य दिँदै अर्थमन्त्री महत एवम् उहाँको भ्रमण दलका अन्य दुई सदस्यलाई युरोपमा स्वागत गर्न पाएकोमा हर्ष प्रकट गरेका थिए । कार्यक्रममा जनसम्पर्क समिति, बेल्जियमका संस्थापक ध्रुव पौडेल, पूर्वअध्यक्ष इन्द्र क्षेत्री, महासचिव गंगाधर गौतम, एनआरएनए बेल्जियमकी सल्लाहकार सीता सापकोटा, नेका बाह्रौँ महाधिवेशन प्रतिनिधि जानकी गुरुङ, महासमिति सदस्य बलिराम झा, व्यवसायी सङ्घका उपाध्यक्ष सीपी भट्ट, युरो नेपाल कलाकार सङ्घका अध्यक्ष पदम गुरुङ, चितवन सहायता समाजकी अध्यक्ष पार्वती अधिकारीलगायतका काङ्ग्रेस कार्यकर्ता एवम् शुभचिन्तकको बाक्लो उपस्थिति थियो ।
यस्तै, एनआरएन बेल्जियम र नेपाली व्यवसायी सङ्घ बेल्जियमद्वारा आयोजित संयुक्त स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. रामशरण महतले युरोपियन युनियनले नेपालको विकासमा ६ वर्षका लागि १२ करोड युरोबाट बढाएर यो वर्षदेखि ३६ करोड युरो विनियोजन गरेको जानकारी गराउनुभएको थियो । एनआरएनले माग गरिरहेको दोहोरो नागरिकताको प्रसङ्ग कोट्याउँदै मन्त्री महतले प्रवासी नेपाली श्रमिकबाट देशलाई प्राप्त हुने रेमिट्यान्सलाई राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत मानिसकेपछि यस्तो महत्वपूर्ण आम्दानीको स्रोतदाता नेपाली श्रमिक, व्यवसायी र विद्यार्थीलाई नेपाली राष्ट्रियताबाट अलग गर्न नमिल्ने आफ्नो पार्टी र नेपाल सरकारको प्रस्ट धारणा रहेको जिकिर गर्नुभयो ।
बेल्जियमको दोस्रो ठूलो सहर आन्त्वेर्पेनमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रमको सभापतित्व एनआरएनए बेल्जियमका अध्यक्ष प्रेम गुरुङले गर्नुभएको थियो भने महासचिव माधव सापकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । व्यवसायी सङ्घका अध्यक्ष हरि थपलिया, एनआरएनए बेल्जियमकी उपाध्यक्ष शारदा अर्याल, नेपाली राजदूतावास ब्रसेलका प्रथम सचिव कुमार खरेल, नेपालका महामहिम काउन्सुलेट रोजर, अर्थसहसचिव मधु मरासिनी, एनआरएनए युरोप कोअर्डिनेटर अर्जुनकुमार श्रेष्ठ, एनआरएनए अन्तर्राष्ट्रिय विभाग सदस्य शिवकुमार बरुवाल, प्रवासी नेपाली सङ्घका अध्यक्ष अर्जुन गुरुङ, खेलकुद सङ्घ बेल्जियमका अध्यक्ष किसन केसी, तामाङ समाजका महासचिव चिजकुमार तामाङलगायतको कार्यक्रममा उपस्थिति थियो ।
– डिल्ली अम्माई (बेल्जियम)

उद्यमी–व्यवसायीबीच अस्वस्थ प्रतिष्पर्धाको सङ्केत
नेपालका उद्योगीको छाता सङगठन उद्योग वाणिज्य महासङ्घमा चुनावी सरगर्मी बढेको छ । मुलुकभरका उद्योगी–व्यवसायीले महासङ्घको चुनावलाई प्राथमिकतामा राखी प्रचार अगाडि बढाएपछि चुनावी चहलपहल देखिएको हो । निकट भविष्यमै हुने महासङ्घको महाधिवेशनबाट नेतृत्व लिने दौडमा हालका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र द्वित्तीय उपाध्यक्ष प्रदीपजङ्ग पाण्डे आ–आफ्ना प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । दुई समूहबीचको प्रतिष्पर्धा अत्यन्त अस्वस्थकर हुने सम्भावना देखिएबाट व्यवसायीहरूमा चिन्ता छाएको बुझिएको छ ।
भाष्कर समूहबाट महासङ्घको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका अघिसरेका छन् भने सोही समूहमा जिल्ला तथा नगरबाट डिबी बस्नेत, वस्तुगत सङ्घबाट उदयराज पाण्डे, एसोसिएटबाट शेखर गोल्छाले उम्मेदवारी दिने भएका छन् । भाष्कर समूहलाई वर्तमान अध्यक्ष सुरज वैद्यको समर्थन रहेकोले उनको विजय सम्भावना प्रवल रहेको दाबी अहिले नै गरिएको छ । यति मात्र नभई विज्ञापन व्यवसायी सङ्घका अध्यक्ष राजकुमार भट्टराई, व्यवसायी ओम राजभण्डारी, अशोक शर्मालगायतले पनि भाष्कर समूहलाई नै समर्थन गर्ने भएबाट पनि यस्तो आँकलन गरिएको हो । पाण्डेलाई चाहिँ महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, प्रदीपकुमार श्रेष्ठ, कुशकुमार जोशीलगायतको साथ रहेको बुझिएको छ ।
यस्तै, पाण्डे प्यानलबाट वरिष्ठ उपाध्यक्षमा भवानी राणाको उम्मेदवारीको सम्भावना रहेको बताइएको छ । अन्य उपाध्यक्षमा वस्तुगतबाट दिनेश श्रेष्ठ र जिल्ला उद्योग वाणिज्य सङ्घबाट किशोरकुमार प्रधान प्रतिस्पर्धामा उत्रिने छन् भने एसोसिएटतर्फको उपाध्यक्षमा लक्ष्मी ग्रुपका निर्देशक अञ्जन श्रेष्ठले उम्मेदवारी दिने बताइको छ ।