जर्जियामा जारी ४३औँ चेस ओलम्पियाडमा नेपालका रजेन्द्रराज भण्डारीले क्यानडाका जिएम अमनहाम ब्लेटोनलाई १–० अंकले पराजित गरेका छन् । पहिलो चरणको खेलमा रजेन्द्रले जिते पनि समग्रमा नेपाली पुरुष टोली क्यानडासँग ३–१ ले पराजित भएको छ ।
नेपाली टोलीका अन्य खेलाडीहरू मदनकृष्ण कायस्थ क्यानडाका जिएम इरिक हसन, विवेक लामा जिएम राजभान प्रेतु र रूपेश जैसवाल आईएम निकोली नोरिस्यानसँग पराजित भएका थिए । दोस्रो चरणमा नेपाली पुरुष टोलीले नेदरल्यान्ड एन्टिलाइजसँग खेल्नेछ ।
यसैगरी महिलातर्फ पहिलो चरणको खेलमा नेपाली टोली लात्भियासँग ४–० ले पराजित भएको छ । नेपालकी सुशीला गुरुङ लात्भियाकी डब्लुजिएम लौरा रोमुल, सिन्दिरा जोशी डब्लुजिएम लाजे बोरजिना, सुजना लोहनी डब्लुएफएम इलिना ओटिको र नेपाल च्याम्पियन मोनालिसा खम्बु डब्लुएफएम लिन्दा कुरमिनासँग पराजित भएका थिए ।
दोस्रो चरणमा महिला टोलीले कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछ । असोज १९ गतेसम्म चल्ने चेस ओलम्पियाडमा एक सय ८५ देशका १६ सय ६८ खेलाडीले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया