निजामती अस्पताल २७० शय्याको बन्दै

निजामती अस्पताल २७० शय्याको बन्दै


छिमेकी मुलुक चीनको सहायतामा निजामती सेवा अस्पतालको विस्तार र क्षमता वृद्धि हुने भएको छ । नेपाल सरकार र चीन सरकारबीचको सहायता कार्यक्रमअन्तर्गत निजामती अस्पतालको सेवा विस्तार, थप शय्याको व्यवस्था र अत्याधुनिक सेवासहितका नयाँ भवन र अस्पतालको क्षमता विस्तार हुनेछ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र नेपालका लागि चिनियाँ राजदूत यु होङले आज राजधानीमा आयोजित कार्यक्रममा अस्पतालको विस्तार तथा स्तरोन्नतिको औपचारिक शिलान्यास गरेका छन् ।

सो अवसरमा मन्त्री पण्डितले निजामती अस्पतालको विस्तारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने बताए । अस्पतालको विस्तार तथा स्तरोन्नतिले भविष्यमा थप गुणस्तरीय सेवा सहज रूपमा पाउने वातावरण निर्माण हुने मन्त्री पण्डितले विश्वास व्यक्त गरे ।

सो अवसरमा मन्त्री पण्डितले चीन सरकारबाट निर्मित धेरै परियोजनामध्ये निजामती अस्पताल नेपाललाई उपहारका रूपमा रहेको र यसलाई भविष्यमा ‘पोस्ट ग्रयाजुएट डिग्री’ अध्ययन–अध्यापनका लागि चिकित्सा महाविद्यालयमा विकास गर्न सकिने धारणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत होङले सिभिल अस्पताल यसको उत्कृष्ट डिजाइनका कारण २०७२ को भूकम्पपछि महत्वपूर्ण उद्धारस्थल बनेको स्मरण गरे । त्यतिबेला अस्पतालमा घाइते र बिरामीको भिड र स्वास्थ्यकर्मी व्यस्त भएर काम गरेको दृश्य आफ्नो स्मृतिमा अझै ताजा रहेको उनको भनाइ छ । ‘म त्यतिबेला यहाँको दृश्य देखेर विचलित भएकी थिएँ, हामी एउटा महान् काममा खटिएका थियौँ । चीन सरकारले यो अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गर्नुको खास कारण पनि त्यही हो,’ राजदूत होङले बताएन् ।

सिभिल अस्पताल स्थापनाको १० वर्ष नेपाल र चीनबीचको मित्रताको लिखत भएको र नेपालको लोकतान्त्रिक प्रक्रियामा साक्षी बनेको उनको भनाइ थियो । नेपालमा नयाँ सरकार गठन भएपछि दुई देशबीच उच्चस्तरीय नेतृत्व तहमा नियमित भ्रमण आदान–प्रदान भइरहेको पनि उनले सो अवसरमा बताइन् ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दीर्घराज आरसीले बताएअनुसार यो परियोजना झन्डै एक अर्ब ३० करोडको हुने र १५ महिनामा निर्माण कार्य सम्पन्न हुनेछ । नयाँ स्वरूपमा अस्पतालमा २७० शय्या रहने र शल्यक्रिया कक्ष, न्युरो सर्जरी सेवा, मुटु रोगसम्बन्धी उपचार सेवा र अन्य सुविधासम्पन्न भवन र उपकरणको व्यवस्था हुनेछ ।