संघीयता र लोकतन्त्र खतरामा : महतो

संघीयता र लोकतन्त्र खतरामा : महतो


राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संघीयताको आडमा मुलुकलाई असफल बनाउने षड्यन्त्र भएको बताएका छन् । आज (बुधबार) राजपा पर्साले वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतोले संघीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा संघीयता तथा लोकतन्त्रविरोधीहरू लागेकाले सबै राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिए ।

उनले करवृिद्धको आडमा लोकतन्त्रविरोधीहरू संघीयतासँगै लोकतन्त्रलाई नै सिध्याउने खेलमा लागेकाले स्थानीय तथा संघीय सरकारले जनताको ढाड सेक्ने गरी करवृद्धि नगर्न र गरिएको कर वृद्धि फिर्ता लिन अपिलसमेत गरे ।

नेता महतोले संविधान संशोधनमार्फत मधेसीका मुद्दा संविधानमा समावेश गर्ने सरकारको प्रतिबद्धता अझै पूरा नभएको भन्दै अधिकार प्राप्तिका लागि राजपाले कुनै पनि बेला आन्दोलनको घोषणा गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

मुलुकमा बढ्दै गएको हत्या र बलात्कारको घटनाले आमजनताले असुरक्षाको महसुस गरेको बताउँदै नेता महतोले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई अहिलेसम्म पक्राउ नपर्नु, प्रहरी हिरासतमै नागरिकको हत्या हुनुजस्ता घटनाले जनतालाई असुरक्षित बनाएको बताए ।