– श्रीविक्रम भण्डारी
दोषी को ? तीरको निशाना सबैतिर तेर्सिएको छ । तर, मुख्य दोषीको को हो ? त्यसको पहिचान हुन सकेको छैन । आरोप र प्रत्यारोप लगाउनेको कमी छैन, स्वीकारोक्ति जनाउनेको मात्रै कमी छ । आफू तीरको निशानामा परेको सबैलाई थाहा छ, तर लुक्ने, लुकाउने दुस्साहस गरिएको छ । यथार्थ ऐनाजस्तै छर्लङ्ग छ, तर विडम्बना ! सूर्यलाई हत्केलाले छोप्ने प्रयास गरिएको छ । अहिलेसम्म १८औँ एसियाडको पोस्टमार्टम गरिएको छैन, भविष्यमा गरिन्छ वा गरिँदैन त्यसको पनि कुनै टुङ्गो छैन । यो तीतो सत्यमा कसैले आफूलाई दोषी मान्छ र माफी माग्छ भने त्यो ठूलो कुरो हो । उनले एसियाडमा करातेले पदक जित्न नसकेपछि सदस्यसचिव विष्टसँग माफी मागेका छन्, उनी हुन्– करातेका प्रशिक्षक दीपक श्रेष्ठ । माफी मागेर ‘खेल भावना’ प्रकट गरेका श्रेष्ठसँग नेपाली खेलकुद कति पानीमा छ त्यसबारे गरिएको विशेष कुराकानी :
सरकारको अदूरदर्शिता
सरकारलाई थाहा छ, नेपालले ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । नेपालले यी अफिसियल खेलहरूमा लामो समयदेखि सहभागिता जनाए पनि सरकार र सम्बन्धित निकायले सहभागितालाई नै ठूलो उपलब्धि मानेको छ । यस्तो सहभागितालाई मात्रे कहिलेसम्म उपलब्धि मान्ने हो त्यसको अत्तोपत्तो छैन । साँचो रूपमा भन्नुपर्दा खेलकुदका यी ठूला प्रतियोगितालाई नेपालले कहिल्यै प्राथमिकतामा राखेको छैन, अर्थात् महत्व दिएको छैन । जुन प्रतियोगितामा पदक जित्न दीर्घकालीन मिसनको र सोहीबमोजिमको तयारी हुनुपर्छ । यो कुरा अन्य देशले गरेको तयारीले सिकाए पनि नेपाल भने अनविज्ञ छ । झटारो हानेर खान पल्केको नेपालले भविष्यमा पनि यो कुरालाई आत्मसात् गर्ने कुरामा विश्वास गर्न सकिँदैन । र पनि, परम्परागत शैलीमा दुई–चार महिनाअघिदेखि हचुवाको भरमा तयारी गर्ने नेपालले पदकको भने ठूलो आशा गरेको हुन्छ । दक्षिण एसियालीमा यस्तो तयारीले केही पदक जित्न सकिएला, तर स्वर्ण पदकको ग्यारेन्टी गर्न सकिँदैन । एसियाड र ओलम्पिकको लागि यस्तो तयारी आफैँमा लाजमर्दो हो, यो कुरा सम्बन्धित निकायले बुझेको छ, तर किन बुझपचाइराखेको छ कराते प्रशिक्षक दीपक श्रेष्ठले प्रश्न गरे ? अनि अर्थहीन लगानी र अवैज्ञानिक तयारीको परिणाम कस्तो हुन्छ त्यो ऐनाजस्तै छर्लङ्ग छ । त्यो परिणाम हिजो पनि भोगेका थियौँ, आज पनि भोग्यौँ, भोलि पनि भोग्नेछौँ, यो नेपालको लागि सामान्य कुरा हो ।

कमजोर व्यवस्थापन
अन्य देशले एसियाडमा एउटा स्वर्ण पदक जित्न राज्यले कराडौँ लगानी गर्छ । सोहीअनुरूपको सम्भावित खेलको विकास र खेलाडीको तयारी जुट्छ । यसको लागि मिसनसँगै मापडण्ड पनि हुन्छ, जुन कुन उद्देश्य पूर्तिका लागि हो त्यसबेला प्रयोगमा ल्याइन्छ र गरिन्छ । त्यसपछि रिजल्टले आफैँ बोल्छ, व्यक्तिविशेषले बोल्नुपर्दैन । यो पाठ हामीले अन्य मुलुकबाट पढेका छौँ, सिकेका छौँ र देखेका छौँ । विडम्बना ! व्यवहारमा लागू गर्न सकेका छैनौँ । चुरो कुरा यति मात्रै हो । यस्तो अवस्थामा अन्य देशसँग हाम्रो तुलना कुनै कोणबाट पनि गर्न मिल्दैन । यदि गरिन्छ भने त्यो खेलकुदको शुभचिन्तक कदापि हुन सक्तैन । त्यसलाई म ‘अल्पज्ञान’को संज्ञा दिन्छु, जसले ‘खेलकुद’ शब्द सुनेको छ, खेलकुदभित्रको ‘खेलकुद’लाई बुझेको छैन या बुझ्ने प्रयास गरेको छैन । राजनीतिक नियुक्ति लिएर खेलकुदमा आउने पदाधिकारीको चर्चा गर्दा नियुक्ति सकिने बेलामा मात्रै उसले यस्ता ठूला प्रतियोगिताहरूको बारेमा बुझेको हुन्छ । त्यहाँ सफलता हासिल गर्न र पदक जित्न कस्तो तयारी गर्नुपर्छ बल्ल बुझेको हुन्छ । बुझेर केही गरौँ भन्ने समयमा उसको पदावधि नै सकिन्छ । त्यसपछि उसले यस्ता महत्वपूर्ण प्रतियोगिताको तयारी कसरी गर्न सक्छ ? यो उनीहरूको कमजोरी होइन, कमजोरी राज्यको हो । अहिलेको सरकार निकै शक्तिशाली छ, उसले चाहेको खण्डमा खेलकुदको कायापलट गर्न सक्छ । अझ खेलकुद मन्त्री खुद एसियाड गएर आउनुभएको छ, उहाँले त्यहाँको वस्तुस्थिति सबै बुझ्नुभएको छ, अन्तर्राष्ट्रिय प्रतियोगिता कस्तो हुन्छ र त्यहाँ पदक जित्न कस्ता तयारी गर्नुपर्छ त्यो राम्रोसँग बुझ्नुभएको छ । अबको जिम्मेवारी उहाँको काँधमा छ, उहाँले सरकारलाई सत्यतथ्यको जानकारी गराउनुपर्छ ।
सङ्घको कमजोरी
आफ्नो खेलको विकास गर्ने भनेको सङ्घले हो । दुःखको कुरा नेपालमा सङ्घका पदाधिकारी खेलको विकासभन्दा व्यक्तिगत विकासमा लागेका छन् । सङ्घमा पुगेपछि आफ्नो जिम्मेवारी के हो ? अहिलेसम्म त्यसमा खरो उत्रिन सकेका छैनन् । सम्बन्धित खेलको विकासका लागि उनीहरूसँग कुनै दूरदर्शी योजना छैन । करातेकै कुरा गरौँ, राजनीतिक हस्तक्षेपका कारण सङ्घ विवादमा छ । तर, विवादित सङ्घमा बसेपछि खेल र खेलाडीको त विकास गर्नुप¥यो नि, सङ्घ यसमा चुकेकोे छ । यदि काम गर्न सकिँदैन भने काम गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी दिनुप¥यो । बुढोगोरुले गाई ओगटेझैँ गर्नुभएन । साँचो रूपमा भन्नुपर्दा अहिलेसम्म राष्ट्रिय प्रतियोगिताको आयोजनासमेत गर्न सकेको छैन । स्रोतको लागि खालि ग्रेडिङ गरेर झारा टार्दै आएको छ । के यस्तो तरिकाले करातेको स्तरोन्नति हुन्छ ? त्यस्तै अन्तर्राष्ट्रिय मान्यता प्राप्त सङ्घले पनि आँखामा धुलो हाल्ने र भ्रमको खेती मात्रै गर्दै आएको छ । आफू सिन्कोसमेत भाँच्न नसक्ने अर्काले उत्पादन गरेका खेलाडीलाई आफ्ना खेलाडी हुन् भन्दै अन्तर्राष्ट्रियस्तरमा चाकरी गरेर आफ्नो पद बचाउँदै आएको छ । कराते सङ्घको यो विवादले गर्दा कसैले कसैलाई नटर्ने अवस्थाको सिर्जना भएको छ । परिणाम राष्ट्रिय खेलाडीलाई प्रशिक्षण गराउने प्रशिक्षकहरूको बीचमा समेत विवाद उत्पन्न भएको छ । जसको उदाहरणको रूपमा १८औँ एसियाडको क्रममा देखिएको विवादलाई लिन सकिन्छ । यो विवादको अन्तिम परिणाम के आयो त्यो सोझै देख्न सकिन्छ ।
त्यस्तै करातेका दुईवटा सङ्घ भएकै कारण सिस्टममा चल्न सकेन । त्यसको लागि करातेको एउटै सङ्घ हुन आवश्यक छ । अब अति भो, सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्ले हस्तक्षेप गरेर भए पनि एक बनाउनुपर्छ । सिस्टम नभएकै कारण करातेमा राजनीतिक हस्तक्षेप गराउने र आफ्नो पकड बनाएर व्यक्तिगत स्वार्थसिद्ध गर्ने कार्य भइरहेको छ । यो कुनै पनि खेल सङ्घका लागि शुभसङ्केत होइन । म यसलाई आपत्तिजनक कुरा हो भन्छु । तर, सबै गैँडाका छालाजस्तै भइसकेको छ, करातेको विवाद एक दशकदेखि सुल्झिन सकेको छैन । अर्को कुरा सागमा २० वटा स्वर्ण पदक जित्ने कराते अहिलेसम्म राज्यको प्राथमिकतामा पर्न सकेको छैन । यस्तै विवाद रह्यो भने १३औँ सागमा पनि कराते स्वर्ण पदकविहीन हुने अवस्थाको सिर्जना हुन सक्छ । त्यसैले अब करातेलाई कसरी बचाउने त्यो अहिले अहम् मुद्दा बनेको छ । सङ्घ, सम्बन्धित निकाय र राज्यले करातेको विकास र विस्तार लागि विशेष भूमिका निर्वाह गर्न जरुरी भएको श्रेष्ठले दाबी गरे ।
खेलाडीहरू किन विदेश पलायन हुन्छन्
खेलाडी विदेश पलायन हुनु भनेको करातेप्रतिको ‘वितृष्णा’ हो । किनकि सधैँ विवादित हुने सङ्घमा खेलाडीहरू खेल्न चाहँदैन । लामो समय भयो, करातेप्रति मानसिक रूपमै नकारात्मक धारणा बनेको छ खेलाडीहरूमा । अर्को कुरा खेलेर पनि खेलाडीको भविष्य सुनिश्चित छैन नेपालमा । खेलपछिको जीवनमा खेलाडीले के गर्ने त ? आफ्नो स्वर्णीम जीवन खेलमा बिताएकाले पुरस्कार खेलाडीहरूले पाउनुपर्छ कि पर्दैन । अहिलेसम्म राज्यले यसबारे सोच बनाएको छैन । हामीले आठौँ साफमा स्वर्ण पदक जित्दा राखेपमा जागिर पाएका थियौँ, तर अहिले त्यस्तो व्यवस्था छैन । खेलाडीलाई खेलकुदमा आकर्षित गर्ने र पलायन हुनबाट बचाउने हो भने आठौँ साफपछि १२औँ सागसम्म स्वर्ण पदक जित्ने खेलाडीलाई राखेपले जागिर दिनुपर्छ । यो कुरा खेलकुदका पदाधिकारीहरूको तजविजले नभई खेलकुदको ऐनमा नै यस्तो व्यवस्था हुनुपर्छ । यस्तो गर्न सके खेलाडीहरूमा सकारात्मक प्रभाव पर्नुको साथै खेल भावनासमेत वृद्धि हुन्छ । जसले खेलेर पनि भविष्य छ है भन्ने सकारात्मक सन्देश जान्छ ।
ओलम्पिक, एसियाड र सागमा पदक जित्न के गर्नुपर्ला ?
ठूला अफिसियल प्रतियोगितामा अर्थात् ओलम्पिक, एसियाड र सागमा पदक जित्न र सफलता हासिल गर्न व्यवस्थित र लामो समयको प्रशिक्षण चाहिन्छ । मिसन के हो ? केको लागि हामी तयारी गर्दै छौँ, त्यसको निश्चित मिति तोकिनुपर्छ र सोहीबमोजिम प्रशिक्षकलाई जिम्मेवारी दिनुपर्छ । खेलाडी राख्ने नराख्ने, कस्तो खेलाडी राख्ने सम्पूर्ण जिम्मेवारी प्रशिक्षकलाई दिनुपर्छ । यदि त्यस्तो जिम्मेवारी सम्बन्धित निकायले दिएको खण्डमा मात्र पदकको ग्यारेन्टी दिनसक्छौँ । यसमा पनि महत्वपूर्ण कुरा के छ भने त्यहाँ कुनै विवाद र हस्तक्षेप हुनुहुँदैन । साथैले खेलाडीले पाउने सुविधा र अन्तर्राष्ट्रिय एक्सपोजरको सम्पूर्ण जिम्मेवारी प्रशिक्षकलाई दिनुपर्छ । अन्यथा दुई–चार महिनाको प्रशिक्षणले विश्वस्तरको प्रशिक्षक ल्याएर खेलाडीहरूलाई प्रशिक्षण गराए पनि पदक जित्न सक्तैन, यो खेलकुदको यथार्थ हो । अन्तर्राष्ट्रियस्तरमा कुनै पनि किसिमको रिजल्ट ल्याउन त्यसको लागि दूरदर्शी भएर काम गर्नुपर्छ । अझ त्यसलाई परिणाममुखी बनाउन अन्दाज र आकलन अड्कलबाजीलाई त्याग्नुपर्छ, यसरी आएको पदकले पदक–तालिकामा नेपालको नाम देखिने भए पनि त्यसले खासै अर्थ राख्छ जस्तो मलाई लाग्दैन । अर्को कुरा झुक्किएर पदक आउनु वा खेलाडीको प्रतिद्वन्द्वी कमजोर भएर पदक जित्नुलाई वास्तविक जित मान्न सकिँदैन । यथार्थमा भन्ने हो भने शक्तिशाली देशका सशक्त खेलाडीलाई जित्न सके मात्र त्यसलाई सफलता मान्न सकिन्छ ।
दयनीय अवस्थामा कराते खेलाडी
अहिले पनि करातेका पदाधिकारीले अँध्यारोमा तीर हान्न छोडेका छैनन् । उनीहरू अँध्यारोमा हानेको तीरले पुनः कराते पुरानै लयमा फर्कने कुरामा विश्वस्त छन् । यही आस देखाएर ती पदाधिकारीहरूले करातेबाट हिजो पनि फाइदा उठाएका थिए भने अहिले पनि उठाइरहेका छन् । तर, कहिलेसम्म यो अहम् प्रश्न बनेको छ । दुर्भाग्य, वर्तमान परिप्रेक्ष्यमा यस्तो सम्भावना देखिँदैन, तर करातेका पदाधिकारीहरूले आफ्नो ‘लिँडेढिपी’ गर्न भने छाडेका छैनन् । त्यस्तै यही भ्रमको खेतीमा खेलाडीहरूले पनि आशाको दियो बाल्नचाहिँ छोडेका छैनन् । यो वीरबलको खिचडी भए पनि एकदिने पाक्ने कुरामा खेलाडीहरू विश्वस्त देखिएका छन् । जुन कराते खेलाडीहरूलाई आत्मघाती बन्दै गएको प्रशिक्षक श्रेष्ठको ठम्याइ छ ।
प्रतिक्रिया