को-को परे अनुसन्धानको दायरामा ?

को-को परे अनुसन्धानको दायरामा ?


कञ्चनपुरकी बालिका निर्मला बलात्कार तथा हत्या प्रकरणमा नेपाल प्रहरीले एसपी दिल्लीराज विष्टसहित १७ जनालाई निगरानीमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । कारबाही अगाडि बढाएका व्यक्तिहरूमा राजेन्द्रसिंह धामी, धर्मसिंह भाट, डिकरदेव पन्त, विसनसिंह धामी, ज्ञानबहादुर सेटी, हरसिंह धामी, सुरेन्द्रसिंह कुँवर, चाँदनी साउद, वासुदेव अवस्थी, प्रेमबल्लभ जोशी, जगदीश भट्ट, एकीन्द्रबहादुर खड्का, कृष्णसिंह विष्ट, रामसिंह धामी, धर्मेन्द्रसिंह विष्ट र लाल विष्ट रहेका छन् ।

प्राप्त जानकारीअनुसार अनुसन्धानको सिलसिलामा प्रहरी प्रधान कार्यालयले नेपाल राष्ट्र बैंक प्रधान कार्यालय बालुवाटारलाई पत्र लेखी उल्लिखित व्यक्तिहरूको विवरणसहित बैंकखाता माग गरेको छ । ०७५ असोज ४ गते बैंकिङ विवरण माग गरिएको पत्रमा भनिएको छ, ‘२०७५ साल साउन ११ गते जिल्ला कञ्चनपुर भिनपा– १८ स्थित उखुबारीमा वर्ष १३ की निर्मला पन्तलाई कर्तव्य गरी मारेको घटनाको छानबिनको सिलसिलामा निम्न बैंकमा निम्न बैंकमा निम्नानुसार खाता नम्बरहरूमा मिति २०७५ साल साउन ५ गतेदेखि हालसम्म भए–गरेका कारोबारहरूको विवरण आवश्यक परेको हुँदा यथाशीघ्र विभागमा पठाई सहयोग गरिदिनुहुन अनुरोध छ ।’

प्रहरी प्रधान कार्यालयले राष्ट्र बैंकसँग माग गरेका बैंक खाताहरूमा दिल्लीराज विष्टको जनता बैंकमा भएको खाता, राजेन्द्रसिंह धामीको प्रभु बैंक, धर्मसिंह भाटको सिद्धार्थ बैंक, डिकरदेव पन्तको ग्लोबल बैंक, विसनसिंह धामीको राष्ट्रिय वाणिज्य बैंक, ज्ञानबहादुर सेटीको राष्ट्रिय बवाणिज्य बैंक, ग्लोबल बैंक, नेपाल बैंक, एसबीआई बैंक र एभरेष्ट बैंक, हरसिंह धामी, प्रेमबल्लभ जोशी, एकेन्द्रबहादुर खड्का, कृष्णसिंह विष्ट, रामसिंह धामी, सुरेन्द्रसिंह कुँवर र चाँदनी साउदको राष्ट्रिय वाणिज्य बैंक, वासुदेव अवस्थीको राष्ट्रिय वाणिज्य बैंक र जनता बैंक, जगदीश भट्टको एनसीसी बैंक र वाणिज्य बैंक, एकीन्द्रबहादुर खड्काको सिटिजन बैंक र वाणिज्य बैंक, धर्मेन्द्रसिंह विष्टको कञ्चन बैंक र वाणिज्य बैंक तथा लाल विष्टको वाणिज्य बैंक, सानिमा बैंक र ग्लोबल बैंकका खाता रहेका छन् ।

कञ्चनपुकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरण दिन प्रतिदिन रहस्यमयी बन्दै र बनाउँदै आएको सन्दर्भमा यो पछिल्लो अनुसन्धान हो । यसअघि कञ्चनपुरकै मानसिक असन्तुलन भएका एक व्यक्ति तथा अर्का स्थानीयलाई प्रहरीले पक्राउ गरी डीएनएसम्म टेस्ट गरिसकेको छ । एक व्यक्तिलाई डीएनए नमिलेपछि छोडिएको थियो भने अर्का व्यक्तिलाई चरम यातना दिइएको थियो । पछिल्लो समयमा प्रहरी प्रधान कार्यालयले एआईजी धीरु बस्नेतलाई यो प्रकरणको अनुसन्धान गर्ने जिम्मेवारी दिएको छ । प्रहरीबाटै अनुसन्धान शुरु हुनुपर्ने व्यापक माग गरेपछि अनुसन्धानमा तत्कालीन विभिन्न जिम्मेवारीमा रहेका र घटनालाई नजिकबाट नियालेका प्रहरीसहित अन्य व्यक्तिहरूमा समेत अनुसन्धान अघि बढाइएको छ ।