गुल्मीमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुँदै

गुल्मीमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुँदै



रमेश विक, गुल्मी

गुल्मीको सदरमुकाम तम्घासमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुनेभएको छ । नेपाल क्रिकेट एसोसिएन अफ गुल्मी को तदर्थ समितिले आयोजना गरेको उक्त प्रतियोगिता यही कार्तिक १२ गतेदेखि सञ्चालन हुने भएको छ ।

गुल्मी जिल्लामै क्लब वा टिमको रुपमा दर्ता भएका टिमहरुले मात्रै प्रतियोगितामा सहभागी हुन पाउने छन् भने प्रत्येक टिममा कम्तीमा १२ जना खेलाडी गुल्मी जिल्लाकै स्थानीय हुनुपर्ने छ । जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा गुल्मी जिल्लाका १६ वटा टिमको सहभागिता रहने छ । टिमका खेलाडीको नागरिकता वा सम्बन्धित वडाको सिफारिसका आधारमा स्थानीय पहिचान गरिने कुरा तदर्थ समितिका अध्यक्ष श्याम क्षेत्रीले बताएका छन् । क्रिकेट प्रतियोगिता तम्घासको खेलमैदान चिदीचौरमा सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. एक लाखका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ । दोश्रो हुने टिमका लागि नगद रतीस हजारका साथमा ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने छ ।

त्यस्तै, म्यान अफ द सिरीज लाई नगद दश हजार, उत्कृष्ट ब्याट्समेनलाई नगद दश हजार, उत्कृष्ट बलरलाई नगद दश हजार र उत्कृष्ट फिल्डरलाई पनि नगद दश हजार प्रदान गरिने अनौपचारिक रुपमा छलफल भइसकेको भएता पनि खेलको आधिकारिक निर्णय चाँडै नै एक कार्यक्रमकाबीच सार्वजनिक गरिने तदर्थ समितिका कोषाध्यक्ष राजु कुँवरले बताए । खेलमा सहभागी हुने टिमले दशैँअगावै टिम दर्ता गराउनुपर्ने र टिम दर्ताका लागि पाँच हजार शुल्क लाग्ने जनाइएको छ ।

जिल्लामा क्रिकेटको अन्य कुनै आधिकारिक निकाय नभएको अवस्थामा पनि २०६४ सालमा तदर्थ समितिको रुपमा गठित क्रिकेट एसोसिएन अफ गुल्मीले बेलाबखत आयोजना गर्ने विभिन्न प्रतियोगिता तथा कार्यक्रमले समग्र गुल्मी जिल्लाको क्रिकेट खेल विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

विभिन्न व्यवसायिक प्रतिष्ठानको प्रायोजन, सरकारी तथा गैरसरकारी संघ संस्थाबाट आर्थिक सहयोग जुटायर प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रतियोगितामा पाँच लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको कुँवरले बताए ।