महानगरीय प्रहरी परिसर खटिँदै एसपी अशोक सिंह

महानगरीय प्रहरी परिसर खटिँदै एसपी अशोक सिंह


नेपाल प्रहरीभित्रका जाँगरिला एवम् कर्तव्यनिष्ट प्रहरीअधिकृत मध्येका एक प्रहरी उपरीक्षक अशोक सिंहलाई प्रहरी प्रधानकार्यालयले महानगरीय प्रहरी परिसर टेकु (काठमाडौं)मा काज सरुवा गरेको छ । खटाइएअनुसार आज विहिबार नै एस्पी सिंह परिसरमा हाजिर हुँदैछन् ।

ललितपुरमा सफल कार्यकाल बिताएका एस्पी सिंहलाई कामको मूल्याङ्कन गरी गत निर्वाचनको समयमा कास्की प्रहरी प्रमुखका रूपमा पोखरा पठाइएको थियो । पर्यटकीय नगरी पोखरामा शान्ति–सुरक्षा कायम गर्ने, जुवातास र गुण्डागर्दी नियन्त्रण तथा भयरहित माहोलमा निर्वाचन सम्पन्न गराउने सवालमा अशोक सिंहले प्रशंसनीय कार्य गरेका थिए ।

उनले भयरहित ढङ्गले चुनाव सम्पन्न हुने वातावरण मात्र निर्माण गरेको नभई गुण्डानाइकेको रूपमा चर्चित दीपक मनाङ्गेलाई कानुनी कारवाहीको दायरामा ल्याउन समेत अहम् जिम्मेवारी निर्वाह गरे । धाक–धम्की दिँदै मतदाता तर्साएर प्रदेशसभा सदस्यमा चुनाव जिते पनि मनाङ्गेले पोखरामा उपस्थित भएर सपथ लिने हिम्मत गरेनन् । गुण्डागर्दीविरुद्ध एस्पी सिंहको सशक्त कदमकै कारण मनाङ्गे जस्ता पात्र संसद भवनमा नभई जेल जानुपर्ने अवस्था सिर्जना भएको थियो ।

यसरी प्रभावकारी काम गरेर प्रभावशाली प्रहरी अधिकृतको छवि निर्माण गरेका सिंहको क्षमताको कदर गर्दै प्रहरी प्रधान कार्यालयले उनलाई काठमाडौं प्रहरीको दोस्रो मर्यादा रहने गरी महानगरीय प्रहरी परिसर खटाएको बुझिएको छ ।

दशैँ, तिहारजस्ता महत्वपूर्ण चाडपर्वको अवसरमा लुटपाट, ठगी, गुण्डागर्दी जस्ता घटना बढ्न सक्ने भएकोले अशोक सिंहजस्ता जुझारु अधिकृतलाई खटाइएको सचेत नागरिक तप्काले अनुभूति गरेका छन् । हुन पनि अशोक सिंहको परिसर काजसरुवाको खबरसँगै हप्ताअसुली, गुण्डागर्दीलगायतका आपराधिक क्रियाकलापमा संलग्नहरू त्राहीमाम बनेको स्रोत बताउँछ ।

प्रहरी स्वयमले आचरणमा सुधार ल्याए अन्य कुरामा सुधार ल्याउन सहज हुने मान्यता राख्ने एस्पी सिंहले आफ्नो महत्वपूर्ण पोष्टिङमा अब कति प्रभावकारी कार्य गर्ने हुन्, योचाहिँ प्रतीक्षाकै सन्दर्भ बनेको छ ।