स्थानीय तहको भ्रष्टाचार रोक्न अख्तियार सक्रिय

स्थानीय तहको भ्रष्टाचार रोक्न अख्तियार सक्रिय


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार र अनियमितता रोक्नका लागि सक्रिय रुपमा परिचालित भएको जनाएको छ । पछिल्लो समयमा स्थानीय तहमा भ्रष्टाचारको मात्रा बढेको, विकास निर्माणका काममा समेत अनियमितता भएको भन्ने उजुरी बढ्दै गएकाले आयोगले सक्रियता बढाएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए।

आयोगले भ्रष्टाचार र अनियमिततासम्बन्धी बढी उजुरी परेका निकायको अनुसन्धान कार्यलाई तीव्रता दिएको उल्लेख गर्दै उनले स्थानीय तहमा विकास निर्माण लगायतका कार्यमा हुने गरेका अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली परिचालित भएको बताए ।

स्थानीय तहका काम कारवाहीका विषयमा परेका उजुरीको अनुसन्धान कार्य तीव्र पारी टुङ्गोमा पुग्न र प्राप्त भएका उजुरीमाथि समेत आयोगले द्रुत रुपमा कार्य प्रारम्भ गरेको आयोगको भनाइ छ । पहाडी जिल्लामध्ये बढी उजुरी भएका कास्की र पर्वत जिल्लाका उजुरीलाई स्थलगत अनुगमन गरी अनुसन्धान तथा छानबिन गर्न स्थलगत टोली खटाइएको प्रवक्ता दङ्गालको भनाइ छ ।

आयोगबाट खटिएको टोलीले सङ्कलन गरेका तथ्य प्रमाणका आधारमा अनुसन्धान एवं छानबिन गरी शीघ्र टुङ्गोमा पुर्याउने र आगामी दिनमा पनि बढी उजुरी परेका अन्य विषयगत क्षेत्रमा समेत अनुसन्धान कार्यलाई व्यवस्थित बनाउने जनाएको छ ।

आयोगले नापी कार्यालय सर्लाहीमा कार्यरत अमीन किसुनदेव मण्डललाई रु नौ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

अंशबण्डा पत्रका लागि जग्गा कित्ताकाट गरिदिएबापत सेवाग्राहीसँग घुस रकम लिँदालिँदै आयोगको टोलीले आज नापी कार्यालयबाटै पक्राउ गरेको हो ।

यस्तै काठमाडौं महानगरपालिकाको कार्यालय, टेकुस्थित मिसिल शाखामा कार्यरत कार्यालय सहयोगी उद्धवप्रसाद गिरीलाई पाँच हजार घुस लिएको अभियोगमा आयोगले आज पक्राउ गरेको छ । सेवाग्राहीको फाइल खोज्न आनाकानी गरी विभिन्न बहानामा घुस लिएको अभियोग गिरीमाथि लागेको छ । आयोगले गिरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।