कृत्रिम गर्भाधानप्रति कृषक आकर्षित

कृत्रिम गर्भाधानप्रति कृषक आकर्षित


– जनक साउद, बैतडी

पशुपालन व्यवसायबाट आत्मनिर्भर बनाउन कृत्रिम गर्भाधान सुरु भएपछि स्थानीय किसान त्यसप्रति आकर्षित भएका छन् । बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा कृत्रिम गर्भाधान प्रयोगशाला सञ्चालनमा आएपछि स्थानीय किसान आकर्षित मात्र नभई हर्षित पनि बनेका छन् ।

व्यावसायिक पशुपालनमा लागेका किसानलाई उन्नत जातका गाईभैँसी उत्पादनमा सहयोग पु¥याउने उद्देश्यसहित प्रयोगशाला सञ्चालनमा आएलगत्तै स्थानीय किसानले त्यसको फाइदा लिन थालेका छन् । आर्थिक अभावका कारण उन्नत जातका पशुहरू खरिद गर्न र परम्परागत पशुपालन पद्धति अपनाएर व्यवसायबाट फाइदा लिन नसकेका किसानले उक्त प्रयोगशालाबाट फाइदा लिन थालेका छन् ।

डिलासैनी गाउँपालिका, कलेज र साडा नेपालले सञ्चालन गरेको आर्थिक विकासमार्फत विपद् जोखिम न्यूनीकरण परियोजनाको सहयोगमा प्रयोगशाला स्थापनापछि सहज भएको स्थानीयवासीको भनाइ छ । कृत्रिम गर्भाधान प्रयोगशाला सञ्चालनमा आएपछि कृषि तथा पशुविज्ञान कलेजमा अध्ययनरत विद्यार्थीलाई पनि सजिलो हुने भएको छ । विद्यार्थीलाई प्रयोगात्मक काम गर्नका लागि प्रयोगशालाले सहयोग पुग्ने कलेज प्रमुख परमानन्द जोशीले बताए ।

स्थानीय जातभन्दा उन्नत जातका पशुबाट बढी फाइदा लिन सकिने भएकाले व्यवसाय सञ्चालन गर्ने किसानलाई सहज भएको हो । स्थानीय पशुबाट किसानले अपेक्षा गरेअनुरूप फाइदा लिन नसकेकाले कृतिम गर्भाधान प्रयोगशाला स्थापना गरिएको बताइएको छ । दुग्ध उपक्षेत्रको विकासको लागि परियोजनाले पाँच वर्षदेखि आर्थिक विकास र विपद् जोखिम न्यूनीकरणसम्बन्धी विभिन्न क्रियाकलाप गर्दै आएको छ । स्थानीय नश्लका पशुबाट कम दूध उत्पादन, उन्नत जातका पशुको बढी मूल्य पर्ने, आहारा, गोठ सुधारको कमी तथा परम्परागत पशुपालन पद्धतिले किसानले फाइदा लिन सकेका छैनन् । पशुपालन व्यवसायको सशक्तीकरणको लागि उन्नत जातका पशु र नश्ल सुधारको पहल थालिएको हो । प्रयोगशाला स्थापनापछि पशु स्वास्थ्य शिविर, जनचेतनाका लागि घरदैलो अभियान सञ्चालन गर्दै आएको साडा नेपालका कार्यक्रम संयोजक नागेन्द्र भट्टले बताए ।

कार्यक्रम लागू भएका सातवटा समुदायमा कृत्रिम गर्भाधानबारे सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट एक सय ८० पशुपालक किसान लाभान्वित भएका छन् भने पशुपालनसँगै कृषि पेसालाई दिगो, सशक्तीकरण र व्यवस्थापन गर्न अर्गानिक खेती प्रणालीलाई जोड दिएको छ । बढ्दो रासायनिक विषादीको प्रयोग रोक्न, मानव स्वास्थ्यमा प्रत्यक्ष असरबाट बचाउन र वातावरणलाई प्रदूषणबाट जोगाउन स्थानीयस्तरमा सहज रूपमा उपलब्ध हुने वनस्पति र पशुको मूत्रबाट जैविक विषादी बनाएर प्रणालीमा सुधार ल्याउन तालिमसमेत दिइएको कार्यक्रम संयोजक भट्टले जानकारी दिए ।