भानु नगरपालिकाको बजेट ७६ करोड ६८ लाख

भानु नगरपालिकाको बजेट ७६ करोड ६८ लाख


तनहुँको भानु नगरपालिकाले चालू आर्थिक वर्ष ०७५–७६ का लागि पारित गरेको बजेट सार्वजनिक गरेको छ ।

असारमै पारित भइसक्नुपर्ने बजेट नगरसभाले असोजमा पारित गरेको हो । भदौको अन्तिम साताबाट मात्रै भानुको नगरसभा शुरु भएको थियो । नगरपालिकाका जनप्रतिनिधिको आन्तरिक विवादले बजेट सार्वजनिकमा ढिलाइ भएको हो ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले नगरसभाबाट पारित भएको रु. ७६ करोड ६७ लाख ८६ हजार ६१४ को बजेट सार्वजनिक गरे । सार्वजनिक बजेटअनुसार पुँजीगततर्फ रु. २९ करोड १२ लाख १६ हजार ६१४ र चालूतर्फ रु. २० करोड २९ लाख ७० हजार रहेको छ । सार्वजनिक बजेटमध्ये रु. २७ करोड २६ लाख ससर्त अनुदानतर्फको रहेको नगर प्रमुख गौलीले बताए ।

‘कृषि, पर्यटन, उद्योग, साहित्य एवं पूर्वाधार ः सभ्य, समुन्नत एवं समृद्ध भानु निर्माणको आधार’ भन्ने नारालाई आत्मसात् गरेर बजेट निर्माण गरिएको उनको भनाइ छ । थानीमाई, मिर्लुङकोट, कृपेश्वर महादेव मन्दिर, कोटगाउँ पर्यटन क्षेत्र, बाँसपानी होमस्टे, टुटेपानी होमस्टे, रानागाउँ होमस्टेलगायतका पर्यटन क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।