तीन किलो सुनसहित टोखा रोडबाट दुई व्यक्ति पक्राउ

तीन किलो सुनसहित टोखा रोडबाट दुई व्यक्ति पक्राउ


तीन किलोग्राम सुनसहित महानगरीय प्रहरी परिसर काठमाडौंले दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले रसुवा केरुङ नाका हुँदै काठमाडौं सुन तस्करी भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा रसुवा गोसाइकुण्ड गाउँपालिकाका नरबहादुर घले र पेम्बा तामाङलाई पक्राउ गरेको हो ।

परिसरले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार गत सोमबार बेलुका बा ७३ प ३४०२ नम्बरको निलो रङ्गको पल्सल मोटरसाइकल सुन ल्याउँदै गरेको अवस्थामा टोखा रोडबाट पक्राउ गरिएको हो ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले गोप्य सूचनाका आधारमा खानतलासी गर्दा १२ टुक्रा सुन पेटीभित्र लुकाएर ल्याएको अवस्थामा बरामद गरेको जानकारी दिँदै पक्राउ परेका सुनको मालिक नभएर भरिया मात्र भएको अनुसन्धानमा खुल्न आएको बताए ।

एसएसपी लामाले दुवैजना रसुवामा घर बनाउने ठेक्कापट्टा गर्ने काम गर्ने गरेको र एक किलोग्राम सुन केरुङबाट काठमाडौ. ल्याएको रु ५० हजार पाउने गरेर सुन ओसारपसारमा संलग्न रहेको अनुसन्धानमा खुलेको उल्लेख गरे । सुनको मुख्य मालिक पत्ता लगाउन आफूहरु लागिपरेको उनको भनाई छ ।

उक्त सुनको मूल्य एक करोड ५० लाख २० हजार ६९९ रहेको र पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको परिसरले जनाएको छ । पक्राउ व्यक्तिलाई भन्सार ऐन २०६४ को दफा ५७ (१) (ङ) अनुसार एक करोडभन्दा बढी पाँच करोडसम्मको विगोमा एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।