अफगानिस्तानले भारतलाई बराबरीमा रोक्यो

अफगानिस्तानले भारतलाई बराबरीमा रोक्यो


भारत र अफगानिस्तानबीच भएको सुपर फोरको खेल टाई भएको छ । अफगानिस्तानले टस जितेर पहिलो ब्याटिङ गर्दै ५० ओभरमा २ सय ५२ रन बनाएको थियो । उक्त खेलमा अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद शहजादले १ सय २४ रनको शतकीय पारी खेलेका थिए । उनको यो उत्कृष्ट प्रदर्शनकै कारण अफगानिस्तानले भारतका सामु २ सय ५३ रनको चुनौती दिएको थियो ।

२ सय ५३ रनको चुनौती पाएको भारतले निकै राम्रो शुरुवात गरेको थियो । दुवै ओपनर अन्बाती राइडु र लोकेश राहुलले अर्धशतक प्रहार गर्दै १ सय १० रनको साझेदारी गरेका थिए । यसपछि भारतले सहजै जित्ने अनुमान गरे पनि अन्तिम खेल टाई भएको थियो । अफगानिस्तानका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई विजयबाट विमुख गरिदिएका थिए ।

धोनीको कप्तानीमा उत्रिएको युवा टिमले २ ओभरमा १३ रन बनाउन नसक्दा खेल बराबरीमा टुंगिएको थियो । पहिल्यै फाइनलमा पुगिसकेको भारतले अफगानिस्तानसँगको खेलमा आफ्ना चर्चित खेलाडीहरू रोहित शर्मा, शिखर धवन, भूवनेश्वर कुमार र जसप्रित बुमरालाई विश्राम दिएको थियो ।

आफ्नो खेलजीवनमा ५ अन्तर्राष्ट्रिय शतक बनाउन सफल भएका मोहम्मद शहजाद यो खेलका म्यान अफ दी म्याच भएको थिए । भारतलाई जित्न नसके पनि अफगानिस्तानको यो प्रदर्शन निकै उत्कृष्ट थियो । साँचो रूपमा भन्नुपर्दा यो अफगानिस्तानको जितसरह नै थियो ।