समाचारको सन्दर्भले विप्लव गम्भीर

समाचारको सन्दर्भले विप्लव गम्भीर


काठमाडौंबाट प्रकाशित हुने एक साप्ताहिक पत्रिकामा छापिएको समाचारको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी गम्भीर बनेको बुझिएको छ । हिजो बुधबार जनआस्था साप्ताहिकमा विप्लव नेतृत्वको नेकपासँग सम्बन्धित समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरिएको थियो ।

पार्टी प्रवक्ता प्रकाण्डको डायरीको हवाला दिएर ‘विदेशतिर किन पैसा पठाए विप्लवले ?’ र ‘हतियारको नामै सुन्दा हाँसोलाग्दो’ शीर्षकमा प्रकाशित समाचार सामग्रीलाई सो पार्टीले ‘प्रमाणविनाको’ र ‘उत्तेजनात्मक’ भन्दै दुःख व्यक्त गरेको छ ।

नेकपाका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा ‘देश र जनताको मुक्तिका लागि सङ्घर्ष गरिरहेको एउटा क्रान्तिकारी पार्टीका विषयमा राज्यसंयन्त्रद्वारा प्राप्त गरिएका भनिएका सूचनाका आधारमा एउटा स्थापित र निष्पक्ष समाचार प्रकाशित गर्ने पत्रिकाले यस्ता समाचारहरूको आधिकारिकताको पहिचान र संवेदनशीलताको ख्याल नगरीकन सार्वजनिक गर्नु दुःखद् कुरा हो’ भनिएको छ ।

महासचिव विप्लवद्वारा हस्ताक्षरित विद्दप्तिमा भनिएको छ– ‘…विदेशतिर किन पैसा पठाए विप्लवले ?’ र ‘हतियारको नामै सुन्दा हाँसोलाग्दो’ शीर्षकका समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । … हामी सम्बन्धित पक्षलाई यस्ता तथ्य र प्रमाणबिनाका उत्तेजनात्मक समाचारहरू सम्प्रेषण नगर्न अनुरोध गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘२०७५ साल असोज ९ गते हाम्रो पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य प्रकाण्ड ४९ दिनको कठोर हिरासतबाट मुक्त हुनुभएको छ । केपी–पीके सरकारले देशका विभिन्न ६ वटा जिल्लामा ९ वटा विभिन्न झुट्टा मुद्दा लगाएर फसाउने काम गरिरहे पनि उहाँ सर्वोच्च अदालतको फैसलाबाट हिरासतमुक्त हुनुभएको हो । यसक्रममा प्रकाण्डलगायत रिहा हुनुभएका अन्य कमरेडहरूलाई पार्टी हार्दिक स्वागत तथा बधाई ज्ञापन गर्दछ । साथै उहाँहरूको रिहाइका लागि अहोरात्र खट्ने सबै कानुन व्यवसायी, मानवअधिकारवादी, अन्यायपूर्ण रूपमा गिरफ्तारीका विरुद्ध कलम चलाउने लेखक, पत्रकार र अन्य सम्बन्धित पक्षमा धन्यवाद ज्ञापन गर्दछौँ ।’