सुर्खेतमा व्यवस्थित दाहसंस्कार स्थल निर्माणका लागि महामहोत्सव

सुर्खेतमा व्यवस्थित दाहसंस्कार स्थल निर्माणका लागि महामहोत्सव


कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्यवस्थित दाहसंस्कार स्थल निर्माणका लागि महामहोत्सव शुरु भएको छ ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले व्यवस्थित दाहसंस्कारस्थल निर्माणका लागि आयोजित महामहोत्सवको मंगलबार उद्घाटन गरे । सुर्खेतको वीरेन्द्रनगर–११ स्थित भेरी नदीेकिनार समझीघाटमा व्यवस्थित दाहसंस्कारस्थल निर्माणका लागि भेरीगंगा समझीघाट सांस्कृतिक, धार्मिक महा–महोत्सव आयोजना गरिएको हो ।

सबै धर्म, संस्कृति र संस्कार मान्ने समुदायका लागि छुट्टा–छुट्टै दाहसंस्कार स्थल बनाउन लागिएको हो । दाहसंस्कारस्थल निर्माणका लागि रकम जुटाउन यही असोज १६ गतेसम्म वीरेन्द्रनगरको खुलामञ्चमा ‘भेरीगंगा समझीघाट सांस्कृतिक धार्मिक महा–महोत्सव’ आयोजना गरिएको हो । सबै धर्मावलम्बीको सहयोग र समन्वयमा व्यवस्थित दाहसंस्कारस्थल निर्माणका लागि महामहोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समिति सुर्खेतका सयोजक छविलाल सिग्देलले जानकारी दिए । विद्युतीय शवदाह यन्त्रसहितको स्मार्ट आर्यघाट निर्माण गर्दा वनजंगलको विनाश तथा वातावरणीय प्रदूषणलाई नियन्त्रण गर्न सकिने उनको भनाइ छ । महोत्सवमा इच्छुक दाताले भूमि तथा तुलादान गर्न सक्ने मूल आयोजक समितिले जनाएको छ ।